काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशमा भएको आरोप लगाएका छन्।
बिहीबार बुल्दी खोलाको पुल उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा पुगेका नेतामाथि स्थानीय प्रशासनले मात्रै दुर्व्यवहार गर्न नसक्ने बताए।
‘सिडियोले नबुझेर यो घटना घटेको होइन, सिडियो रामचन्द्र पौडेलमाथि प्रहार गर्न तयार हुन्छ भन्ने पनि होइन। यो घटना नियोजित र पूर्वाग्रही छ। स्थानीय प्रशासनलाई नेकपाकरण गर्ने र कांग्रेस नेताहरुमाथि दमन र निरुत्साहित गर्ने अभिप्रायमा यो घटना घटेको हो,’ उनले भने, ‘प्रधानन्त्री केपी ओलीले आफू जस्तै लोकतन्त्रका लागि लडेको मान्छेको टाउकोमा लाठी बजाउनुभयो। यो भत्र्सना योग्य कुरा हो।’
नेता पौडेलले तनहुँका सांसद किसन श्रेष्ठकोसमेत चर्को आलोचना गरे। उनले श्रेष्ठ विचौलिया र ठेकेदार भएको भन्दै उनले कमाएको स्रोतसमेत खोजेका छन्।
‘किसन श्रेष्ठ एक दिन पनि कस्टडीमा बस्नुभएन। लोकतन्त्र स्थापनाका लागि पनि उहाँ लड्नुभएन। उहाँ विचिौलिया र ठेकेदार हो। विभिन्न कारणले सांसद हुनु अर्कै कुरा। उहाँको योग्यता के हो? त्यतिका पैसा कसरी कमाउनुभयो,’ पौडेलले भने, ‘उहाँले राज्यलाई कति कर तिर्नु भएको छ। यदि सम्पति शुद्धिकरण आयोग ओलीजीको पन्जामा नभएको भए उहाँ पहिलो सिकार हुनुहुन्थ्यो।’