अस्वाभाविक रूपमा सेयर बजार उकालो लागेपछि लगानीकर्ता उत्साहित त भएका छन् तर कालो धन प्रयोग भएको आशंकामा छानबिन हुने भएपछि जोखिम पनि उत्तिकै बढेको छ।
काठमाडौं– पछिल्लो समयमा सेयर बजार उछालिएर कीर्तिमान कायम गरेको छ। सेयर बजार परिसूचक झन्डै २१ सय अंकको हाराहारीमा पुगेको छ।
बुधबार मात्रै सेयर बजार परिसूचक २०७१.०२ अंकमा अडिएको छ भने सात अर्ब ४६ करोड रुपैयाँ कारोबार भएको छ।
मंसिर १५ गते बजारमा आठ अर्ब ८६ करोड रुपैयाँ कारोबार भएको थियो। १४ गते हालसम्मकै उच्च नौ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
पछिल्लो समयमा सेयर बजारले यसरी ‘बुलिस ट्रेन्ड’ पक्रिनुपर्ने खास कारण छैन। विश्लेषकहरू बजारमा पर्याप्त तरलता भएको तर लगानी गर्न नसक्दा मार्जिन लेन्डिङ (सेयर धितो कर्जा) मा बैंक तथा वित्तीय संस्थाले थोरै ब्याज लिएको हुँदा बजार बढेको बताउँछन्।
बैंकहरूले धेरै सेयर लगानी गर्नेहरुलाई सस्तो ब्याजदरमा कर्जा प्रवाह गरेका छन्। बैंकबाट थोरै ब्याजमा ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरुको क्रम बढ्न थाल्दा पनि बजारले ‘बुलिस ट्रेन्ड’ पकडेको उनीहरुको तर्क छ।
यस्तै यसअघिका अर्थमन्त्री डा.युवराज खतिवडा सेयर बजारमैत्री नभएको तर नयाँ अर्थमन्त्री विष्णु पौडेल बजारमैत्री हुने सम्भावना भएकाले पनि बजार उकालो लागेको सेयर लगानीकर्ता संघका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। तर यिनै कारणले मात्र बजार यसरी उकालो लाग्नुपर्ने देखिँदैन।
नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली विश्व सेयर बजारले नै ‘बुलिस ट्रेन्ड’ पकडेको दाबी गर्छन्। अमेरिका र भारतमा पनि कोरोना महामारीकै बीचमा सेयर बजारमा दिनानुदिन उच्च कारोबार भइरहेको उनको भनाइ छ।
सेयर बजार विश्लेषक प्रकाश तिवारीका अनुसार नेपालमा महामारी, प्राकृतिक विपत्ति वा राजनीतिक परिवर्तन हुँदा बजारले उकालो यात्रा तय गर्ने गरेको इतिहास छ।
२०६२/६३ सालको आन्दोलनपछि पनि बजार निकै माथि पुगेको थियो। २०० देखि ३०० हाराहारीमा कारोबार भइरहेको नेप्से पुस २, २०६४ मा १०७४ अंकसम्म पुगेको थियो।
त्यसपछि सेयर बजार धेरै लामो समयसम्म पाँचदेखि आठ सय अंकको हाराहारीमा कारोबार भइरह्यो। डा. बाबुराम भट्टराई अर्थमन्त्री भएका बेला बजार ओरालो लागेर २०० मा झरेको थियो।
तत्कालीन अर्थमन्त्री भट्टराईले सेयर बजारलाई ‘जुवा घर’ भनेका थिए।
२०७२ सालको भूकम्पपछि लगानीकर्ता सेयर बजारतर्फ आकर्षित भए। बजार पुनः बढेर १८८१ अंकसम्म पुग्यो।
बिस्तारै लगानीका अन्य ढोका पनि खुले। लगानीमा विविधीकरण हुन थालेपछि बजार ओरालो लागेर सात सयको हाराहारीमा पुगेको थियो भने दैनिक एकदेखि दुई अर्ब हाराहारीमा कारोबार हुन थालेको थियो।
सेयर बजार घट्नुमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडालाई लगानीकर्ताले दोष लगाएका थिए। उनले बजार सुधारतर्फ खासै ध्यान पनि दिएका थिएनन्।
डा. खतिवडाले करको दायरा विस्तार गर्ने नीति संशोधन गरे। सम्पत्ति शुद्धीकरण निवारण ऐनको कार्यान्वयनमा विशेष चासो दिए। जसका कारण धितोपत्र बजारमा १० लाखभन्दा माथिको कारोबार गर्दा स्रोत देखाउनुपर्ने, एक लाखभन्दा माथिको कारोबारमा चेक अनिवार्य हुनुपर्ने लगायतका व्यवस्था गरियो। यस्तो व्यवस्थाले सेयर बजारमा लगानी हुने कालो धन ठप्प भयो र बजार ओरालो लाग्यो।
यति बेला विश्व कोरोना महामारीमा छ। तर सेयर बजार भने उकालो लागिरहेको छ। महामारी, राजनीतिक परिवर्तन र प्राकृतिक विपत्तिका कारण सरकार र नियामक निकायले नियमनमा लचकता अपनाउँछन् भने बजारमा रकम अभाव भएको भन्दै नीतिनियम पनि कडाइका साथ लागू गर्दैनन्। जसको फाइदा लगानीकर्ताले उठाइरहेका छन्।
यस्तो बेलामा सेयर बजारमा ६० देखि ७० प्रतिशत नयाँ लगानीकर्ताले बजारमा प्रवेश गर्ने गरेको विश्लेषक तिवारीको दाबी छ। नयाँ लगानीकर्ताले हल्लाका आधारमा लगानी गर्ने तथा पुरानाले यसैको फाइदा उठाउने गरेको तिवारीको तर्क छ। हल्लाका आधारमा लगानी गर्नेहरु पछि डुब्ने खतरा रहेको उनले बताए।
गत मंगलबार नेपाल धितोपत्र बोर्डले बजार अस्वाभाविक रुपमा उकालो लागेपछि बजार क्र्यास हुन सक्ने सम्भावना औंल्याउँदै लगानीकर्तालाई सचेत भएर लगानी गर्न विज्ञप्तिमार्फत अनुरोध गरिसकेको छ।
अहिले बजार बढ्नुमा नयाँ लगानीकर्ताको भूमिका रहेको तिवारी बताउँछन्। उनले सेयर बजारका खेलाडीले फाइदा लिइरहेको दाबी गरे।
सेयर बजारमा कालो धन आएको आशंका
आधारविना नै बजार यसरी उकालो लाग्नु शंकास्पद भएको भन्दै अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्डले संयुक्त रुपमा अध्ययन तथा अनुगमन गर्ने भएका छन्।
बोर्डका एक उच्च अधिकारीका अनुसार बजारमा कालो धन आएको आशंकामा नेप्सेलाई बोर्डले छानबिन गर्न निर्देशन दिइसकेको छ।
महामारीका कारण नियामक निकायले अनुगमन तथा नियमन गर्न नभ्याउने मौका छोपेर कालो धन बजारमा आएको हुन सक्ने शंका एकथरीको छ।
बोर्डका ती अधिकारीले अर्थमन्त्रीसमक्ष तत्काल पुँजीबजारमा कालो धन आएको छ कि छैन भनेर अनुसन्धान गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसमा राष्ट्र बैंकले पनि सहमति जनाएको छ।
बोर्डका अनुसार नौ अर्ब रुपैयाँ बराबरको दोस्रो बजार कारोबार गर्न सक्ने क्षमता नेपालको पुँजी बजारमा छैन। हाल नेपालभर पाँच लाख लगानीकर्ता छन्। तीमध्ये एक लाख लगानीकर्ताले अनलाइन कारोबार गरिरहेका छन्।