काठमाडौं– सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश पाएको छ। दाङको लमहीमा जारी खेलमा उसले प्रदेश २ लाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
टस जितेर ब्याटिङ रोजेको २ नम्बर प्रदेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर ७२ रन जोड्न सक्यो। ७३ रनको लक्ष्य पछ्याएको एपीएफले १३.१ ओभरमा दुई विकेट गुमाउँदै जित निकाल्न सफल भयो।
पहिलो इनिङमा प्रदेश दुईका ओपनर शोभा आले र र अनुराधा चौधरीले क्रमशः १३ र १८ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
प्रदेश २ लाई सस्तैमा रोक्नका लागि एपीएफका सिता राना मगरले दुई विकेट लिइन् भने रेखा रावल, करुणा भण्डारी, इश्वरी विष्ट र राजमती ऐरीले समान १–१ विकेट लिए।
जवाफी ब्याटिङमा आएको एपीएफकी कप्तान राना मगरले १८ रन बनाइन् भने ज्योति पाण्डेले सर्वाधिक ३० रन जोडिन्। दोस्रो पारीमा एपीएफलाई अतिरिक्त १८ रन प्राप्त भयो।
यता कर्णालीकी कविता गौतम र सरस्वती कुमारीले समान १–१ विकेट लिए। पहिलो खेलमा प्लेयअर अफ दि म्याच भएकी कप्तान सिता राना मगर आजको खेलमा पनि उत्कृष्ट खेलाडी बनिन्।
जितसँगै समूए ए को एपीएफले शीर्षस्थानको लुम्बिनी प्रदेशसँगस अंक बराबरी गरेको छ। लुम्बिनी र एपीएफ समूहको शीर्ष दुई स्थानमा रहँदै प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन्।
उनीहरुको समान ४–४ अंक छ भने प्रदेश २ र कर्णाली अंकविहिन छन्। समूह ए का अन्तिम दुई खेल भोलि (सोमबार) हुनेट। जहाँ विहानको खेलमा प्रदेश दुईले कर्णाली प्रदेशको सामना गर्नेछ भने एपीएफले लुम्बिनी प्रदेशको सामना गर्नेछ।
लुम्बिनी र एपीएफको विजेताले सेमिफाइनल खेलमा समूह बीको उपविजेतासँग खेल्नेछ भने विजेताले पराजित टिमले बीकै विजेता टिमसँग खेल्नेछन्।
सेमिफाइनल खेल पुस १७ गते हुनेछ। कर्णाली र प्रदेश दुई प्रतियोगिताबाट बाहिरिसकेका छन्।