 
                                                                                 
                                                                
                                                                                        
                                                        दैनिक ३२ हजार जनाको पीसीआर परीक्षण गर्ने क्षमता छ। अहिलेसम्म एक दिनमा सबैभन्दा बढी १८ हजार ४७३ को परीक्षण गरिएको छ। दैनिक दुई हजारभन्दा बढी परीक्षण गर्ने प्रयोगशालामा करिब १०० जनाको मात्र परीक्षण हुन्छ।
काठमाडौं– माघ ११ गतेसम्म कोरोना भाइरस परीक्षणका लागि नेपालमा प्रयोगशाला थिएन। नेपालमा कोरोना भाइरस परीक्षणका लागि पहिलो नमुना हङकङ पठाउनुपरेको थियो।
एघार महिना बित्दा देशभर सरकारी र निजी गरी ७९ वटा प्रयोगशालाले कोरोना भाइरस–पीसीआर परीक्षणका लागि अनुमति पाएका छन्।
माघ १२ गते पहिलोपटक टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो। निजी प्रयोगशालाले जेठ ३२ देखि परीक्षणको मान्यता पाएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरी दैनिक ३२ हजार नमुना परीक्षण गर्न सकिन्छ। तर सरकारले अहिलेसम्म एक दिनमा २० हजारभन्दा बढी नमुना परीक्षण गर्न सकेको छैन।
नेपालमा गत असोज २२ गते १८ हजार ४७३ हजार नमुना परीक्षण गरेको थियो। यो एकै दिनमा गरिएको अहिलेसम्मको सबैभन्दा धेरै संख्या हो।
बुधबार पाँच हजार ५५५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो २४ घण्टामा ९३ जनाको कोरोना परीक्षण गरेको छ। यो त्यही प्रयोगशालाले हो, जसले दैनिक करिब दुई हजारभन्दा बढीको नमुना परीक्षण गरेको थियो।
प्रयोगशालामा कोरोना परीक्षण गर्ने पाँच वटा रियल टाइम पीसीआर मेसिन छन्। अहिले तीन वटा मात्र सञ्चालनमा छन्। प्रयोगशालाको दैनिक परीक्षण क्षमता तीन हजार हाराहारी हो।
नेपालमा अहिलेसम्म १८ लाख ४९ हजार १३६ नमुना परीक्षण भएको छ। तर पहिल्लो समय कोरोना परीक्षण दैनिक पाँच हजारको हाराहारीमा झरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोरोना परीक्षणका लागि ल्याबमा स्वाब कम आउन थालेको छ। अहिले मानिसले कोरोना परीक्षण गर्न छोडेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोनाका लक्षण देखिएका व्यक्ति पनि परीक्षणका लागि आउन छाडेको बताए।
लक्षण देखिए पनि जचाउँदा कोरोना पोजेटिभ देखिएमा अस्पतालमा भर्ना हुनुपर्ने, १४ दिनसम्म कार्यालय जान नपाउने र समाजमा हेयको दृष्टिले हेर्छन् भन्ने चिन्ताले पनि कोरोना परीक्षण गर्नेको संख्या घटेको डा. राजभण्डारी बताउँछन्।
अहिले धेरै ठाउँमा परीक्षण हुन्छ। राजभण्डारीका अनुसार सरकारलाई सबै तथ्यांक प्राप्त नभएकाले पनि परीक्षण गर्नेको संख्या कम भएको हो।
सरकारको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणको दर १० देखि १४ प्रतिशत छ। तर शुक्रराज अस्पतालले गरेको परीक्षणमा भने संक्रमण दर घटेको छैन। अस्पतालमा गरिएको परीक्षणमा ३० प्रतिशतसम्म संक्रमण दर छ।
अस्पतालमा फलोअप परीक्षणको दरलाई रिपोर्टिङ गरिएको छैन। नयाँ केसलाई हेर्दा ३० प्रतिशत हाराहारीमा संक्रमणदर देखिएको छ।
सरकारको गणनामा फलोअप परीक्षणको पनि तथ्यांक समावेश हुने भएकाले संक्रमणको दर कम देखिएको डा. राजभण्डारी बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डे मानिसको लापरबाहीले परीक्षण कम भएको बताउँछन्।
उनी भन्छन्, ‘सुरुका केही महिनामा सरकारले कन्ट्याक्ट ट्रेसिङ र संक्रमण बढी भएको क्षेत्रमा पुगेर स्वाब संकलन गथ्र्यो। अहिले हामी त्यसरी हिँड्दैनौं। क्लोज कन्ट्याक्टमा रहेकालाई मात्रै ट्रेस गरी परीक्षण गरिएको छ।’
पहिला हचुवाको कन्ट्याक्ट ट्रेसिङ गरिएको र अहिले कन्ट्याक्ट ट्रेसिङको दायरा साँघुरो बनाइएको उनको भनाइ छ।
अहिले १५ मिनेटभन्दा बढी समय नजिक बस्ने र मास्क नलगाई संक्रमितसँग बस्नेलाई मात्रै ट्रेस गरिएको छ। त्यसले पनि परीक्षणको दायरा कम गराइएको छ।
सुरुमा महाशाखाले नै कन्ट्याक्ट ट्रेस गरे पनि अहिले यसको जिम्मा स्थानीय तहलाई दिइएको डा. पाण्डेले बताए।
कोरोना परीक्षण गरेर पोजेटिभ नतिजा आएमा १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने भएकाले परीक्षण गर्न मानिसहरु अस्पताल तथा ल्याबमा पुग्न चाहँदैनन्।
डा. पाण्डे भन्छन्, ‘अहिले संक्रमणको दर कम भएको छ, यसलाई अझै कम गर्न परीक्षणको दायरा फराकिलो बनाई आइसोलेसन तथा क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्छ।’ स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङ गरिरहेका कारण स्वाब कम आएको विज्ञहरु बताउँछन्।
एक महिनाभित्र तीन लाख परीक्षण गरिँदै
सरकारले अबको एक महिनाभित्र सातै प्रदेशमा तीन लाख मानिसमा कोरोना भाइरस परीक्षण गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार बसेको बैठकले एन्टिजेन परीक्षणबाट पुसभित्र तीन लाख जनामा परीक्षण गर्ने निर्णय गरेको हो। निर्णयअनुसार एन्टिजेन परीक्षणको जिम्मेवारी विभिन्न अस्पताललाई दिइनेछ।
आकस्मिक रुपमा शल्यक्रिया गर्नेको पनि एन्टिजेन परीक्षण गरिनेछ।
यस्तै २०० भन्दा धेरै संक्रमित भएका ठाउँमा मास परीक्षण गरिनेछ। पीसीआर परीक्षणलाई पनि निरन्तरता दिइनेछ।