काठमाडौं- नेपाली कांग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउलगायतका विषयमा देशव्यापी प्रदर्शन गर्ने भएको छ।
बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेल पक्राउ परेपछि आक्रोशित बनेको कांग्रेसले यही मंसिर २९ गते देशव्यापी रुपमा प्रदर्शन गर्ने भएको हो।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार, कोरोना भाइरस संक्रमणविरुद्ध सरकारको अकर्मण्यतालगायतका विषयमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री शशांक कोइरालाले जानकारी दिए।
कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना संक्रमणविरुद्ध आवश्यक र अत्यावश्यक काम गर्न नसकेको लगायतका निस्कर्ष निकालेको छ। साथै कांग्रेसले संसद बैठक तुरुन्त बोलाउन पनि माग गर्ने भएको छ।
