काठमाडौं– मौसम चिसिएसँगै तराईमा मानिसहरु गच्छेले भ्याएसम्म लुगाफाटो बेरेर होस् या घुर तापेर न्यानो बनाइरहेका छन्। तर उखु किसान भने मंसिर अन्तिमदेखि नै काठमाडौं, माइतीघरमा कठ्याङ्ग्रिदै न्यायका लागि अपिल गरिरहेका छन्।
आफूले पसिना बगाएर उब्जाएको उखुको बक्यौता भुक्तानीका लागि सरकारसँग गुहार माग्न काठमाडौं उक्लिएका किसानको मन मौसमभन्दा अझ चिसिएको छ।
उनीहरुलाई आफैंले बगाएको पसिनाको मूल्य पाउन पनि सडकमा बसेर आन्दोलन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आइलागेको छ।
उखु रोपेर जीवनमा अलिकति मिठो मिसाउने र परिवारसँग रमाउने उनीहरुको सपना ‘खल्लो’ भएको छ। चिनी मिल मालिक र सरकार दुवैको बेवास्ताले किसानको भविष्य ‘रस निकालेर फालिएको खोस्टा’ जस्तै बनेको छ यति बेला।
सरकारका लागि किसानको श्रमको मूल्यभन्दा आफ्नो पद, पार्टी र कुर्सी बढी प्यारो बनिदिएको छ। त्यसैले सरकार किसान, गरिब मात्र होइन कोरोना महामारीको जिम्मेवारीलाई थाती राखेर बेमौसमी राजनीतिक उथलपुथलमा लागेको छ।
देशमा गरिब र किसानका लागि सरकार छ र? भन्ने संशय माइतीघरमा न्यायको याचना गरिरहेका उखु किसानको पीडाले जन्माएको छ।
०००
चिनी मिलले उखु्को भुक्तानी नदिएपछि गत मंसिर २८ गते सर्लाहीका गगनदेव राय आन्दोलनका लागि काठमाडौं उक्लिए। माइतीघरमा खुला आकाशमुनीको चिसोमा धर्ना दिन थालेको आज १२ औँ दिन नाघेको छ। तर रायले पैसा कहिले पाउने टुंगाे छैन।
गम्छा बोकेर आन्दोलनका लागि घरबाट निस्कँदै गर्दा रायलाई उखुको भुक्तानी पक्कै पाइएला भन्ने आस थियो। गत वर्षझैं यसपटक पनि रित्तै हात फर्किनु नपरोस् भनेर उनले भगवानको नाम जपेर घरबाट बाहिर पाइला राखेका थिए।
तर पैसा पाउनु त कता हो कता? घर फर्कँदासम्म घरै रहला कि नरहला भन्ने चिन्ताले पिरोल्न थालेको छ।
२८ गते काठमाडौं टेकेका रायले २९ गते आन्दोलनका क्रममा माइतीघर टेकेका मात्र के थिए, घरबाट फोन आयो। फोन उठाउनासाथ छोरीले रुँदै भनिन्, ‘बाबु बैंक घर लिलाम करब कहिक चिठी पठैने अछि’। (बुवा बैंकले घर लिलामी गर्ने भनेर चिठी पठाएको छ)।
त्यसै पनि भारी मन लिएर काठमाडौं आएका रायलाई छोरीको फोनले रिङ्गटा लागे झैँ भयो। उनी माइतीघर मण्डलाको पेटीमा थचक्क बसे।
गगनदेव रायलाई मंसिर २९ गते कृषि विकास बैंकले ऋणको भाखा नाघेको पत्र पठाएको छ। पत्रमा २१ दिनभित्र ऋण चुक्ता गर्न र उक्त अवधिमा ऋण नतिरे बैंकमा धितो राखिएको जगा लिलाम गर्ने सूचना पठाएको छ।
बैंकले चिठी पठाएको दिनदेखि उनी एकपटक पनि मुस्कुराउन सकेका छैनन्। त्यसो त आन्दोलनरत उखु किसानले मुस्कुराउन बिर्सिए झैं भान हुन्छ। किसानलाई एउटै चिन्ता छ- जतिसक्दो चाँडो उखुको भुक्तानी लिने र ऋण तिर्ने।
बैंकले २१ दिनको म्याद दिएको पनि १० दिनभन्दा बढी भइसक्यो, पसिनाको पैसा नपाए रायको घर लिलामीमा चढ्ने छ। उनले बैंकलाई ब्याजसहित १० लाख तिर्न बाँकी छ।
श्रीमती, छोराछोरी र नातिनातिना कहाँ जालान् भन्ने चिन्ताले रायको अनुहार मलीन छ। भन्छन्, ‘म पैसा नपाई घर जान्नँ तर पैसा पाउने बेलासम्म घर पो रहला कि नरहला?’
छोराछोरी बाबुले पैसा ल्याउने आसमा कुरिबसेको उनी सुनाउँछन्। ‘फेरि पनि म रित्तो हात गएर कसरी अनुहार देखाउने?’, सन्तानलाई ओत लाग्ने घर पनि सुरक्षित राख्न नसकेको भन्दै राय भक्कानिन्छन्।
रायको घरमा पत्नी, छोरा, बुहारी र चार नातिनातिना छन्। उनको घरखर्च धान्ने तथा कमाइको स्रोत खेतीपाती हो। गाउँमै सरसापट गरेर बैंकको ऋण तिर्न पनि आफूसँग क्षमता नभएको उनी बताउँछन्।
परिवारमा बिरामी सदस्यलाई छोडेर उखुको पैसा पाउने आसमा काठमाडौं हान्निएका रायको घर लिलामीका लागि बैंक तयार भएर बसेको छ। आफ्नै कमाइका लागि पनि यति धेरै सकस बेहोर्नुपरेकोमा उनी आफैंलाई धिक्कार्छन्।
गत वर्ष पनि सरकारले किसानलाई झुक्याएपछि आन्दोलित उखु किसान यसपटक सरकारसँग उधारो सम्झौता नगर्ने अडानमा छन्। उनीहरुको पैसा लिएरै जाने अडानले पैसा पाइन्छ कि भन्ने आस गगनदेवमा छ।
उनले घरमा फोन गर्न सकेका छैनन्। राय भन्छन्, ‘परिवारसँग नबोलेको दुई हप्ता हुन लाग्यो, फोन गरौं भने अझै पैसा पाएको छैन भन्ने जवाफ दिनुपर्छ। मेरो जवाफले परिवार झनै निराश हुन्छ। मैले उताबाट आएको फोन पनि उठाउन सकेको छैन।’
किसानको ९० करोड रुपैयाँ भुक्तानीका लागि उखु किसान संघर्ष समितिले संघीय राजधानी केन्द्रित आन्दोलन थालेको १२ दिन भइसकेको छ। तर चिनी मिल मालिकले किसानको पैसा भुक्तानी गर्न इच्छा देखाएका छैनन्।
‘अन्नपूर्ण सुगर मिलले किसानको खाताम पैसा हालिदिन सुरु गरेको छ भन्ने सुनेको छु,’ संघर्ष समितिका सचिव हरिश्याम राय भन्छन्, ‘अन्नपूर्ण मिलले र श्रीराम सुगर मिलले किसानको खातामा पैसा हाल्न थालेको छ तर कसको खातामा कति पैसा हाल्यो भनेर जानकारी गराएको छैन।’
किसानले आफ्नो खातामा पैसा आयो कि आएन भनेर जानकारी पाएका छैनन्। अन्नपूर्ण मिलले भने दैनिक एक करोड जम्मा गरिदिने जनाएको छ।
०००
रौतहटका हरिप्रसाद राय पनि पुस २ गते रौतहटबाट काठमाडौं आइपुगे। उनले आफ्नो खेतको सबै उखु श्रीराम सुगर मिललाई बुझाएका छन्। तर सबै रकम पाएका छैनन्।
श्रीराम सुगर मिलसँग उनको ०७१ सालदेखिको रकम बक्यौता छ। सर्लाहीका किसानले उखुको भुक्तानी माग गर्दै काठमाडौंमा आन्दोलन गरेको जानकारी पाएपछि ७५ वर्षीय राय चार हजार रुपैयाँ बोकेर पहिलोपटक काठमाडौंका लागि एक्लै निस्किएका हुन्।
रौतहटका हरिप्रसाद राय
आन्दोलनस्थल खोज्दै दिन बित्यो
बसबाट काठमाडौंमा उत्रिएपछि कता जाने, कसलाई सोध्ने हरिप्रसाद राय समस्यामा परे। फोन गर्न उनीसँग न त मोबाइल थियो, न त कसैको नम्बर।
काठमाडौं झरेको दिन उनलाई आन्दोलन भएको ठाउँ खोज्दैमा रात पर्यो। भोलिपल्ट मात्रै उनी सोध्दै सोध्दै माइतीघरको आन्दोलनमा आइपुगे।
७५ वर्षीय शरीर काठमाडौंको पुसको चिसोमा सडकमै बस्नुपर्दा बिरामी परेको छ। साथमै रहेको घरजग्गाको लालपुर्जा कता राखुँ भएको छ।
उखु रोप्दा लागेको ऋण तिर्न नसकेपछि उनले जग्गा बेचेर ऋण तिरेका छन्। जग्गा बेचेको प्रमाण बोकेर उनी आन्दोलनका लागि काठमाडौं आएका हुन्। भन्छन्, ‘एक कठ्ठा तिर्दा (बेचेर तिर्दा) पनि ऋण सकिएको छैन।
०७१ सालदेखि उनले पनि श्रीराम सुगर मिलसँग उखुको पैसा लिन बाँकी छ। चिनी मिलले प्रत्येकपटक आधा मूल्य मात्रै दिने गरेको उनी सुनाउँछन्।
सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु. ५३६ तोकेको छ तर उनले प्रतिक्विन्टल रु. ३५० का दरले पाएका छन्। बाँकी पैसाका लागि उनी आन्दोलनमा आएका हुन्।
‘उखुखेती गर्दा प्रतिक्विन्टल ४५० रुपैयाँ लागत लाग्छ तर उखु मिलले ३५० रुपैँया मात्रै दिएको छ’, खुइय्य गर्दै उनी भन्छन्, ‘अनि हामी कसरी उँभो लाग्ने?’
हरिप्रसादले हाल १० कठ्ठामा मात्रै उखु लगाएका छन्। विगतका वर्षमा ६ बिघा जमिनमा उखु लगाउँदै आएका उनले यस वर्ष बिउ जोगाउनका मात्रै उखु लगाएको सुनाए।
कुन खातामा पैसा हालियो, किसान बेखबर
अन्नपूर्ण र श्रीराम सुगर मिलले किसानको खातामा पैसा हालेको भने पनि कुन खातामा कति पैसा हालेको भन्ने जानकरी किसानलाई छैन।
मंसिर २८ गतेदेखि उखुको भुक्तानी माग गर्दै माइतीघरमा आन्दोलनरत किसान अझै कति दिन काठमाडौंको चिसोमा कठ्याङ्ग्रिनुपर्ने हो पत्तो छैन।
चिसोले बिरामी परेका केही किसानलाई आन्दोलनरत अन्यले पैसा दिलाइदिने विश्वासले घर पठाएका छन्।
गत वर्ष पनि उखु किसानले भुक्तानीका लागि यसरी नै आन्दोलन गरेका थिए। केही साता आन्दोलनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत माघभित्र पैसा चुक्ता गराउने प्रतिबद्धता गरेको थियो। प्रतिबद्धताअनुसार ०७६ माघ ७ गतेभित्र किसानको सम्पूर्ण बक्यौता रकम पाइसक्नुपर्ने हो।
विडम्बना ! सरकारले गरेको बाचा पूरा नभएपछि यस वर्ष पनि किसान आन्दोलनमा छन्। र उनीहरु उधारो सम्झौता नगर्ने पक्षमा छन्। पैसा नपाई घर नफर्कने अडानमा छन् किसान।