काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ।
केहीबेरअघि बालुवाटारमा अध्यक्षहरुबीच वान टू वान छलफल भएको हो। दुई अध्यक्षबीचको छलफल सकिएलगत्तै सचिवालय बैठक सुरु भएको छ।
सचिवालय बैठकमा दुवै अध्यक्षले पेश गरेका प्रस्तावमा छलफल गर्ने भनिएको छ।
बैठकमा दुवै अध्यक्ष सहभागी भएका छन्। यसअघि १७ गतेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सहभागी नभएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो।
नेकपाका दुई अध्यक्षबीच लामो समयदेखि संवादहिनताको अवस्था रहेकोमा आज वान टू वान वार्ता भएको छ।
यो वार्तापछि सचिवालय बैठक सौहार्दपूर्णरुपमा चल्ने अनुमान सचिवालय सदस्यहरुले गरेका छन्।
सरकारका काम तथा नियुक्ति लगायतका विषयलाई लिएर अध्यक्ष दाहाल तथा वरिष्ठ नेता माधव नेपाल पक्षीय नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपाभित्र चर्को विवाद छ।
यसअघि केही समययताअध्यक्षद्वयबीच पत्रका माध्यमबाट आरोपप्रत्यारोप चलेको छ।
साथै सचिवालय बैठककै प्रस्तावका रुपमा दुवै अध्यक्षले एकअर्कामाथि प्रहार गरी प्रस्तावका रुपमा आरोप पत्र तयार गरेपछि विवाद झनै चुलिएको छ।
आजको सचिवालय बैठकमा पनि दाहाल र नेपाल पक्षीय नेताहरु ओलीको राजीनामा माग गर्ने तयारीमा छन् । उनीहरुले ओलीले एउटा पद छोडे मात्रै राजनीतिक निकास निस्कने बताउँदै आएका छन्।