काठमाडौं– इटालियन सिरी ए अन्तर्गत सौसेलोको मैदानमा आइतबार राति सम्पन्न खेलमा शीर्षस्थानको एसी मिलानले २–१ गोलको जित निकालेको छ।
एसी मिलानको जितमा राफेल लियोले सुरुको छ सेकेन्डमा गोल गर्दै सिरी ए मा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन्।
उनले पियसेन्जाका पाओलो पोग्गीले २००१ मा बनाएको ८.९ सेकेन्डको रेकर्ड ब्रेक गर्दै छ सकेन्डको रेकर्ड कायम गरे।
२१ वर्षे पोर्चुगिज फरवार्डले हकान क्याहानोग्लुको पासमा गोल गर्दै अग्रता बनाएका हुन्।
राफेलको गोलसँगै अग्रता बनाएको मिलानका एलेक्सिजले २६ औं मिनेटमा गोल गरेर घरेलु टिम सौसेलोलाई हराउँदै शीर्षस्थानमा ३१ अंक बनाएको छ। पराजित सौसेलो छैटौं स्थानमा छ।
त्यस्तै, दोस्रो स्थानमा इन्टर मिलानले घरेलु मैदानमा स्पेजियालाई २–१ गोलले हराएको छ। जितका लागि आर्चिफ हाकिमी र रोमेलु लुकाकूले समान १–१ गोल गरे।
जितसँगै इन्टरको ३१ अंक छ भने स्पेजिया ११ अंकका साथ १७ औं स्थानमा छ।
आइतबार रातिको अन्य खेलमा रोमाले एटलान्टासँग ४–१ गोलको हार बेहोरेको छ भने नापोलीले लाजियोसँग २–० गोलको हार बेहोरेको छ।