काठमाडौं– प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज (मंगलबार) सम्पन्न खेलमा प्रदेश १ ले सहज जित निकालेको छ। दाङको लमहीमा जारी प्रतियोगितामा बाग्मती प्रदेशलाई हराउँदै प्रदेश १ ले ४६ रनको जित निकालेको हो।
टस जितेर ब्याटिङ राजेको प्रदेश १ ले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०६ रन बनाएको थियो। १०७ रनको लक्ष्यका साथ मैदान पसेको बाग्मतीले १६.४ ओभरमै सबै विकेट सुम्पिएर ६० रनमात्र बनाएपछि जित प्रदेश १ को पोल्टामा परेको हो।
जितका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ५५ रनको अर्धशतकीय पारी खेलिन्। अप्सरी बेगमले १६ रन बनाएको खेलमा अतिरिक्त २१ रन पनि प्राप्त भयो।
यता बाग्मतीकी आरती विडारीले दुई विकेट लिँदा कृणा गुरुङ, अस्मिनी कर्माचार्य र निशा तामाङले समान १–१ विकेट लिए।
जवाफी ब्याटिङमा आएको बाग्मतीका कञ्चन श्रेष्ठ र सुमन खतिवडाले मात्र जोर अंकमा रन बनाए। उनीहरुले क्रमशः १३ र १२ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बाग्मतीलाई कमजोर तुल्याउन प्रदेश १ की निग्मा तामाङले तीन विकेट गिराइन् भने अप्सरी बेगमले दुई विकेट लिइन्। एक विकेट लिनेमा शबनम राई, एलिसा खडिया र निशा साह रहे।
समूह बीमा रहेको प्रदेश १ ले पहिलो जितसहित दुई अंक जोडेको छ। दुई अंक जोडेसँगै ऊ समूहको शीर्षस्थानमा छ। आजकै यसअघि सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई हराउँदै दुई अंक जाडेको छ।
समूह बीमा दुई खेल सम्पन्न हुँदा प्रदेश १ र सुदूरपश्चिम विजयी भएका छन् भने गण्डकी र बागमती पराजित भएका छन्।