काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको निरंकुशतन्त्र नचल्ने बताएका छन्।
धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘०४६ सालको आन्दोलनमा पञ्चायत ढल्यो, ०६२–०६३ सालको आन्दोलनले निरंकुश राजतन्त्र ढल्यो। ५ वर्षको लागि झापाबाट निर्वाचित केपी ओलीले मेरो निरंकुशतन्त्र चल्ला भनेर कसरी कल्पना गर्नुयो ? कसैको स्वेच्छाचारिताका लागि जनताले रगत बगाएका हैनन्। दुई वर्षमा संविधानमाथि बुट बजारेर निर्वाचन गर्न जनमत दिएका होइनन्।’
ओलीले जनमतको खिल्ली उडाएको आरोप रावलले लगाए। उनले भने, ‘सरकार नवउदारवादी बाटोमा गइरहेको छ। सरकारले कृषिमा विदेशीलाई निम्तो गर्ने रे। अब तपाईंहरुले गरेको माछापालन बन्द हुनेछ, गाईपालन बन्द हुनेछ, तरकारी खेती बन्द हुनेछ।’
देशभरिका जनताले मत दिएर केपी ओली प्रधानमन्त्री नभएको दाबी गर्दै उनले भने, ‘राणाले, पञ्चायतले, कांग्रेसले नगरेको काम केपीले गरे। केपी ओली भन्ने निरंकुश र जनविरोधी मान्छे कताबाट आयो हँ ?’