काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तलब–भत्ता, आवास र गाडीको सुविधा नलिने घोषणा गरेका छन्। सुरक्षाबाहेक राज्यका अरु कुनै सुविधा नलिने घोषणा उनले गरेका छन्।
साथै आफू पदमा रहुन्जेल आफू संलग्न व्यवसायको कार्यकारी पदबाट राजीनामा दिने बताएका छन्। राज्यमन्त्री श्रेष्ठको शिक्षा, स्वास्थ्य, जलविद्युत् लगायत क्षेत्रमा लगानी छ।
'सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना' सार्वजनिक गरेका राज्यमन्त्री श्रेष्ठले पदमा बहाल रहँदा स्वार्थ बाझिने उल्लेख गर्दै व्यापार–व्यवसायमा आफू संलग्न नहुने प्रतिवद्धता व्यक्त गरे।
भने, 'स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यावसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु। पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत सार्वजनिक गर्न चाहन्छु। हालसम्म म संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनी रुपमा नै त्याग गरिसकेको छु।'
आफ्नो सय दिने कार्ययोजना सुनाउन साेमबार पत्रकार सम्मेलन गरेका राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्ममा एक तिहाइ जनसंख्यालाई कोभिड खोप लगाउने र चैत मसान्तसम्म सबैलाई खोपयुक्त बनाउने बताए। १० दिनअघि राज्यमन्त्री नियुक्त भएका श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता अनुसार नै आफूले काम गर्ने सुनाए।