काठमाडौं- अर्थ मन्त्रालयले तीन दिनभित्र कोभिड–१९ बिमाको दाबी भुक्तानी गर्न पुनः निर्देशन दिएको छ।
यसअघि अर्थमन्त्री विष्णु पौडेल मन्त्री भएर आएको एक हप्ताभित्रमा नै कोभिडको दाबी भुक्तानी सात दिनभित्र दिने व्यवस्था मिलाउन मन्त्रालयले समितिलाई निर्देशन दिएको थियो।
तर, बिमा कम्पनीहरूले दाबी भुक्तानी नदिएको भन्दै धेरै गुनासो अर्थ मन्त्रालयमा आएपछि बिमा समितिलाई तीन दिनभित्र कोभिड बिमाको दाबी भुक्तानी दिने व्यवस्था मिलाउन पुनः निर्देशन दिइएका हो।
त्यस्तै मन्त्रालयले दैनिक रूपमा कोभिड बिमाको दाबी भुक्तानीको विवरण बुझाउन पनि बिमा समितिलाई निर्देशन दिएको छ।
बुधबार विभिन्न व्यक्तिहरूले कोभिड बिमाको दाबी भुक्तानी समयमा नपाएको भन्दै गुनासो गरेका थिए। लगत्तै अर्थमन्त्रीले राजस्व सचिवको कार्यकक्षमा गएर कोभिड बिमाको रकम तत्काल भुक्तानीका लागि निर्देशन दिने निर्णय गरेका थिए। सोही अनुरूप मन्त्रालयले आज समितिलाई पुनः निर्देशन दिएको हो ।
समितिलाई दिएको निर्देशनको बोधार्थ अर्थ मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी र नेपाल बीमक संघमा पनि पठाएको छ।
त्यस्तै मन्त्रालयले प्रमाणीकरण गर्न बाँकी काेभिड बिमाको दाबी छिटो गर्न, कुन–कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ र कति ‘पेन्डिङ’मा छ सबैको विवरण मन्त्रालयमा पठाउनसमेत समितिलाई निर्देशन दिएको छ।
