कुनै बेला मान्छे भएर पनि मान्छेसरहको जीवन बिताउन नपाएका सडक मानवहरू अहिले मान्छे भएर बाँच्न सिकेका छन्।
सुर्खेत। भेरी नगरपालिका जाजरकोटका बमबहादुर जोगी एक वर्षअघिसम्म मरेतुल्य थिए। भोक लाग्दा खाना र प्यास लाग्दा पानी पाउँथेनन्।
पुस–माघको जाडो होस् या वैैशाख–जेठको गर्मी, आकाशलाई सिरक र जमिनलाई ओछ्याउन बनाएर निदाउनु पर्थ्याे।
कैयौं दिन भोकभोकै बसे। मागेर सास भने बचाएका थिए।
मानव भएर पनि मानवदेखि तिरस्कृत थिए, उनी। सबैले छिःछिः र दुरदुर गर्थे।
२०७६ कात्तिक २४ मा उनले नयाँ जीवन पाएको महसुस गरे। कारण- मानव सेवा आश्रम सुर्खेतले उनको उद्धार गरेको थियो।
उद्धारपछि बमबहादुर सडकबाट छानोमुनि आए। शरीरको दुर्गन्ध हट्यो। खान र बस्नको कुनै चिन्ता भएन।
सडकमा जीवन बिताउँदा उनलाई लाग्थ्यो रे- अब म मान्छे रहिनँ। हुन पनि उनलाई गर्ने व्यवहार त्यस्तै त थियो।
नारायण नगरपालिका दैलेखका टीकाराम बुढामगरको अवस्था पनि बमबहादुरको जस्तै थियो। वर्षाैंदेखि सडकमै जीवन बिताउँथे।
आफ्नै घरपरिवार र समाज बिरानो थियो। जिउँदो भएर पनि मरे सरह थियो, जीवन।
तर, २०६६ भदौ ३ गते टीकारामले नयाँ जीवन पाए। भोक लाग्दा खाना, प्यास लाग्दा पानी र निद्रा लाग्दा सुत्ने ठाउँ पाए।
मानव सेवा आश्रमले पुनर्जन्म मात्रै दिएन, गाउँ–समाज र आफन्ती पनि भेटाइदियो।
मानसिक उपचारपछि आश्रमले परिवारसँग उनकाे पुनर्मिलन गराइदियो। हाल उनी परिवारसँग बस्दै आएका छन्।
त्यस्तै १० महिनाअघिसम्म वीरेन्द्रनगर सुर्खेतका दीपक ढकाल पनि सडकमै जीवन बिताउँथे। शरीर छोप्ने गतिलो कपडा थिएन। गाँस र बास सडकमै थियो।
दिनहुँ सहरका गल्लीमा भौँतारिन्थे। आफन्त र साथीभाइबाट उनी टाढा थिए।
२०७६ माघ ३ गते मानव सेवा आश्रमले उद्धार गरेर केही महिनाको उपचारपछि उनलाई परिवारसँग पुनर्मिलन गरायो।
उनीहरूजस्तै कर्णालीका ७७ जना नागरिकको आश्रमले उद्धार गरेको छ।
सडकमा भौँतारिएका, घरपरिवार र समाजबाट तिरस्कृत भएका नागरिकलाई आश्रमले सभ्य नागरिक भएर बाँच्न सिकाएको छ।
आश्रमले एक वर्षको अवधिमा ४४ जनालाई परिवारसँग पुनर्मिलन गराएको छ। वर्षाैंदेखि परिवारबाट छुट्टिएकाहरू घर फर्किन पाउँदा खुसी छन्।
आश्रमका पनि आफ्नै पीडा
यसरी सडक मानवको रेखदेख गर्ने आश्रमका पीडा भने आफ्नै छन्।
सडकमा भौँतारिनेहरूलाई मानव भएर बाँच्न सिकाउने आश्रम भने अरूको आशामा जीवन्त रहनु परेको छ।
दाताहरूको सहयोगबाट आश्रम सञ्चालन हुँदै आएको आश्रमकी संयोजक सिर्जना वलीले जानकारी दिइन्। उनका अनुसार विवाह, ब्रतबन्ध, जन्मदिनलगायतका कार्यबाट सहयाेग प्राप्त हुने गरेकाे छ।
आश्रममा हाल ४५ जना आश्रितहरू छन्। उनीहरूको खाना, लत्तकपडा, स्वास्थ्य उपचार र सरसफाइलगायतका आधारभूत काममा मासिक एक लाख ५० हजार रूपैयाँसम्म खर्च हुन्छ।
संयोजक वलीका अनुसार ५० जना क्षमता भएकाे भवनको मासिक ५० हजार भाडा तिर्नुपर्छ। घरभाडा तिर्न भने वीरेन्द्रनगर नगरपालिकाले सहयोग गर्दै आएको छ।
एक वर्षअघि आश्रमकै सहयोगमा कर्णालीमा प्रदेशलाई सडक मानवमुक्त प्रदेश घोषणा गरिएको थियो। त्यो बेला प्रदेश सरकारले आश्रमलाई २० लाख रूपैयाँ उपलब्ध गराएको थियो।