बुधबार, कात्तिक १९, २०८२

लयमा फर्कन खोज्दै नेपाली फुटबल

एन्फा समिति बैठकले बुधबार फुटबललाई पुरानै लयमा फर्काउने तयारी थालेको छ। योसँगै लिग फुटबल आगामी फागुन ११ गतेदेखि सञ्चालनमा आउनेछ। 
 |  शुक्रबार, पुस १०, २०७७

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– नेपाली फुटबल क्षेत्र विभिन्न आरोहअवरोह भोग्दै अहिलेको अवस्थामा आइपुगेको छ। पछिल्लोपटक लगातार दुई सिजन ए डिभिजन लिग सम्पन्न भएपछि नेपाली फुटबलले फेरि अवरोहको अवस्था झेलिरहेको छ। कारण– महामारीले गर्दा लिगका खेल हुन सकेनन्।

Kumaribank

सन् १९५४ (वि.सं. २०११) बाट सुरु भएको ए डिभिजन लिगमा पछिल्लो वर्ष ४३ औं संस्करण सम्पन्न भयो। २३ वर्ष त ए डिभिजन लिग नै भएन। अब त्यसमा एक वर्ष जोडिने पक्का छ।

एन्फा समिति बैठकले बुधबार फुटबललाई पुरानै लयमा फर्काउने तयारी थालेको छ। योसँगै लिग फुटबल आगामी फागुन ११ गतेदेखि सञ्चालनमा आउनेछ। 

लिग सञ्चालनमा आउने भएपछि धेरै खेलाडी उत्साहित भएका छन्। अब लामो समय त्यसै बसेका खेलाडी दैनिक अभ्यासमा फर्कनेछन्। 

एन्फाले बिहीबार आउँदो मार्च १४ (चैत १) बाट सी डिभिजन लिग पनि सुरु गर्ने निर्णय भएको जनाएको छ।

Metro Mart

‘हामीले बी र सी डिभिजन खेल सुरु गर्ने निर्णय गरिसकेका छौं। अब बाँकी लिगबारे पनि छलफल गरेर निणर्य गर्नेछौं,’ अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल समयसँग भने।

यसरी एन्फा बी डिजिभन, सी डिभिजन, महिला लिग, प्रदेश र राष्ट्रिय लिग खेलाउने तयारीमा जुटेको छ। 

ग्रासरुट र जिल्लाका प्रतियोगिता सञ्चालन पनि एन्फाकै जिम्मेवारीअन्तर्गत पर्छन्। यति धेरै जिम्मेवारी पाएको एन्फालाई यति बेला बी डिभिजन गराउन सकस परेको छ। किनभने बी डिभिजनका लागि एन्फाले प्रायोजक पाएको छैन। प्रायोजक नहुँदा खेलाडी व्यवस्थापनमा खर्च जुटाउन समस्या हुने निश्चित छ।
अध्यक्ष शेर्पा भन्छन्, ‘अर्थिक लागत त बढ्ने भइहाल्यो नि। यसबारे फाइनान्स डिपार्टमेन्टसँग बसेर हामी निर्क्योल गर्नेछौं।’ 

कोभिड–१९ को स्वास्थ्य मापदण्डअनुसार टिमको तयारी गरिने उनले बताए। अध्यक्ष शेर्पाका अनुसार कोरोनाका कारण केही कठिनाइ भए पनि सबै क्लब खेल्न प्रतिबद्ध छन्। 

खेलाडीमा कोरोना संक्रमण भइहालेमा क्लबले बिमा गरिदिएको छ। बिमाले केही सहज हुने शेर्पा बताउँछन्। संक्रमित खेलाडीलाई आइसोलेसनमा राख्न एन्फाले सहकार्य गर्नेछ।

चैत १ बाट हुने सी डिभिजनका लागि भने संघले एउटा क्लबमा दुई लाख रुपैयाँ लागत थपेको छ। अब सी डिभिजन क्लबले तयारी खर्चस्वरूप एन्फाबाट नौ लाख रुपैयाँ पाउनेछन्।

यसअघि एन्फाले सात लाख रुपैयाँ दिने बताएको थियो। त्यसमा दुई लाख थपिएको हो। सी डिभिजनको तयारी गरेपछि प्रदेश लिग र महिला लिगबारे पनि निर्णय गरिने अध्यक्ष शेर्पा बताउँछन्।

बी डिभिजन लिगको अंकतालिकामा शीर्षस्थानमा रहेको सातदोबाटो क्लबका कप्तान वसन्त तामाङले एन्फाको पछिल्लो निर्णयले आफूलाई खुसी लागेको प्रतिक्रिया दिए। लिग चलिरहँदा सातदोबाटोले ६ खेलबाट १५ अंक जोडेको छ। जहाँ उसले पाँच जित र एक बराबरी खेलेको छ।

त्यस्तै प्रतिस्पर्धी खुमलटार युथ क्लबले एक खेल कम खेलेर १३ अंक जोडिसकेको छ। बाँसबारी क्लब पनि ११ अंकका साथ दुवै टिमलाई पछ्याउँदैछ।

१२ टिम सम्मिलित प्रतियोगिताको अंकतालिका हेर्दा प्रतिस्पर्धा निकै पेचिलो देखिन्छ। जसमा छैटौं चरणको खेल चलिरहँदा पनि विजेता टिमको टुंगो लागेको छैन। हेरक टिमका पाँच वा छ खेल बाँकी छन्। यसपछि विजेताको निर्क्योल हुनेछ।

प्रतियोगितामा विजेताले आठ लाख रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछ। विजेता टिम ए डिभिजन लिगमा बढुवा हुनेछ।

‘लिग प्रतिस्पर्धी भएको छ। को विनिङ वे कायम रहन्छ वा रहँदैन भनेर अहिल्यै केही भन्न सकिँदैन,’ सातदोबाटोका कप्तान तामाङ भन्छन्।

खेल नभएको निकै समय बितेको छ। यस कारण खेलको नतिजा परिवर्तन हुन सक्ने कप्तान तामाङको शंका छ। क्लबले नयाँ खेलाडी अनुबन्ध गरेमा पनि खेल नतिजा परिवर्तन हुन सक्ने उनी बताउँछन्।

तर अहिले सुरु गर्न लागिएको लिगमा पहिलेकै बाँकी अंक भएकाले क्लबले नयाँ खेलाडी राख्न नपाउने एन्फा अध्यक्ष शेर्पा बताउँछन्। 

बी र सी लिग फुटबल सुरु भए पनि ए डिभिजन खेल्ने ५८ खेलाडी भने फिफा विश्वकप र एसिया कप छनोटका लागि एन्फाको बन्द प्रशिक्षणमा छन्। छनोट खेल सकिँदा जेठ महिना बित्छ। मंसिरदेखि वैशाखसम्म मोफसलमा प्रतियोगिताका लागि उपयुक्त समय हो। तर बन्द प्रशिक्षणमा भएका खेलाडीले यो समयमा व्यावसायिक फुटबल खेल्न पाउने वा नपाउने भन्ने एन्फाले निर्णय गरेको छैन।

यस्तो अवस्थामा बन्द प्रशिक्षणका खेलाडीलाई व्यावसायिक खेलका लागि छुट दिने कि नदिने भन्ने दुविधा एन्फालाई छ।

राष्ट्रिय फुटबल टिमका संयोजकसमेत रहेका पूर्वकप्तान उपेन्द्रमान सिंह भन्छन्, ‘अहिलेसम्म के गर्ने भनेर निर्णय भइसकेको छैन। प्रतियोगिता पनि आयोजना भएका छैनन। आयोजना भएमा एन्फा र क्लब मिलेर निर्णय हुनेछ।’

मोफसलमा भएका खेल सञ्चालन हुने निर्क्योल नभए पनि सी डिभिजनको खेलको भने छिटै निर्णय गर्ने पूर्वकप्तान सिंह बताउँछन्।

ए डिभिजन खेल्ने तर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सम्मिलित नभएका खेलाडी कहिले मैदान फर्कन पाउने भन्नेबारे पनि एन्फा मौन छ।

प्रकाशित: Dec 25, 2020| 03:13 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।