काठमाडौं– नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह प्रधानमन्त्री केपी ओलीविरुद्ध गालीगलौजमा उत्रिएको छ।
हिजोसम्म एउटै पार्टीमा रहेका नेताहरू अहिले ओलीविरुद्ध तल्लोस्तरको गालीगलौजमा उत्रिएका हुन्।
संसद् विघटन र मध्यावधि निर्वाचनविरुद्ध मंगलबार देशव्यापी रूपमा आयोजित प्रदर्शनमा शीर्ष नेताहरूले ओलीलाई संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता विरोधी, प्रतिगमनकारी र निरंकुश मात्र भनेनन् अब ओलीको वंश विनाश हुने पनि बताए।
नेकपा अध्यक्ष दाहालले ओलीलाई संघीयताविरोधी, गणतन्त्र विरोधी, धर्म निरपेक्ष विरोधी, प्रतिगमनकारीको संज्ञा दिए।
राजधानीमा आयोजित विरोधसभामा उनले भने, ‘केपी ओलीलाई बुझ्न सकेनौं। ओलीबाट यस्तो होला भन्ने सपनामा सोचेका थिएनौं हामीले।’ ओलीले गणतन्त्र र संविधानविरुद्ध ढाँटछल र षडयन्त्र गरेको आरोप दाहालको छ।
उनले ओलीले कम्युनिस्ट आदर्श र विधिविधानमा स्खलित, मालेमावाद र समाजवादप्रति मोहभंग भएको प्रवृत्तिको प्रतिनिधिका रूपमा चित्रण गरे।
दाहालले भने, ‘ओलीले भन्ने गरेको लोकतन्त्र निरंकुशतन्त्र, तानाशाह रहेछ।’ दाहालले ओलीले इतिहासमा कलंकको टीका लगाएको बताए। उनले भने, ‘ओलीले संविधानको बलात्कार गरे। उनले म अपराधी हुँ नभनेसम्म नेपाली जनताले क्षमा दिने छैनन्।’
उनले अब आन्दोलनको आँधीबेहरी ल्याउने र त्यसले प्रतिगमनकारी ओलीलाई सजिलै बढारिदिने चेतावनी दिए।
दाहालले बैठक भन्नेबित्तिकै ओलीको सातो जाने गरेको र आलोचना सुन्नै सक्ने बताए।
अर्का अध्यक्ष माधवकुमार नेपालले अब केपी र ओलीतन्त्रको नाश हुने बताए। ओलीमा कम्युनिस्ट गुण र लोकतन्त्रवादीमा हुनुपर्ने आचरण नभएको नेपालले बताए।
उनले भने, ‘ओलीको कदम संविधानविरोधी र प्रतिगामी हो भनेर बुझिसकेका छन्। यसले अस्थिरता निम्तिने निश्चित छ। यसरी समृद्धि आउँदैन। हामी त्यत्तिकै संविधानको पक्षमा उभिएका होइनौं।’ उनले ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग तुलना गरे।
नेकपाका वरिष्ठ नेता खनालले ‘उखान टुक्काले देश नचल्ने बताए। उनले भने, ‘त्यसका लागि भिजन चाहिन्छ, योजना चाहिन्छ। तीन वर्ष खेरै गयो। मरिचमान र नगेन्द्रप्रसाद रिजालले जति पनि काम गर्न सकेनन् ओलीले।’
उनले ओलीले तीन वर्षसम्मको अवधिलाई ओलीले उखान र टुक्कामै बिताएको आरोपसमेत लगाए।
अर्का नेता भीम रावलले धनगढीमा आयोजित विरोधसभामा भने, ‘राणाले, पञ्चायतले, कांग्रेसले नगरेको काम केपीले गरे। केपी ओली भन्ने निरंकुश र जनविरोधी मान्छे कताबाट आयो हँ?’