काठमाडौं- वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निजी तथा बाह्य लगानी गर्ने वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै मन्त्री भट्टले सरकारले आन्तरिक तथा बाह्य लगानीका लागि वातावरण तयार पार्ने तथा नयाँ लगानीकर्तालाई लगानीका लागि प्रोत्साहित गर्ने बताएका हुन्।
त्यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड-१९ महामारीका कारण उद्योगधन्दा कलकारखानामा समस्या परेको भन्दै बजेट र मौद्रिक नीतिको तत्काल कार्यान्वयन भएमा केही राहत हुने बताए।
अहिले पनि कतिपय उद्योगमा मजदुरहरूले बन्द हड्ताल गरिरहेको भन्दै अध्यक्ष गाेल्छाले त्यसलाई रोक्न सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरे।
उनले मजदुर संघ/संगठनलाई उद्योग मन्त्रालयले निर्देशन जारी गरेरै भए पनि त्यस्ता बन्द र हड्ताल रोकिदिन अनुराेध गरे।