सोमबार, वैशाख ८, २०८२

उखु किसान भन्छन्- पैसा नपाएसम्म घर जाँदैनौं

‘गत वर्ष पनि आएको थिएँ, सम्झौता भएपछि २५ हजार रुपैयाँ पाएँ। अब त पैसा पाइएला भन्ने आस थियो तर, सरकारले पनि ठग्यो।’
 |  सोमबार, मंसिर २९, २०७७
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, मंसिर २९, २०७७

vianetvianet

उखु किसान भन्छन्- सरकारले ठग्यो, सरकार भन्छ- चिनी मिलले ठग्यो। जहाँबाट पनि किसान नै ठगिएका छन्। मिल मालिक र सरकारबाट किसानविराधी हर्कत भइरहेपछि यति बेला तराईका उखु किसान राजधानी केन्द्रित आन्दोलनमा छन्।

triton college

काठमाडौं– सर्लाहीका श्यामहरि महतोले आइतबार बिहान काठमाडौं टेके। उनी रहरले सहर घुम्न संघीय राजधानी छिरेका होइनन्। न त परिवारको अनुमतिमै आएका हुन्।

घरमा बिरामी पत्नी र वृद्ध आमाबुवा। उनीहरूलाई कसले खान देला भन्ने चिन्ता श्यामहरिलाई छ। तर, उनले कसैको कुरा नसुनी केही दिनका लागि भन्दै घर छाडे। 

उनलाई काठमाडौं आउनैपर्ने त्यस्तो बाध्यता के आइलाग्यो? श्यामहरि भन्छन्, ‘घरखर्च चलाउन नसकेपछि आफूले पाउनुपर्ने पैसा उठाउन काठमाडौं आएुँ।’

श्यामहरि उखु किसान हुन्। उनले चिनी मिलबाट लाखौं रुपैयाँ लिन बाँकी छ। तर काठमाडौं आउन ऋण खोज्नुपरेको दुःखेसो उनको छ। 

National life insurance

उनी भन्छन्, ‘१० हजार रुपैयाँ ऋण खोजेर आएको छु। काठमाडौं कति समय बस्नुपर्ने हो टुंगो छैन।’ 

श्यामहरिजस्तै यति बेला प्रदेश २ का विभिन्न जिल्लाका उखु किसान आफ्नो पैसा पाउनुपर्ने माग राख्दै काठमाडौंमा छन्। 

उनीहरूले गत वर्ष पनि यसै समयमा माइतीघर मण्डलामा भेला भएर राज्यसँग उखुको पैसा मागेका थिए। तिनै अनुहार यसपल्ट पनि देखिएका छन्। 

सरकारले तोकेको समयसीमा एक वर्ष नाघिसक्दा पनि उखु किसानले अहिलेसम्म पैसा पाएका छैनन्। 

बक्यौता रकम नपाएको भन्दै गत पुसमा उखु किसानले काठमाडौं माइतीघरमा आन्दोलन गरेका थिए। 

केही साता आन्दोलनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघभित्र पैसा चुक्ता गर्ने प्रतिबद्धतापछि आन्दोलन रोकिएको थियो। 

प्रतिबद्धताअनुसार २०७६ माघ ७ गतेभित्र किसानको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसक्नुपर्ने थियो। तर, सरकारले गरेको बाचा पूरा भएन। उनीहरू फेरि आन्दोलित भए। 

यसपालि जसरी पनि आफ्नो पैसा लगेरै जाने भनेर उखु किसानले आन्दोलन थालेका छन्। 

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार सोमबार थप एक सय जना उखु किसान काठमाडौं आउँदै छन्। 

उखुको भुक्तानी समयमै दिनुपर्ने र मिल सञ्चालन हुनुपर्ने आन्दोलनको मुख्य माग रहेको मिश्रको भनाइ छ। 
श्रीराम, अन्नपूर्ण र इन्दिरा मिलले सबभन्दा धेरै पैसा दिन बाँकी छ। 

खर्च धान्न नसकेपछि आन्दोलनमा

सर्लाही सिसौटियाका राजेन्द्र मण्डल ७४ वर्षका भए। मुहार चाउरी परेको छ। दाँत झरिसकेका छन्। काठमाडौंको जाडोमा एकसरो कपडा र पटपटी फुटेका खुट्टामा चप्पल लगाएका उनी आइतबार माइतीघर मण्डलामा भेटिए। 

तीन हजार रुपैयाँ ऋण खोजेर काठमाडौंमा आएका उनी लामो समय उभिन सक्दैनन् र सडकमै थचक्क बस्छन्।
उखुखेती गरेर पैसा कमाउने र जीवन सुखी बनाउने उनको चाहना पूरा हुन सकेन। 

उखु मिलबाट लाखौं रकम लिन बाँकी हुँदा पनि ऋण गरेर खर्च धान्नुपरेको उनी बताउँछन्। 

उनले अन्नपूर्ण सुगर मिलबाट तीन लाख रुपैयाँ लिन बाँकी छ। भन्छन्, ‘गत वर्ष पनि आएको थिएँ, सम्झौता भएपछि २५ हजार रुपैयाँ पाएँ। अब त पैसा पाइएला भन्ने आस थियो तर, सरकारले पनि ठग्यो।’ 

राजेन्द्रलाई दुई बिघामा लगाएको उखु खेतमै सुक्ने हो कि भन्ने चिन्ता छ। १५ जनाको परिवार पाल्ने माध्यम उखु हो। कहिलेसम्म बस्नुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘पैसा नपाएसम्म।’ 

सिसौटियाकै रामनरेश यादवलाई अन्नपूर्ण चिनी मिलले साढे ६ लाख रुपैयाँ दिन बाँकी छ। 

रामनरेश भन्छन्, ‘गत वर्ष सम्झौता गर्दा एक महिनाभित्र पैसा मिल्छ भनिएको थियो। एक वर्ष पुग्दा पनि पैसा पाएको छैन।’ 

अहिले गाउँलेले पनि ऋण पत्याउन छाडेको उनको भनाइ छ। 

‘आफ्नै पैसा अरूसँग छ, आफू भने घरको आर्थिक अवस्था धान्नकै लागि ब्याजमा ऋण खोज्दै हिँड्नुपरेको छ।’ 

९० करोड लिन बाँकी

किसान संघर्ष समितिका सचिव श्यामहरि महतोका अनुसार समग्रमा किसानले ९० करोड रकम लिन बाँकी छ।

‘सरकारले गरेको सम्झौता कार्यान्वयन गरोस् यही नै हो हाम्रो माग हो,’ श्यामहरि भन्छन्, ‘श्रीराम सुगर मिलबाट ४२ करोड रकम लिन बाँकी छ। गत वर्ष सम्झौता भए पनि श्रीरामले एक रुपैयाँ पनि दिएन।’

अन्नपूर्ण सुगर मिलले गत वर्ष  ५० करोड रुपैयाँ दिन बाँकी रहेकोमा २० करोड रुपैयाँ किसानलाई बुझाएको छ। कुनै किसानले एक रुपैयाँ पनि पाएका छैनन् भने केहीले पूरै रकम पनि पाएको उनको भनाइ छ। 

महालक्ष्मी सुगर मिलबाट ६ करोड, इन्दिरा सुगर मिलबाट पाँच करोड, लुम्बिनी सुगर मिलबाट साढे नौ करोड रकम किसानले लिन बाँकी रहेको श्यामहरि बताउँछन्। 

‘पोहोर चिनी मिलले ठग्यो, यसपालि सरकारले’ 

गत वर्ष १८ दिन लामो आन्दोलनपछि पाँच बुँदे सम्झौता गरेर किसान गाउँ फर्किएका थिए। माघ ७ गतेभित्र किसानलाई बाँकी रकम उपलब्ध गराउने सम्झौता भएको थियो। 

सम्झौता कार्यान्वयन नभएपछि चैत ४ गते काठमाडौं आएका किसानलाई त्यस बेला पनि मन्त्रालयले पैसा दिने वातावरण मिलाउँछौं भन्ने आश्वासन दिएर घर पठायो। 

कोरोना महामारीका कारण किसानले चैतमा आन्दोलन रोकेका थिए। तर, पनि पैसा नपाएपछि २०७७ कात्तिक २३ गते किसानहरू पुनः काठमाडौं आए। 

‘काठमाडौं आएपछि पनि चार दिनपछि मात्रै मन्त्रीलाई भेट्न पायौं। मंसिर २७ गतेसम्ममा पैसा दिनुपर्ने भन्दै अल्टिमेटम दिएका थियौं,’ सचिव महतोले भने, ‘तर मंसिर २७ सम्म हामीलाई कसैले वास्ता गरेन। अनि  फेरि आएका हौं।’ 

यसपल्ट जसरी पनि न्याय लिएरै छाड्ने अठोटमा छन् उखु किसान। माइतीघरले नै आफ्नो माग सिंहदरबारसम्म पुगेको र यसपटक माइतीघरले नै न्याय दिने उनीहरूको विश्वास छ। 

यतिबेला किसानहरू निकै आक्रोशित देखिएका छन्। अब आफूहरू सम्झौता गर्न नजाने बरु पहिलेको सम्झौता कार्यान्वयन हुनुपर्ने किसानको माग छ। 

‘पोहोर चिनी मिलले ठगेको थियो यसपालि सरकारले ठग्यो,’ रामनरेश भन्छन्। 

उखु खेतीप्रति निराश 

यो वर्ष पनि नयाँ उखु आइसकेको छ। तर, खेतमै छ। किसानले काटेका छैनन्। काटेर लैजाने ठाउँ पनि त छैन। 

‘मिलमा लैजाऊँ पैसा पाइँदैन, खेतमै छोडौं सुकेर जान्छ,’ रामनरेश भन्छन्, ‘कात्तिकदेखि नै उखु काटेर मिलमा लैजानुपर्ने हो तर हालत यस्तो छ।’

अघिल्लो वर्ष तीन बिघामा उखुखेती गरेका रामकल्याण महतोले यस वर्ष पूर्ण रूपमा उखुखेती छोडेका छन्।

बैंकमा ऋण लिएर उखुखेती लगाएका उनले ऋण तिर्न पनि सकेका छैनन्। 

‘बैंकको ब्याज बढिरहेको छ, यता आफ्नो पैसा आउने/नआउने पत्तो छैन,’ उनले भने। संघर्ष समितिका सचिव श्यामहरिले यसपटक चार बिघामा मात्रै उखुखेती गरेका छन्। उनले १६ बिघामा उखुखेती गर्दै आएका थिए। 

उनी भन्छन्, ‘धेरैजसो किसानले आधाभन्दा कम खेतमा उखुखेती गरेका छन्, कति किसानले छाडिसके।’ 
यस्तै भइरहे तीन वर्षभित्र उखु खेती नै सकिने उनी बताउँछन्। 

उखुको मूल्य पाउन छोडेपछि रामनरेशले पनि निकै कम क्षेत्रमा उखु लगाएका छन्। पाँच बिघा क्षेत्रफलमा उखुखेती गर्दै आएका रामनरेशले हाल एक बिघा क्षेत्रफलमा मात्र उखु लगाएका छन्। 

गत वर्ष मूल्यका लागि संघर्ष गर्नुपरेपछि उनले उखु लगाउन छोडेको बताए। 

१२ हजार किसानको बक्यौता लिन बाँकी

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार करिब १२ हजार किसानले उखुको पैसा लिन बाँकी छ।

सरकारले यकिन तथ्यांक दिएको छैन तर, संघर्ष समितिले जम्मा गरेको तथ्यांकअनुसार १२ हजार किसानको बक्यौता लिन बाँकी छ। 

उनी भन्छन्, ‘अन्नपूर्णले २० करोड दियो, महालक्ष्मीले २२ करोड बक्यौता भएकोमा १६ करोड दियो, अरू बाँकी छ। तर, पूर्ण रूपमा किसानले भुक्तानी पाएका छैनन्। अझै कति दिन पर्खने हामी?’  किसानहरू यसपटक पैसा नलिई घर नफर्कने अडानमा छन्। 

चिनी मिलले किसानलाई ठगे

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले पैसा नदिएर चिनी मिलले किसानलाई ठगेको बताए।

उनले भने, ‘किसानलाई पैसा नदिनु सरासर ठगी हो, अब हामी अन्य मन्त्रालयसँग समन्वय गरी किसानबारे केही दिनमै निर्णय गर्नेछौं।’

गत वर्षको सम्झौताअनुसार चिनी मिल सञ्चालकले किसानलाई पैसा नदिएपछि  मन्त्रालयले कात्तिकमा मिल सञ्चालकलाई बोलाएर तत्काल पैसा दिन निर्देशन दिएको थियो।

उनले भने, ‘मिल सञ्चालकहरुले प्राविधिक समस्याका कारणले पैसा दिन नसकेको र समस्या समाधान हुनेबित्तिकै पैसा दिने भनेका थिए।’
 

प्रकाशित: Dec 14, 2020| 06:24 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।