काठमाडौं– डिजिटल उद्यमशीलताको पर्याप्त सम्भावना रहेकोले प्रवद्र्धनका लागि पूँजी, ज्ञान र सञ्जालको पहुँचमा सरोकारवालाहरुले जोड दिएका छन्।
एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज.(सेजन) ले मंगलबार संयुक्त रुपमा आयोजना गरेको ‘नेपालमा डिजिटल उद्यमशीलताको प्रारम्भिक चरण’ विषयक भर्चुअल कार्यक्रममा सहभागीले यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका हुन्।
मोबाइल सेवामा उच्च पहुँच, घट्दो डेटा शूल्क र युवाको पर्याप्त संख्या रहेकोले नेपालमा डिजिटलमा आधारित सेवा विस्तारको लागि महत्वपूर्ण आधारसमेत रहेको बताइएको छ।
कार्यक्रममा केही व्यवसाय असफल हुन सक्ने भए पनि भविष्यमा उनीहरुले आफ्नो अनुभवका आधारमा अन्य भौगोलिक अवस्थामा स्थानीय बजारमा नेतृत्वकर्ताको रुपमा उदाउन सक्ने उल्लेख गरिएको थियो।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले उद्यमशीलता विकासमा देखिएका वास्तविक समस्याको पहिचान गरेर त्यसको समाधानमा सरकारले गम्भीर भएर लाग्ने बताए।
उद्यमशीलता विकासका लागि आर्थिक र नीतिगत सहयोग मात्र नभएर त्यसलाई प्रवद्र्धन गर्न सरकारले हौसला पनि दिनुपर्ने उनले बताए।
नेपालका लागि एडीबीका निर्देशक मुख्तोर खामुदखानोभले नेपालमा प्रविधिमा आधारित स्टार्टअप अवसर भए पनि आर्थिक र कानुनी चुनौतिलाई समाधान गरेर अनुकुल वातावरण बनाउन आवश्यक भएको बताए।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले उद्यमशीलता विकासका लागि अहिले नै नियमनभन्दा पनि लगानीकर्ता र सञ्चालकलाई सम्झौतामा खुला छोडिदिएको बताए।
उद्यमशीलताका लागि आवश्यक पूँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउने विषयमा छलफल भइरहेको उनले बताए।
नेपालमा उद्यमशीलताका लागि विदेशी पूँजी ल्याउने विषयमा केही छलफल भएपनि उद्योग विभाग र राष्ट्र बैंकको प्रक्रिया पुरा गर्नुपर्ने चुनौति रहेको उनको भनाइ छ।
कार्यक्रमको छलफल सत्रमा विलेम ग्रिमिकले नेपालमा उद्यमशीलता वृद्धिका लागि आवश्यक पूँजी लगानी गर्ने प्रवृत्ति धेरै नभएको बताए। तर संकटको समयमा प्रविधिमा आधारित व्यवसायहरु नयाँ तरिकाबाट प्रवेश गरेकोले उद्यमशीलता विस्तार हुन सक्ने अवसर रहेको उनले बताए।
वित्तीय पहुँचको अभाव नै नेपालको उद्यशमीलताका लागि सबैभन्दा ठूलो अवरोध रहेको यूजीबजारकी प्रमुख कार्यकारी अधिकृत निकिता आचार्यले बताइन्। सफल पार्टनर्सका प्रबन्ध निर्देशक आसुतोश तिवारीले उद्यमशीलताको लागि समग्र इकोसिष्टम निर्माणमै काम गर्नुपर्ने अवस्था रहेको बताए।
विजनेस अक्सिजनकी लगानी प्रबन्धक रितु प्रधान मल्लले पूँजी जुटाउने सन्दर्भमा प्रक्रियागत कठिनाइले निकै समस्या पारेको बताइन्।
कार्यक्रमा डिजिटल उद्यमशीलताको विस्तारका लागि कानुनी तथा नियमन प्रावधानहरुको आवश्यकतालाई पनि सहभागीहरुले जोड दिए।
परम्परागत रुपमा सञ्चालित साना तथा मझौला व्यवसायलाई प्रविधिमा आधारित बनाउने र नयाँ स्टार्टअपमा लगानी भित्र्याउन सक्ने आधारमा कार्यक्रम केन्द्रित थियो।