कोभिड मुक्त भएपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता धेरै उत्पन्न हुँदा बालबालिकाले त्यसलाई थेग्न सक्दैनन्। बिस्तारै उनीहरूका विभिन्न अंगमा गम्भीर असर देखिन थाल्छ। समयमै उपचार नगरेमा मृत्युसमेत हुन सक्ने चिकित्सक बताउँछन्।
काठमाडौं– चितवनका सात वर्षीय दिप्सन (नाम परिवर्तन) लाई मंसिर १ गते लगातार बान्ता भयो। परिवारले सामान्य रूपमा लिई घरेलु उपचार गरे।
भोलिपल्टदेखि उनलाई ज्वरो आउन थाल्यो। अभिभावकले मेडिकलमा जँचाएर औषधि खुवाए तर सन्चो हुने संकेत देखिएन।
दिप्सनलाई सास फेर्न गाह्रो हुन थालेपछि चितवनकै एक अस्पताल लगियो। चिकित्सकले अक्सिजन दिएर विभिन्न परीक्षण गर्दा पनि रोग पत्ता लागेन।
त्यहाँ निको नभएपछि अभिभावकले दिप्सनलाई त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याए।
‘अस्पताल आइपुग्दा बिरामीको अवस्था गम्भीर थियो’, उपचारमा संलग्न बालरोग विशेषज्ञ डा. सिर्जना बस्नेतले भनिन्।
लक्षणका आधारमा उनलाई कोभिड वार्डमा राखेर उपचार गरियो। तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनको थप उपचार हुन थाल्यो।
डा. बस्नेत भन्छिन्, ‘बिरामी अस्पताल आइपुग्दा हृदयाघातको अवस्था थियो। मुटुको धड्कन बढी थियो। शरीरमा रक्त सञ्चालन हुन कठिन भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार प्रक्रिया अघि बढायौंं।’
रोग पहिचान गर्न निकै कठिन
मुटुमा समस्या देखिएकाले चिकित्सकले त्यसैअनुसार उपचार गरे। तर निको भएन। डेंगी, स्क्रब टाइफस, इन्फलुुएन्जा लगायतको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो। निकै प्रयास गर्दा पनि समस्या पहिचान हुन सकेन।
बालकको मुटु निकै कमजोर हुन थाल्यो। चिकित्सक कारण पत्ता थप सक्रिय भए।
यस क्रममा चिकित्सकले विश्व स्वास्थ्य संगठन र सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को सहयोग लिए।
विभिन्न जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदन र बिरामीको लक्षणका आधार दिप्सनको एन्टिबडी परीक्षण गरियो। परिणाम उनलाई मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम (एमआईएससी) भएको पत्ता लाग्यो।
के हो मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम?
कान्ति बाल अस्पतालका निर्देशक कृष्ण पौडेलका अनुसार कोभिडपछि शरीरमा एन्टिबडी उत्पन्न हुन्छ। यस्ता एन्टिबडीले सकारात्मक प्रतिक्रिया मात्रै दिँदैन। मुटु, फोक्सो, मिर्गौला, मस्तिष्क, छाला, आँखा, पेट लगायत विभिन्न अंगमा असर गर्छ। ती अंग सुन्निन्छन्।
लगातार तीन दिनभन्दा बढी ज्वरो आउनु आँखा रातो हुनु, झाडापखाला लाग्नु, मुटुको धड्कन छिटोछिटो चल्नु मल्टिसिस्टम इल्फ्लामेटोरी सिन्ड्रोमका लक्षण हुन्।
बालबालिकालाई संक्रमण हुँदा तत्काल लक्षण नदेखिए पनि संक्रमणमुक्त भइसकेपछि उत्पन्न हुने एन्टिबडीप्रति बढी चनाखो हुनुपर्ने सुझाव चिकित्सकको छ।
एक जनाको मृत्यु
मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोमका कारण कान्ति अस्पतालमा १३ वर्षीय बालकको मृत्यु भएको छ। अस्पतालका अनुसार एमआईएससीबाट सम्भवतः नेपालमा मृत्यु हुने यो पहिलो हो।
अस्पतालमा हालसम्म दुई देखि १३ वर्षका ६ बालबालिका यस्तो समस्या लिएर आएका छन्। डा. पौडेलका अनुसार ती बालक श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए।
यस्ता बिरामी अस्पतालमा आउने क्रम बढेको उनको भनाइ छ। कोरोना भाइरससँगै बालबालिकामा यो रोग देखिन सुरु गरेको हो।
६ बालबालिकाको पीसीआर नेगेटिभ तर एन्टिबडी पोजेटिभ देखिएको पौडेलले बताए। बुझ्दै जाँदा उनीहरूका अभिभावकमा पनि कोभिड पोजेटिभ भएको रहेछ। त्यति बेला बालबालिकालाई पनि कोरोना भएको थियो। तर लक्षण देखिएको थिएन।
निको भइसकेपछि शरीरमा उत्पन्न हुने रोग प्रतिरोधात्मक क्षमताले जटिलता निम्त्याएको चिकित्सक बताउँछन्। बालबालिकामा कोरोनाको कुनै लक्षण वा संक्रमण नभए पनि ‘एन्टिबडी’ बनिसकेको अवस्थामा आक्रमण गर्नेे विश्लेषण चिकित्सकको छ।
पौडेल भन्छन्, ‘बुवाआमा वा परिवारका अन्य कुनै सदस्यलाई कोरोना संक्रमण भयो। बच्चामा संक्रमण भयो। तर उनीहरूलाई त्यति बेला केही भएन। पछि बनेको एन्टिबडीले असर गर्दा यस्तो समस्या देखिएको हो।’
उनका अनुसार रोग प्रतिरोधात्मक क्षमता धेरै उत्पन्न हुँदा बालबालिकाको शरीरले सहन सक्दैन।
डा. बस्नेत बालबालिकालाई लामो समयसम्म ज्वरो आएमा, पेट दुखेमा, आँखा रातो भएमा, पखाला लागेमा तथा बान्ता भएमा तत्काल चिकित्सकसँग परामर्श गर्न सुझाव दिन्छिन्। उनले परिवारमा कोही व्यक्ति संक्रमित छ भने पनि ढुक्क भएर बस्न नहुने बताइन्।
नेपालमा अन्य बालबालिकामा पनि यस्तो समस्या हुन सक्ने चिकित्सकले आँकलन गरेका छन्। चिकित्सकले पनि यसबारे थप अध्ययन गर्नुपर्ने डा. पौडेल बताउँछन्।
अक्टोबरसम्म अमेरिकाका एक हजार २०० भन्दा बढी बालबालिकमा मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम देखिएको थियो। त्यसैगरी, भारतमा पनि केही संख्यामा यस्तो रोगको पहिचान भएको डा. बस्नेत बताउँछिन्।