काठमाडौं– इटालियन क्लब युभेन्टसको एउटा महत्वाकांक्षा छ– यूरोपियन च्याम्पियन बन्ने। नहोस् पनि किन, युभेन्टसले च्याम्पियन्स लिग नजितेको पनि त २४ वर्ष भइसकेको छ।
युभेन्टसले अन्तिम पटक च्याम्पियन्स लिगको ट्रफी उचालेको सन् १९९६ मा हो। त्यसयता १९९७, २००३, २०१५ र २०१७ मा गरी चार पटक फाइनल पुगेको छ। चार पटकसम्म उपाधि भन्दा एक कदमले चुकेको युभेन्टसले लगानीसमेत बढाइरहेको छ।
त्यसैले त हो, वर्तमान समयमा सर्वोत्कृष्ट खेलाडी मध्येका एक क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको। सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट जब रोनाल्डो युभेन्टस पुगे, क्लबकै युवा खेलाडी पाउलो डिबालासँग जोडेर थुप्रै कुरा बाहिरिए।
पाउलो डिबाला तिनै हुन्, जसले राष्ट्रिय टोलीमा लियोनल मेस्सीसँग खेल्छन्। डिबाला र मेस्सीका अर्का स्ट्राइक पार्टनर हुन्– सर्जियो अग्युरो। यस्तोमा प्रश्न उठ्यो, के रोनाल्डो र डिबलाको जोडी युभेन्टसमा जम्छ ? किनकि डिबाला राष्ट्रिय टोलीमा मेस्सीका सहकर्मी मात्रै थिएनन्, पहिलैदेखि युभेन्टसका समर्थकको मन जितेर बसेका खेलाडी थिए।
मेस्सी र रोनाल्डोलाई फुटबलका दुई विपरीत ध्रुव मान्ने समर्थकको अनुमान थियो– रोनाल्डो र डिबालालाई फरवार्ड लाइनमा सँँगै खेलाउन प्रशिक्षक मासिमिलियानो अलेग्रीलाई फलामको च्यूरा चपाए बराबर हुनेछ।
अर्का थरीले भन्थे– फरवार्ड लाइनमा रोनाल्डो र डिबालाको स्थान फरक छ। त्यसैले दुवैलाई एकै टिममा समाहित गराउन गाह्रो पनि छैन।
रोनाल्डो भित्र्याउँदा युभेन्टसको मात्रै महत्वाकांक्षा थिएन। रोनाल्डो आफैं तीन फरक देशका तीन टोलीबाट युरोपियन च्याम्पियन बन्न चाहन्थे। जसका लागि उनलाई फरवार्डमा तालमेल गर्न सक्ने उत्कृष्ट खेलाडी आवश्यकता थियो।
त्यो बेला मारियो मेन्जुकिच उत्कृष्ट थिए। डिबालाको फर्म पनि राम्रो थियो। तर रोनाल्डोसँग उनीहरु जम्न सकेनन्। फलस्वरुप सन् २०१८–१९ को सिजनमा युभेन्टस च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा आयाक्ससँग पराजित भयो।
पहिलो सिजनमै च्याम्पियन्स लिग जितेर धमाका पिट्ने रोनाल्डोको सपना अधुरै रह्यो। रोनाल्डोको सपना अधुरो रहनमा डिबालाको हात छ त ? पक्कै छैन।
तर रोनाल्डो टुरिन गएपछिको सिजनमा युरोपमा एउटा हल्ला चल्यो। त्यो के भने डिबाला रोनाल्डोको छायामा परे।
यस्तो हल्ला चल्नुको पछाडिको कारण हो– सुरुवाती रोजाइमा खेल्न पाएको खेल संख्या। २०१८–१९ को सिजनमा रोनाल्डो ४१ खेलमा सुरुवाती रोजाइमा परे। डिबाला ३२ खेलमा मात्रै सुरुवाती रोजाइमा खेले।
अझ अर्को तथ्य के हो भने उनको प्रदर्शनमा समेत गिरावट आयो। त्यसअघिका तीन सिजनमा क्रमशः २३, १९ र २६ गोल गरेका थिए उनले। तर, रोनाल्डो आएको सिजन केवल १० गोल मात्रै गर्न सके। अर्थात् अघिल्लो सिजनको तुलनामा भन्डै एक तिहाइमात्र।
डिबाला र उनका समर्थकलाई निराश पार्ने अर्को कारण पनि थियो– रोनाल्डोको आगमनसँगै त्यसअघि डिबालालाई माया गर्ने समर्थक रोनाल्डोतर्फ मोडिनु।
एक हिसाबले भन्ने हो भने मिडिया कभरेजमा पनि डिबाला पछि परे। हुन त यो स्वभाविक पनि थियो। किनकी वर्तमान समयमा सर्वोत्कृष्ट दुई खेलाडी मध्ये एक रोनाल्डोका अघि अन्य कुनै फुटबलर स्वभाविक रुपमा छायामा पर्ने नै भयो।

यी सबै कारण हुँदाहुँदै पनि विर्सन नहुने तथ्य के हो भने डिबाला छायामा पर्ने खेलाडी होइनन्। किनकी उनीसँग खेल शैलीका कारण आफ्नो पहिचान आफैं बनाउन सक्ने खुवी छ। तर प्रशिक्षकको रोजाइ हो वा अन्य कुनै कारण, उनी छायामा परेको तथ्यलाई नकार्न सकिँदैन।
तत्कालिन प्रशिक्षक अलेग्रीले रोनाल्डो आएको अर्को सिजनमा क्लब छोडे। एलेग्री तिनै प्रशिक्षक हुन्, जसले २०१५ मा डिबालालाई र १८ मा रोनाल्डोलाई भित्र्याएका थिए।
डिबालाका लागि अब एउटा आशा थियो। त्यो के भने क्लबमा आउने नयाँ प्रशिक्षक। एलेग्रीको बहिर्गमनपछि युभेन्टसले ल्यायो चेल्सीलाई युरोपा लिग जिताएका माउरिजियो सारी।
सारीको कार्यकाल डिबालाका हकमा केही सुखद् नै रह्यो। दुवै खेलाडीलाई एकैसाथ मैदानमा उतारे। तर, समस्या सारीको खेल शैली थियो।
सारीले आफ्नो करिअरमा उपाधिमा कम र खेलशैलीमा बढी ध्यान दिए। त्यसैले त हो आफ्नो लामो प्रशिक्षण करियरमा जम्मा २ उपाधि जितेको।
उनको फिलोसोफी बल पोसेसनमा आधारित थियो। तर, रोनाल्डो र डिबाला दुवै आक्रामक फुटबलमा सुहाउने फवार्ड हुन्। सोही कारण दुवैले सारीको कार्यकालमा केही पाए, केही गुमाए।
सारीको नेतृत्व (२०१९–२० को सिजन)को अन्तिमतिर फेरि युरोपमा अर्को हल्ला चल्यो–रोनाल्डो र डिबालाको जोडी जम्न थाल्यो।
रोनाल्डो र डिबालाको जोडी त जम्यो। तर युभेन्टसलाई लिग जित्न हम्मेहम्मे भयो। इन्टर मिलान भन्दा केवल १ अंक माथि रहँदै युभेन्टसले लिग जित्यो।
लिग बाहेक युभेन्टसले न च्याम्पियन्स लिगमा जादू देखाउन सक्यो। न त कोपा इटालिया नै जित्न सक्यो। सारीको अन्डरमा डिबालाले १७ गोल गरे।
रोनाल्डोले समेत गोल संख्या २८ बाट बढाएर ३७ बनाए। तर, च्याम्पियन्स लिगमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि सारी बर्खास्तगीमा परे।

सारीको बहिर्गमनको ठिक नौ दिनपछि आन्द्रे पिर्लो क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आइपुगे। पिर्लो तिनै हुन्, जो २०११ देखि २०१५ सम्म युभेन्टसकै खेलाडी थिए। खेलाडी रहँदा उनले युभेन्टसबाट लगातार चार पटक सिरी ए को उपाधि जिते।
पिर्लो उनै हुन्, जसले दुई वर्षअघि भनेका थिए, ‘डिबाला युभेन्टसका महत्वपूर्ण खेलाडी हुन्। तर उनले आफूभित्र केही आवश्यक कुरा खोज्नुपर्छ। पहिला उनले आफ्नै लागि काम गर्नुपर्छ।’
पूर्वखेलाडीका रुपमा प्रतिक्रिया दिँदा उनले रोनाल्डोका लागि डिबाला भन्दा मेन्जुकिज उत्तम साथी भएको बताएका थिए।
डिबालाका विषयमा पहिले नै यस्तो टिप्पणी गरिसकेका पिर्लो मुख्य प्रशिक्षक बनेपछि डिबालाको मनमा निराशाको बादल पक्कै मडारिएको हुनुपर्छ। अझ उनको त्यो निराशामा कोरोना संक्रमणले समेत थप बल पुर्यायो। उनी संक्रमित बने।
चालू सिजनमा उनको प्रदर्शन सन्तोषजनक छैन। डिबालाले अहिलेसम्म १२ खेलबाट मात्र २ गोल गरेका छन्। एसिस्टको खाता उनको नाममा अहिलेसम्म खुल्न सकेको छैन।
सँगै प्रशिक्षक पिर्लोमा डिबालाप्रतिको भाव स्पष्ट पनि त छैन। रोनाल्डोले राम्रो खेलेको समयमा उनको तारिफ पिर्लो रोनाल्डो फर्ममा नदेखिएको अवस्थामा टिमको बचाउ गर्छन्।
रोनाल्डोबारे खुलेर बोल्ने फिर्लो डिबालाबारे खासै बोल्दैनन्। प्रश्न उठिहालेमा सामान्य जवाफ दिन्छन्।
शनिबार राति पार्माविरुद्धको खेलमा डिबालाले लिगमा दोस्रो पटक गोल गरे। त्यो दिन मात्र उनले डिबालाबारे उठेका केही प्रश्नको जवाफ दिए। उनले आफ्नो वचाउ गर्दै डिबाला आफ्नो योजनामा रहेको बताए।
‘उनको स्वभाव विजेताको जस्तो छ। बलियो टिमका लागि उनी सधै आवश्यक छन्। म सबै खेलाडीलाई प्रशिक्षण गराउँछु, जसमा डिबाला पनि एक हुन्।
अकस्मात् उनी साधारण चोटले सताइएका छन्,’ उनले भनेका थिए, ‘उनी खेलका लागि अनफिट छन्। खेलमा सहभागी बन्न त चाहिरहेका छन्, जसले उनलाई झन् तनाव दिन सक्नेछ। आशा छ उनलाई मंगलबारको खेलमा देख्न पाइनेछ।’
कमजोर प्रदर्शनका बाबजुद पिर्लोले डिबालालाई दुईपटक कप्तानको आर्मब्यान्ड लगाइदिएका छन्। त्यसको कारण के भने डिबालाको मनोबल उच्च बनोस्। किनभने उनले क्लबमा अपनत्व महसुस गर्न सकेका छैनन्। उनी जारी सिजनका सात खेलमा मात्र सुरुवाती रोजाइमा परेका छन्।
कमजोर प्रदर्शन र प्रशिक्षकले कम मौका दिँदा युभेन्टसमा डिबालाको भविष्यलाई लिएर हल्ला आइरहेका छन्। तर, डिबाला त्यस्ता हल्लालाई ठाडै नकार्छन्।
‘अफवाह फैलिरहन्छन्। मेरो सम्झौताका विषयमा अफवाह बाहिरिएका छन्,’ शनिबार पार्माविरुद्ध ४–० को जित निकालेपछि डिबालाले भनेका थिए, ‘मेरो एजेन्ट टुरिनमै बस्छन् तर क्लबले उनलाई कहिल्यै बोलाउँदैन र मलाई आर्थिक लगानीको कुरा गर्न मन पर्दैन। यस्तो बेलामा सत्य बोल्नुपर्छ। क्लबका समर्थक मेरोविरुद्ध लाग्न सक्छन्, तर हामी सबै युभेन्टसलाई माया गर्छौं।’
हालसम्म उनले युभेन्टसबाट २४० खेल खेलेका छन् र ९७ गोल गरेका छन्। रोनाल्डोले १०२ खेल खेलमा ८१ गोल गरिसकेका छन्।
त्यसैले एउटा विजेता टिमको फरवार्डका लागि डिबालाको रेकर्ड कम मान्न सकिन्छ। त्यसैले त जनवरी ट्रान्सफर विन्डोको मुखमै हल्ला सुरू भएको छ– युभेन्टसमा डिबालाको भविष्य सुरक्षित छैन।
मिडिया रिपोर्टहरूलाई मान्ने हो भने उनी इंग्लिस क्लबहरुसँग जोडिएका छन्। त्यो मध्ये पनि उनी म्यानचेस्टर युनाइटेसँग बढी जोडिएका छन् र हल्ला चलिरहेको छ– युभेन्टस र युनाइटेड डिबाला र पाउल पोग्बा साटफेर गर्ने प्रयासमा छन्।
यस्तोमा सन् २०२२ को समरसम्म युभेन्टससँग सम्झौता गरेका डिबालाको भविष्य के होला ? यो प्रश्नको उत्तर जनवरीमा नभए नयाँ सिजनको सुरुवातसँगै थाहा होला। तर, यो चाहिँ पक्का हो कि युभेन्टसमा पिर्लो, रोनाल्डो र डिबालाको केमेस्ट्री जम्न सकिरहेको छैन।
–एजेन्सीहरुको सहयोगमा