म्याग्दी– बजेटले निरन्तरता नपाएपछि बेनीको खुल्ला मञ्च विस्तार र स्तरोन्नति गर्ने योजना अलपत्र परेको छ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्याराफिट बनाउन विसं ०७४ मा नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो।
जिल्ला खेलकूद विकास समिति र बेनी नगरपालिकाले ‘मिनी स्टेडियम’ बनाउन सुरु गरेको योजना चालू आर्थिक वर्षमा बजेटविहीन भएको छ। प्याराफिट बनाउन र मैदान विस्तार गर्न सुरु गरेका काम अधुरो छ।
म्याग्दी नदीको किनारतर्फको प्याराफिट भत्काइएको थियो। प्याराफिट भत्काएपछि खेलमैदानको बीचमा ढुंगा र माटो थुपारिएको छ।
खेलमैदानको अभावमा बेनीमा केही समययता खेलकूद गतिविधि ठप्प भएको स्थानीय युवा सतिश श्रेष्ठले बताए। फुटबल, क्रिकेट र एथलेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो। जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ।
‘लकडाउनमा सुरु भएपछि खेलमैदान विस्तारको काम अझै सकिएको छैन’, श्रेष्ठले भने, ‘सुरु गरिएको कामसमेत अधुरा र अलपत्र छन्।’
जनप्रतिनिधिको उपेक्षाका कारण बेनीमा मिनी स्टेडियम बनाउने योजना भाषणमै सीमित भएको खेलाडीको गुनासो छ। खेलमैदान झाडीमा परिणत भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षअघि जिसस म्याग्दीको सभाहल उद्घाटन गर्ने क्रममा बेनीको खुल्ला मञ्चलाई ‘मिनी स्टेडियम’ बनाउने घोषणा गरेका थिए। नगरपालिका, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिले घोषणा दोहोराउँदै आएका छन्।
बजेटले निरन्तरता नपाएपछि सुरु गरेका काम पनि अधुरा र खेलमैदान अस्तव्यस्त भएको बेनीका एकेन्द्र रावलले बताए।
‘खुल्ला मञ्च म्याग्दीको गहना हो’, राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका रावलले भने, ‘जनप्रतिनिधिको बेवास्ता र उपेक्षाका कारण बजेट व्यवस्थापन नहुँदा खुल्ला मञ्च भद्रगोल बनेको हो।’
त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ। कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो।
दायाँ र बायाँ ९०–९० मिटर लामा सात हजार जना क्षमताको दुई प्यारापिट बनाउन सुरु गरेको थियो। दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ।
हाल नौ–नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११–११ जनाको टिम खेलाउन सकिन्छ। प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ।
विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । युवा तथा खेलकूद मन्त्रालयले विसं ०७१ मा छ लाख पचास हजार र २०७३ मा ५९ लाख ६७ हजार विनियोजन गरेको थियो।
विसं ०७४ मा एक करोड र ०७५–०७६ मा ६० लाख विनियोजन भएको थियो। गत आर्थिक वर्ष ०७६–०७७ मा बेनी नगरपालिकाले नौ लाख, अर्थ मन्त्रालयले ५० लाख, खेलकूद मन्त्रालयले ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट ५० लाख विनियोजन भएको थियो ।
म्याग्दी नदीको किनारतर्फ १०५ मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाउने काम करिब आधा सकिएको छ। करिब १५ मिटर प्याराफिट बनाइएको छ। कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ।
बेनी नगर कार्यपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक कृष्णकुमार विश्वकर्माले कोरोनाका कारण नगरसभाबाट खेलमैदानलाई बजेट विनियोजन गर्न नसकिएको बताए।