एउटा उखान छ, संगत गुनाको बुद्धि, बिउ गुनाको फल। यो उखान धेरैको जीवनमा लागू नहुन सक्छ। तर केही मानिस खराब संगतमै लागेका कारण आफ्नो जीवनका सारा सपना चकनाचुर बनाउन विवश हुन्छन्।
कुसंगतमा लागेर जीवन बर्बाद बनाए पनि खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै सर्लाहीका रमेशकुमार सिंह पछुताउँदै आफ्नो पहिचान जीवन्त राख्न सक्रिय छन्। हत्या अभियोगमा आफूमाथि ज्यान मुद्दा लागेका उनी सिर्जनात्मक कार्यमा पनि सक्रिय छन्।
प्रायः जिन्स पाइन्ट, टिसर्ट, घाँटीमा सुनको सिक्रीमा सजिने रमेश हट्टाकट्टा र खाइलाग्दा छन्। झट्ट हेर्दा उनी प्रहरी जवानजस्ता देखिन्छन्।
तर सम्पन्न र शिक्षित परिवारका उनी प्रहरी कर्मचारी हैनन्, चौकीदार हुन्। उनले महोत्तरी सदरमुकाम जलेश्वरमा चौकीदारको जिम्मेवारी पाएको एक वर्ष बितेको छ।
कारागारमा कैदीमध्ये एक जनालाई चौकीदार बनाइन्छ। उसले सबै कैदीबन्दीको नेतृत्व गर्नुका साथै उनीहरुको हेरचाह गर्नुपर्छ। कारागारभित्र कुनै अप्रिय अवस्था उत्पन्न हुन नदिने जिम्मेवारी पनि चौकीदारकै हो।
चौकीदार बन्न अलग्गै नियम रहेको जेलर मकसुदन महासेठले बताए। यसबाहेक कैद सजाय ५० प्रतिशत भोगिसकेको, असल चालचलन भएको र अरुलाई सम्झाउन सक्ने योग्यता चौकीदारमा हुनुपर्छ।
पाँच सयभन्दा बढी कैदीबन्दी रहेको जलेश्वर कारागारमा २० नाइके र ५० भाइ नाइके छन्। नाइकेले २० देखि २५ जनाको नेतृत्व गर्नुपर्छ भने भाइ नाइकेले १० जनाको नेतृत्व गर्नुपर्छ।
यी सबैको नेतृत्वचाहिँ चौकीदार तथा मूल नाइकेले गर्नुपर्छ। नेतृत्व गर्ने क्षमता भएकै कारण रमेशलाई चौकीदार बनाइएको जेलर महासेठ बताउँछन्।
रमेशले कैद सजाय भोगेको १० वर्ष बितेको छ। उनी ज्यान मुद्दामा कारागार पुगेका हुन्।
यस्तो थियो अभियोग
सर्लाहीका रमेश काठमाडौंमा बस्थे। २०६७ सालको हिउँदमा उनी सर्लाही झरेका थिए। उनीलगायत १३/१४ जना साथी अंग्रेजी नयाँ वर्ष मनाउन महोत्तरीको एक होटेलमा पुगेका थिए। रमझममा रमाइरहेका बेला युवाको अर्को समूहसँग उनीहरुको विवाद भयो।
दुवै समूह हात हालहालमा उत्रियो। रमेशका एक जना साथीले बियरको बोतलले अर्को समूहका एक युवकको टाउकोमा हाने। उनीहरु मिलेर घाइतेसहित अन्यलाई निर्घात कुटपिट गरे।
टाउकामा गम्भीर चोट लागेका ती युवकको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। सोही घटनामा संलग्न भएको आरोपमा रमेशसहित उनका १३ जना साथी पक्राउ परे।
‘त्यति बेला विज्ञान विषय लिएर १२ कक्षा पास गरी सेनाको सेकन्ड लेफ्टिनेन्टको तयारीमा थिएँ, रमेशले भने, ‘हत्या आरोपमा ममाथि जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर भयो। पक्राउ परेका सबै कारागार चलान भयौं, मेरो सपना चकनाचुर भयो।’
परिवारबाट मिलेन सहानुभूति
कुनै पनि अभियोगमा मुद्दा दर्ता भएपछि आरोपितलाई अदालतमा उपस्थित गराइन्छ। आरोपितसँगै उनलाई सहानुभूति दिनकै लागि पारिवारिक सदस्य र आफन्तको उपस्थिति रहन्छ। तर रमेशको मुद्दा टुंगो लाग्न वर्षौंसम्म बित्यो। उनलाई भेट्न घरबाट कोही गएनन्।
‘कुन राम्रो काम गरेको थिएँ र? मलाई सहानुभूति दिन आउनुहुन्थ्यो मम्-ड्याड, रमेश भन्छन् ‘उहाँहरुले दिनुभएको संस्कार र खानदानको इज्जतमाथि तुषारापात गरेको थिएँ मैले।’
एक वर्षपछि उनलाई फेरि पनि अदालतसमक्ष उपस्थित गराइयो। त्यतिबेला उनका ठूलो दाइ त्यहाँ पुगेका थिए।
‘घरको कान्छो छोरो मैले एक वर्षसम्म परिवारका कसैको मुख हेर्न सकिनँ। पेसीकै क्रममा मलाई फेरि अदालत लगियो। दाइ आउनुभएको थियो’, उनले भने, ‘आँँसु झार्नुबाहेक केही बोल्नै आएन।’
रमेशले अहिलेसम्म चारवटा कारागारको अनुभव बटुलिसकेका छन्। महोत्तरीमा भने उनी दोस्रोपटक पुगेका हुन्। मित्रता बढाउनकै लागि कारागार परिवर्तन गर्ने गरेको उनी बताउँछन्।
मुद्दा लाग्दा महोत्तरीमा रहेकाले तत्काल जिल्ला अदालतले जलेश्वर कारागार पठायो। अनि नख्खु जेलमा गए। फेरि सिरहा कारागार पठाइदिन अनुरोध गरे।
त्यहाँ लगभग एक वर्ष बसेपछि उनी सुनसरीको झुम्का कारागारमा सरुवा भए। अहिले उनी जलेश्वरमा छन्। उनले भने, ‘संगतले मेरो जीवन बिग्रियो त्यसैले अब म कोहीकसैसँग संगत नै गर्न रुचाउँदिनँ।’
१० वर्ष अवधिमा रमेशले कारागारबाटै होटेल म्यानेजमेन्टमा स्नातकसम्मको शिक्षा हासिल गरिसकेका छन्। अब कारागारभित्रको अनुभव मसेटेर पुस्तक लेख्ने तयारीमा छन् उनी।
उनले भने ‘कारागारबाट बाहिर निस्कनासाथ पुस्तकलाई मूर्त रुप दिनेछु।’