काठमाडौं– भारतीय क्रिकेटर पार्थिव पटेलले १८ वर्षे क्रिकेट खेल जीवनलाई विश्राम दिएका छन्। विकेटकिपर तथा ब्याट्सम्यान पटेलले आज (बुधबार) क्रिकेटका सबै फर्म्याटबाट संन्यासको घोषणा गरेका हुन्।
उनले सामाजिक सञ्जालमा संन्यासको घोषणा गरेका छन्। उनी लेख्छन्, ‘आज म क्रिकेटका सबै फर्म्याटबाट संन्यास घोषणा गर्दछु। मेरो १८ वर्षको क्रिकेट यात्रालाई पर्दा लगाउन गइरहेको छु।’
३५ वर्षे पटेलले भारतीय टिमबाट २५ टेस्ट, २८ एकदिवसीय र केही ट्वान्टी–२० खेल खेलेका छन्। त्यस्तै घरेलु क्रिकेटमा पनि गुजरात टिमबाट उनी १९४ फस्ट क्लास क्रिकेटमा सहभागी बनेका छन्।
उनी पहिलोपटक २००२ मा भारतीय टिमको हिस्सा बनेका थिए। १७ वर्ष १५३ दिनमा डेब्यू गर्दा उनी भारतीय टिममा सबैभन्दा सानो उमेरका विकेट किपरसमेत थिए।
राम्रो सुरुवात गरेका पटेल दुई वर्षपछि दिनेश कार्तिक र महेन्द्र सिंह धोनी टिममा आएसँगै उनीहरुको छायामा परे।
यद्यपि, उत्कृष्ट क्रिकेट यात्रा कायम राखेका पटेल २००२ बाट नै टेस्ट खेलमा पनि सहभागी भएका थिए। त्यसको दुई वर्षपछि अहमदावादमा भएको रणजी ट्रफीमा समेत सहभागी बन्ने अवसर पाए।
खेल जीवनको बीचमा उनले क्रिकेटमा राम्रो कमब्याक गरे पनि रिद्धिमान साहको ठाउँ भने उनले लिन सकेनन्। राष्ट्रिय टोलीमा ठाउँ बनाउन सकेनन् उनले। तर जतिबेला ठाउँ पाए, उनले निरन्तर राम्रो प्रदर्शन गरिरहे। घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गरे।
विश्वकै सर्वाधिक महँगो क्रिकेट फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग २०१५मा मुम्बई इन्डियन्सलाई उपाधि दिलाउन उनले ३३९ रन प्रहार गर्दै चौथो उत्कृष्ट रन स्कोरर बने।
उनले २०१६ मा अन्तिम पटक अन्तराष्ट्रिय खेल खेलेका थिए। महेन्द्र सिंह धोनी घाइते भएको समयमा उनले उक्त मौका पाएका थिए।
गत सिजनको आईपीएलमा पटेलले रोयल च्यालेन्जर्स बैंैगलोरबाट खेलेका थिए। संन्यासको घोषणा गर्दै पटेलले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई पनि धन्यवाद दिएका छन्।