बुधबार, असोज २१, २०८३

 जनशक्ति उत्पादनमा सघाउन १८ करोडको परियोजना 

उद्योग र व्यवसायीलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा  सघाउने उद्देश्यसहित पोखरामा नयाँ परियोजना सुरु भएको छ। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

पोखरा– उद्योग र व्यवसायीलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा  सघाउने उद्देश्यसहित पोखरामा नयाँ परियोजना सुरु भएको छ। 

इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिइएको परियोजना सातै प्रदेशमा आरम्भ गर्ने योजनाअनुरुप गण्डकी प्रदेशमा मंगलबार सुरु गरिएको हो। 

परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्र लक्षित गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल तथा निर्माण व्यवसायी महासंघको संयुक्त साझेदारीमा परियोजना सञ्चालन हुने छ। 

युरोपियन युनियनले आर्थिक सहयोग गर्ने छ भने ब्रिटिस काउन्सिलअन्तर्गतको टिभेट प्राक्टिकल पार्टनरसिप परियोजनाको व्यवस्थापकीय सहयोगमा परियोजना कार्यान्वयन हुने जनाइएको छ।

पश्चिमाञ्चल होटल संघ पोखराको समन्वयमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले परियोजनाको उद्घाटन गरे। 

कार्यक्रममा पौडेलले परियोजना दक्ष र आवश्यक श्रमशक्ति उत्पादनमा सहायक हुने भन्दै सरकार र निजी क्षेत्रले समन्वय गरेर श्रमशक्ति उत्पादनमा लाग्नुपर्ने बताए। 

उद्योग व्यवसायीलाई कस्तो जनशक्ति आवश्यक पर्ने हो त्यो उनीहरुले भनिदिनुपर्ने र सरकार तथा सम्बन्धित कलेज, युनिभर्सिटी वा तालिम केन्द्रले सोअनुसार जनशक्ति उत्पादन गर्न समन्वय गर्न सके राम्रो हुने भनाइ उनले राखे।

नेपाल सरकारद्वारा स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिना रहेको र कुल बजेट १७ करोड ९० लाख ११ हजार ७३३ रुपैयाँ रहेको परियोजनाका फोकल पर्सन रविनकुमार श्रेष्ठले जानकारी दिए। 

पेसागत वर्गीकरण सम्बन्धी स्ट्यान्डर्डको विकास गर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्ने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकताअनुसार सीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिने उद्देश्य पनि छ। 

पोखरामा आयोजित कार्यक्रममा बोल्दै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले श्रमका लागि विदेशिने नेपालीलाई स्वदेशमा रोक्न र आवश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादनमा सघाउन परियोजना सफल हुने विश्वास व्यक्त गरे। संघ उक्त परियोजनाका प्रादेशिक समन्वय संस्था पनि हो।

यसैगरी होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले परियोजनालाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग हुने भन्दै सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार आफ्नो संस्थाले सधैं काम गर्ने भनाइ राखे। 
 

प्रकाशित: Dec 22, 2020| 11:46 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्