केही वर्षअघि म लन्डनको एउटा कफीसपमा छिरेकी थिएँ। पहिलोपटक पुगेकाले त्यो ठाउँ मेरा लागि नयाँ थियो। कफीसपको मेनु देख्दा त म आश्चर्यचकित भएँ।
मेनुमा एउटा कफी थियो– ‘टरमरिक लाटे’ अर्थात् बेसारे लाटे (बेसारयुक्त कफी।) मेनुमा लाटेलाई नरिवल वा देशी बदाम मिश्रित दूध, दालचिनी, मरिच तथा रामबाँसको रस हालेर गुलियो बनाइएको वर्णन थियो।
मैले त्यति मात्रै पढें, पूरै पढ्न जरुरी ठानिनँ। एक त कफीको दाम चर्कै थियो, अर्कोतर्फ सो बेसारे वर्णनले म हजारौं भारतीय हजुरआमाको हाँसोमा हराउन पुगें र बाल्यावस्थामा फर्किएँ।
मलाई मेरी आमाले एक चिम्टी बेसार र चिनी हालेको एक गिलास तातो दूध खुवाउन फकाउँदै र तर्साउँदै गरेको सम्झना भयो। सो दूधमा न देशी बदाम थियो न त कुनै प्राकृतिक गुलियोपन।
आमाले दिएको दूध खाँदा बेस्वादको झोलले मुख बिगाथ्र्यो। त्यसलाई भारतमा हल्दी दूध भनिन्छ भन्ने त धेरै पछि मात्र थाहा पाएँ।
मलाई ज्वरो आउँदा र घाँटी दुख्दा मेरी आमा हल्दी दूध ख्वाएर निको पार्ने प्रयास गरिरहन्थिन्। हल्दी दूध खुवाएर सन्च बनाउने उपायलाई आमभारतीय अझै पनि रामवाण ठान्छन्।

पश्चिम विश्वले बेसार चिनेको एक दशकअघि मात्र हो। चिनिसकेपछि उनीहरूले यसको महत्त्व बुझ्न ढिलाइ गरेनन्। उनीहरुले बेसारलाई चिया र कफीमा मात्र मिसाएका छैनन्, सबैजसो कोल्ड सेक र अन्य पेय पदार्थमा पनि प्रयोग गर्न थालेका छन्।
लन्डनस्थित क्याफेको त्यो घटनापछि मैले अमेरिकाको सानफ्रान्सिस्कोदेखि अस्ट्रेलियाको चल्तीका क्याफेमा पनि बेसार हालेको पेय पदार्थ देखें।
भारतमा भने बेसार भान्छाको एउटा महत्त्वपूर्ण तत्त्वका रुपमा मात्र रहँदै आएको छ। भारतमा बेसारको गाँठा वा यसलाई धुल्याएर प्रयोग गर्ने चलन छ।
परम्परागत पाककलामा बेसारलाई तरकारी वा लेदोमा सुनौलो रङ दिने माध्यमका रुपमा मात्र प्रयोग गरिन्छ। बेसारको आलो गाँठाबाट अचार पनि बनाइन्छ।
धेरै भारतीयको भान्छामा जस्तै मेरो मसलाको बट्टामा पनि बेसार, सर्स्युं, जिरा र खुर्सानीको धुलो कहिल्यै टुट्दैनन्। मेरी आमाले पनि तिनै मसला प्रयोग गर्थिन् र उनीभन्दा अघि उनकी आमाले पनि।
पाककलाविज्ञ तथा ‘मसलाको स्वाद’ पुस्तककी लेखिका मरियम रेसी भन्छिन्, ‘मैले गोवास्थित घरमा बेसार रोपेकी थिएँ। म पथोली बनाउन बेसार प्रयोग गर्थें। पथोली बनाउन चामललाई सक्खरमा मिसाएर बेसारको दुई वटा ठूला पातका बीचमा मजाले बफ्याइन्थ्छ। यसो गर्दा सो खानेकुरा सुगन्धयुक्त हुन्छ।’
परम्परागत खानाभन्दा पनि समकालीन खानेकुरामा बेसारको कुनै स्थान छ भन्ने जिज्ञासा मेरो मनमा उठ्यो। मैले मुम्बईको प्रख्यात रेस्टुरेन्ट ‘द बम्बे क्यान्टिन’ जुन स्थानीय ताजा सामग्री उपयोगका लागि प्रसिद्ध छ, त्यसका मुख्य सेफ थोमस ज्याकरियससँग यसबारे साधें।
उनका अनुसार बेसार छायामा रहने मसला हो। उनले भने, ‘मलाई लाग्छ, धेरै भारतीय त बानी परेका कारणले मात्रै बेसार प्रयोग गर्छन्। उनीहरु बेसारले स्वादमा पार्ने फरकबारे अनभिज्ञ छन्।’
उनी आफैं भने सम्भव भएसम्म खानेकुरामा ताजा बेसार प्रयोग गर्छन्। उनले बेसार हालेर बनाएको ‘केरेला फिस फ्राई मिन मोइली’ देख्दैमा खाऔं खाऔं लाग्छ।
बेसार अदुवा प्रजातिमा पर्ने एउटा वनस्पति हो। भारतका कैयौं राज्यमा यसको खेती गरिन्छ। फाइनान्सियल एक्सप्रेसका अनुसार विश्वमा हुने बेसारको कुल उत्पादनमध्ये ७५ प्रतिशतभन्दा बढी उत्पादन भारतमै हुन्छ।

भारत बेसारको सबभन्दा ठूलो निर्यातकर्ता तथा उत्पादक हो। दक्षिणी राज्यहरू आन्ध्र प्रदेश र तामिल नाडुमा बेसारको प्रशस्त खेती गरिन्छ। ती क्षेत्रमा उत्पादित बेसार राम्रो पनि मानिन्छ।
भारतमा बेसारको प्रयोग सांस्कृतिक रुपमा पनि गरिन्छ। हिन्दु समुदायमा बेसारको प्रयोग विवाहमा समृद्धि र जन्मजन्मान्तरणको निरन्तरताको संकेतका रुपमा गरिएको हुन्छ।
उदाहरणका लागि विवाहअघि परिवारका अग्रजले दुलाहा–दुलहीलाई बेसारको लेप मुहारमा दलेर सौभाग्य र सुखद दाम्पत्यका लागि आशिष दिन्छन्।
कतैकतै मंगलसूत्रको धागोलाई बेसारपानीमा डुबाउने चलन छ। विवाहजस्ता विशेष समारोहमा लगाइने पहिरनको एक छेउमा बेसार दलिएको हुन्छ।
भारतीय महिलाले घरमै बनाउने सौन्दर्य प्रशाधनका सामग्रीमा एक चिम्टी बेसार मिसाएकै हुन्छन्। बेसारले त्वचा सफा राख्ने र चमक दिन्छ भन्ने मान्यता छ।
मरियम भन्छिन्, ‘भारतमा धेरै मसला अन्वेषक वा विदेशी शासकले भित्र्याएका हुन्। जस्तै– खुर्सानी दक्षिण अमेरिकाबाट आएको हो। जिरा मेडिटेरियन क्षेत्रबाट आएको हो। बेसार भने कहीँबाट आएको होइन। यो क्षेत्रमा प्राचीनकालदेखि थियो।’
यसको चिकित्सा गुणमा आमविश्वास हुनुमा सदीयौंको प्रयोगको उपज रहेको उनको ठम्याइ छ।
१० वर्षअघि म केरेलाको प्रसिद्ध आयुर्वेदिक अस्पतालमा दुखाइको समस्याले पुगेकी थिएँ। मलाई अरू उपचार पद्धति र औषधिबाहेक बेसारको लेप लगाइयो। एक वरिष्ठ चिकित्सकले बेसारले जलन र दुखाइ कम गर्न सहयोग पुर्याउने बताए।
खुट्टा मर्किंदा, चिसोले गोडा करकर खाएमा बेसारको लेप प्रयोग गर्ने अभ्यास आम भारतीयमा छ। आयुर्वेदमा त सदीयौंदेखि यसको उपयोग हुँदै आएकै छ।
बैंगलोरको सौख्य सम्पूर्ण उपचार केन्द्रका संस्थापक डा. आइज्याक मथाई भन्छन्, ‘बाथ, पित्त र कफका तीनै दोषको उपचारका लागि उपयोग हुने औषधीय तत्त्व बेसारमा मात्र पाइन्छ।’
जलन निको बनाउनुका साथै बेसारमा एन्टिअक्सिड्यान्ट र एन्टिसेप्टिक गुण हुन्छन् भन्ने मान्यता छ। यद्यपि यसको प्रमाण पुष्टि भइसकेको भने छैन।
बेसारमा हुने कर्कुमिन भन्ने तत्त्वका कारण यसमा पहेंलो रङ र औषधीय क्षमता रहेको हुन्छ। एकथरीले के तर्क गर्छन् भने भारतीयहरुले तेलको प्रयोग गरेर खाना पकाउँदा बेसारमा भएको कर्कुमिनको प्रभाव बढ्छ।
पोषणविद् तथा लेखिका नन्दिता ऐयर भन्छिन्, ‘कर्कुमिन एक चिल्लो–घुलनशील यौगिक हो। यसलाई पानीमा घोलेर खानु भन्दा चिल्लोसँग मिश्रण गर्दा चाँडै सोस्छ।’
यदि त्यो सत्य हो भने त त्यो मेरा लागि कर्णप्रिय संगीतसरह हुन्छ। म बिना कुनै हिच्किचाहट हल्दी दूधलाई पन्छाइदिन्छु। तर तेलमा बनाइने मसालेदार हल्दीको अचार भने छोड्दिनँ।
(भारतीय यात्रा लेखक चारुकेसी रामुदराईको बीबीसी ट्राभलमा प्रकाशित लेखको नेपाली भावानुवाद महेश्वर आचार्यले गरेका हुन्।)