काठमाडौं- विभिन्न चार देशका आवासीय राजदूतहरूले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार थाइल्याण्ड, म्यानमार, बंगलादेश, र इजरायलका आवासीय राजदूतले ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।
थाइल्याण्डका भोसिता भोरासप, म्यानमारका सैन आ, इजरायलका हनान गोडेर गोल्डवर्ग र बंगलादेशका सलहुध्दिन नोमन चौधरीले प्रमाणपत्र बुझाएकाे कार्यालयले जनाएकाे छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
उक्त कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।