काठमाडौं– प्रादेशिक लिग आगामी माघबाट सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। सातदोबाटोस्थित संघको कार्यालयमा आज (बिहीबार) एन्फा र प्रदेश प्रतिनिधिबीच सम्पन्न बैठकले प्रदेश लिग सुरु गर्ने निर्णय गरेको हो।
एन्फाले यसअघि गत मंगलबारको बैठकबाट सहिद स्मारक बी डिभिजन लिग फागुन ११ गतेबाट सुरु गर्ने र हिजो बुधबारको बैठकबाट सी डिभिजन लिग चैत ५ गतेबाट सुरु गर्ने निर्णय गरेको बताएको छ।
यससँगै अन्य फुटबल लिग र प्रतियोगिता पनि चाँडै सुरु हुने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा बताउँछन्। एन्फाले प्रदेश लिग प्रदेश २, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा गर्ने प्रस्ताव अघि बढाएको छ। एन्फाको निर्णयपछि प्रतियोगिता सञ्चालनबारे प्रदेशले एन्फामा प्रस्ताव पेश गर्ने र संघले निर्णय गर्ने एन्फाले बताएको छ।
प्रादेशिक लिगको विजेता चार टिमले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ। राष्ट्रिय लिगमा सहभागी हुने ६ टिमको भने ए डिभिजन लिगबाट टुंगो लागिसकेको छ।