काठमाडौं– अखिल नेपाल फुटबल संघ(एन्फा)को ११ औं कार्यसमितिको बैठकले पुरुष तथा महिला राष्ट्रिय टिमका खेलाडीलाई समान तलब दिने निर्णय दुवै टिमका खेलाडीले स्वागतयोग्य भएको बताएका छन्।
एन्फाले गत हप्ता निर्णय गर्दै दुवै राष्ट्रिय टिमका खेलाडीले समान तलब पाउने व्यवस्था गरेको थियो।
राष्ट्रिय टिमका खेलाडीले एन्फाको यस्तो निर्णयको स्वागत गरेका छन्। राष्ट्रिय टोलीको कप्तानी सम्हालीसकेका भरत खवास र सावित्रा भण्डारीले पनि एन्फालाई समानताका लागि धन्यवाद दिए।
‘यो एक ऐतिहासिक निर्णय हो। हामी पहिले एन्फालाई धन्यावाद भन्छौं। आशा छ यो निर्णयले हामीलाई खेलप्रति उत्साह जगाउने छ,’ राष्ट्रिय टोलिकी फरवार्ड भण्डारीले भनिन्।
‘यो निर्णय प्रशंसायोग्य छ। यो निर्णयले सबैलाई सकारात्मक सन्देश दिन्छ र खेलाडीलाई राम्रो प्रदर्शन गर्नका लागि नैदिन शक्ति प्रदान पनि गर्छ,’ फरवार्ड खवासले भने, ‘हामीले ब्राजिल, इंग्ल्यान्डसँगै समान तलब वितरण गर्नु देशका लागि पनि गर्वको निर्णय हो।’
दुवै टिममा खेलाडीलाई समान तलब दिने निर्णय खेलाडी साथै अफिसियल र फुटबलमा लागेका अन्य मानिसले पनि स्वागत गरेका छन्।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले संघको दुवै खेलाडीलाई समान स्थानमा राख्नका लागि यस्तो गरिएको बताएका छन्।
‘नेपाली महिला फुटबल टिमको ठूलो सम्भावना रहेको छ र यसलाई अघि बढाउने योजना अनुरुप हामीले दुवै टिमलाई समान तलब वितरण गरेका हौँ जसले चाँडै यो निर्णय पारित गर्यो,’ अध्यक्ष शेर्पाले भने, ‘जब हामी एन्फामा आयौँ, हामी तलब वितरणका समानता ल्याउन चहान्थ्यौँ। आशा छ यो निर्णयले सबैलाई प्रेरणा दिनेछ।’
त्यस्तै, महिलाविरुद्ध हुने विभेद हटाउन संयुक्त राष्ट्र संघको एक समिति सीईडीएडब्लूका उपाध्यक्ष बन्दना राणाले पनि एन्को निर्णय उदाहरणीय रहेको बताएकी छन्।
‘असमान तलब पनि एक प्रकारले नारीविरुद्धको विभेद नै हो। महिला पुरुष दुवै टोलीलाई समान पारीश्रमिक दिने एन्फाको निर्णय धेरै सराहनीय छ। यो निर्णय खेलको अन्य पक्षमा पनि संस्थागत गरिनु पर्छ,’ राणाले भनिन्।
एन्फा कार्यसमितिको बैठकले राष्ट्रिय टिमका खेलाडीलाई समान १८ हजार तलब दिने निर्णय गरेको थियो।