विकसित देशका नागरिकले कोरोना महामारी विरुद्धको खोप लगाउन थालिसके। हाम्रो देशमा कहिले खोप आउला वा कुन खोप ल्याउने निर्क्याेल छैन। खोप ल्याएपछि पनि भण्डारण क्षमता र तालिम प्राप्त जनशक्ति पर्याप्त छैन। यस्तो अवस्थामा सबै नागरिकमा खोपको पहुँच कसरी पुग्ला?
काठमाडौं– अमेरिकी सरकारले फाइजर बायोएनटेक र मोडेर्नाको खोपलाई अनुमति दिइसकेको छ। बेलायत, अमेरिका, रुस, बहराइन, साउदी अरेबियालगायतका मुलुकले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन थालेका छन्।
भारतले आगामी महिनादेखि खोप लगाउने भनिसकेको छ।
विश्वका ११ वटा कम्पनीले खोप परीक्षण गरिरहे पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कुनै खोपलाई पनि अनुमति दिएको छैन।
सरकारले ७२ प्रतिशत नेपालीका लागि खोप ल्याउने तयारी थालेको भने पनि कुन खोप कहिले ल्याउने, भण्डारण र वितरण कसरी गर्ने केही योजना बनाएको देखिँदैन।
परीक्षणका क्रममा रहेका खोप २० डिग्री सेन्टिग्रेडदेखि माइनस ७७ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने उत्पादकले बताएका छन्।
फाइजर–बायोएनटेक भण्डारण गर्न माइनस ७५ डिग्री तापक्रम चाहिन्छ। यस्तै मोडेर्ना माइनस २० डिग्री, अक्सफोर्ड युनिभर्सिटीले बनाएको खोप २ देखि ८ डिग्री तापक्रम र स्पुतनिक भी माइनस १८ डिग्री तापक्रममा भण्डारण गर्न सकिने बताइएको छ।
यस्ता खोप भण्डारणका लागि नेपालसँग पर्याप्त क्षमता नभएको विज्ञहरु बताउँछन्।
कोभिड भ्याक्सिन सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने खोप नेपाल ल्याउन निकै चुनौतीपूर्ण छ।
उनले भने, ‘यस्ता खोप भण्डारण गर्ने क्षमता हामीसँग छैन। कोरोना भ्याक्सिन निकै महँगो हुनुको साथै भण्डारण, लागत र परिचालनको हिसाबले पनि जटिल हुन्छ।’
पूर्वाधार तयारी कार्यदलका सदस्य बडेबाबु थापाले बीसीजी, पोलियो, दादुरा लगायतका खोप भण्डारणका लागि दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रमका कोल्ड चेन छन्। केन्द्र, प्रदेश र जिल्लास्तरमा रहेका सबै कोल्ड चेनको क्षमता ४५ हजार ५०० लिटर छ।
थापाले भने, ‘यो ११ महिनाका लागि आवश्यक पर्ने क्षमता हो। वर्षभरि चाहिने खोप स्टक राख्नुपर्ने हुँदा भण्डारणका लागि मात्र राष्ट्रिय स्तरमा करिब ६२ हजार लिटर क्षमताको कोल्ड चेन आवश्यक पर्छ।’
नियमित खोप कार्यक्रमलाई असर पुग्ने तरिकाले अन्य खोप भण्डारण गर्न नहुने थापा बताउँछन्। यद्यपि कुन खोप ल्याउने भन्ने टुंगो नलागेसम्म भण्डारणको तयारी गर्न कठिन छ।
कोरोनाविरुद्धको खोपका लागि माइनस २० डिग्री सेन्टिग्रेडको चिस्यान केन्द्र बनाउन सुरु गरिएको खोप सल्लाहकार समितिका संयोजक डा.उप्रेतीले बताए। यसका लागि उपकरण खरिद र कोल्ड चेनको व्यवस्थापन गर्न बजेट छुट्याइएको छ।
उनले भने, ‘केही ठाउँमा रहेका माइनस २० डिग्रीको कोल्ड चेन प्रयोग भइरहेका छन्। त्यसैले थप्नुपर्छ। माइनस २० डिग्रीमा राख्नु नपर्ने खोप आएमा पनि माइनस २० डिग्रीका कोल्ड चेनहरु अन्य खोपका लागि प्रयोग हुनेछन्।’
दुईदेखि आठ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने खोप आएमा अहिलेको कोल्ड चेन पर्याप्त हुने विज्ञहरु बताउँछन्। माइनस २० डिग्रीमा राख्नुपर्ने खोप आयो भने केही संरचना थप्नुपर्नेछ। आठ डिग्रीसम्मको तापक्रम चाहिने खोप ल्याइएमा कोल्ड चेन थप्न नपर्ने उप्रेतीकाे भनाइ छ।
खोपविज्ञ डा. उप्रेती अहिले कोल्ड चेन निर्माण गरे पछिसम्मका लागि प्रयोग हुने बताउँछन्। ‘कोल्ड चेनले नियमित खोपलाई सहयोग गर्छ।’ त्यसो त स्वास्थ्य मन्त्रालयले माइनस २० डिग्रीको कोल्ड चेन प्रत्येक प्रदेशमा एकएक वटा र केन्द्रमा दुई वटा थप्ने तयारीमा रहेको दाबी गरेको छ।
नेपालमा खोप लगाउने तालिम प्राप्त जनशक्ति पनि पर्याप्त छैनन्। जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘हामीसँग भण्डारण क्षमता मात्र होइन, तालिमप्राप्त जनशक्ति पनि तयारी अवस्थामा छैनन्, यसलाई राज्यले ध्यान दिनुपर्ने देखिन्छ।’
खोप उत्पादकलाई कूटनीतिक नोट
डा. उप्रेतीका अनुसार कोभ्याक्सबाट उपलब्ध हुने २० प्रतिशत खोपका लागि सरकारले कूटनीतिक नोट पठाइसकेको छ।
५२ प्रतिशत खोपका लागि खोप उत्पादक कम्पनीहरुलाई कूटनीतिक नोट पठाएको जानकारी उप्रेतीले दिए। तर त्यसको जवाफ आइसकेको छैन।
उनले भने, ‘विकास भएका भ्याक्सिन परीक्षणमै छन्। हामी खोप ल्याउने गृहकार्यमा जुटिसकेका छौं।’
फाइजरको खोप एक वर्षपछि
फाइजर बायोएनटेक खोप माइनस ७० डिग्री सेन्टिग्रड तापक्रममा राख्नुपर्छ। विश्व स्वास्थ्य संगठनले फाइजरलाई स्वीकृति दिएमा नेपालले कोभ्याक्सबाट आउने २० प्रतिशत खोप तत्काल गुमाउनुपर्नेछ।
कारण नेपालमा उक्त खोप भण्डारण क्षमता छैन। फाइजरले स्वीकृति पाएमा नेपालमा उक्त खोप प्रयोगका लागि कम्तीमा ६ महिनादेखि एक वर्षसम्म पर्खनुपर्ने डा. उप्रेती बताउँछन्। माइनस ७० डिग्री क्षमताको कोल्ड चेन बनाउन समय लाग्छ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने दातृ निकायहरूलाई आर्थिक सहयोगका लागि आग्रह गरिसकेको बताए।
उनले भने, ‘५२ प्रतिशत खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएका छौं। दातृ निकायहरुसँग सहयोगका लागि कुराकानी भइरहेको छ।’