आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सात सय वर्षअघि विद्रोह लेख्ने कालजयी कवि ‘विद्यापति’

आज कात्तिक धवल त्रयोदशी। मैथिली भाषाका महाकवि विद्यापतिको देहावसान भएको दिन। 
 |  शनिबार, मंसिर १३, २०७७
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, मंसिर १३, २०७७

जनकपुरधाम– आज कात्तिक धवल त्रयोदशी। मैथिली भाषाका महाकवि विद्यापतिको देहावसान भएको दिन।

triton college

मैथिली आधुनिक साहित्यलाई उर्जा प्रदान गर्ने कविकोकिल विद्यापति आफ्नो साहित्य रचनाको माध्यमले आज पनि जनमानसमा जिवित छन्। 

मैथिल क्षेत्रमा उनलाई कविभन्दा पनि गीतकारका रूपमा व्याख्या गर्ने गरिन्छ । कविकोकिल विद्यापतिको जन्म भारतको विहार राज्यको मधुवनी जिल्लाको विस्फीमा भएको मानिन्छ। 

उनको जन्मस्थान र तिथिको विषयमा यकिन तथ्यांक नरहे पनि सन १३४० देखि सन १३७५ को मध्यमा भएको हुन सक्ने अनुमान गरिन्छ।

मायबाप जो सदगति पाब
सन्तति अनुपम सुख आब।
विद्यापति आयु अवसान
कार्तिक धवल त्रयोदशी जान।।

Metro Mart
vianet

उनको जन्मको विषयमा यकिन तथ्यांक नरहे पनि कविकोकिल विद्यापतिले अन्तिम श्वाँस कार्तिक धवल त्रयोदशी तिथिकै दिन लिएको कवितामा उल्लेख छ। यसकै आधारमा  विद्यापति स्मृति दिवस प्रत्येक वर्ष  कात्तिक धवल त्रयोदशीमा मनाइन्छ। 

विद्यापतिका पिता गणपति ठाकुर मिथिलाका तत्कालिन राजा कीर्तिसिंह र शिव सिंहका दरबारिया कवि थिए। पिता पनि कवि भएकै कारण उनमा पनि साहित्यप्रतिको रुचि बढ्न गएको हुन सक्ने अनुमान गरिन्छ । 

विद्यापतिको काव्य रचनाहरूमा काव्य साधनाका तीन पक्ष देख्न सकिन्छ। उनको रचनामा आश्रय दाताका लागि यशोगान, श्रृंगार वर्णन र भक्तिभावना पाइन्छ। 

अभिनव जयदेव, मैथिल कोकिल, रससिद्ध कवि, कवि शेखर, रसिक शिरोमणि, शेखर, कविरत्न, कविरत्न कण्ठाहार आदि विशेषण एवं उपनामले उनलाई चिनिन्छ। 

विद्वानहरूका अनुसार विद्यापति काव्यिक रचनामा विषय सुहाउँदो रस र भाषा चयन सटिक रहेको पाइन्छ । विद्यापतिले वीररसका लागि अवहट्ट भाषालाई रोजेका थिए। भक्ति र शृंगार गीतका लागि मैथिली भाषालाई छनौट गरे। 

अध्यात्म वा शास्त्रजन्य व्यवहारका लागि र राजा वा राजपरिवारको सदस्यको यशोगानका लागि संस्कृत भाषाको सहारा लिएको पाइन्छ। विद्यापति कवि अतिरिक्त भूगोलका ज्ञाता, इतिहासकार, राजनीतिज्ञ, कर्मकाण्डी  सँगै समाज सुधारक समेत थिए। 

यो कुरोको प्रमाण विभिन्न धार्मिक ग्रन्थहरूले प्रमाणित गर्छ। उनी दरबारिया कवि रहेपनि दरबारमा मात्रै लिप्त थिएनन्। उनी गरिब, धनी, उँचनीच सबैप्रति समान दृष्टि राख्थे भन्ने कुरा उनका काव्यकृतिहरूले झल्काउँछ। 

तत्कालीन समाजमा नारीको स्थान के कस्तो थियो? नारीको प्रेम र विवाह, बालविवाह, बहुविवाह जस्ता विषयमा उनले आजभन्दा सात सय वर्ष अगाडि आफ्ना कविताहरूको माध्यमले कडा प्रहार गरेको पाइन्छ। 

त्यस्तै आमा, सासू, स्त्रीधन, सतीप्रथा, वेश्याको सामाजिक स्थिति, नारीको शृंगार जस्ता व्यक्तिगत एवं सामाजिक जीवन उनका काव्य रचनाहरूले झल्काउँछ। 

त्यससँगै मिथिलाको आर्थिक स्थिति, खानपान, भेषभूषा, धार्मिक स्थिति पनि उनको काव्य रचनाहरूमा देख्न सकिन्छ। 

विद्यापतिको काव्य रचनामा उनी कतै वैष्णव भक्ति त कतै शैवमार्गतिर उन्मुख भएको देखिन्छ। तर, उनको काव्यले मनुष्यकोे मानसिक धरातल माथि उठाउन मद्दत गर्छ र भविष्यप्रति आशा जगाउँछ। 

उनलाई विश्व मानवधर्मका पक्षपाती रहेको देख्न सकिन्छ। हाम्रै गाउँघरका सामान्य पति पत्नी विद्यापतिको काव्यमा राधा र कृष्णको रूपमा प्रस्तुत भएका छन्। 

महाकवि विद्यापति आफ्ना पदावलीमा तात्कालिक समाजमा विद्यमान अप्रासंगिक बनिसकेका रुढी, सामाजिक विसंगतिप्रति आक्रोश पोख्नुका साथै व्यंंग्य गरेको पाइन्छ। 

पिया मोरा बालक हम तरुनी
कोन तप चुकलौंह भेलौंह जननी।
पहिरलेल सखी एक दखिनक चीर
पियाके देखैत मोर दगध शरीर।
पिया लेली गोदकै चलली बजार
हटियाके लोग पूछे के लागू तोहार।
नही मोरा देवर ई नही छोट भाइ
पूरव लिखल छल बालमु हमार।

उपरोक्त गीतमा बेमेल विवाहका विसंगतिलाई विनोदी शैलीमा व्यंग्य गरिएको पाइन्छ। यससँगै नायिकाको यौवनजनित प्राकृत चाहनाको उच्छ्वासलाई दर्शाउँछ। यहाँ नारी मूल्यकोे सामाजिक स्खलनलाई सटिक र सुन्दर ढंगले अभिव्यक्त भएको छ र विरहको चित्र पनि स्वस्थ रूपमा प्रस्तुत गरिएको छ।

सखी कि पुछसी अनुभव मोए
से हो पिरित अनुराग बखानिए
तिल तिल नूतन होए
जनम अवधि हम रूप निहारल
नयन न तिरपित भेल...

प्रियतमलाई आफ्नो बनाउन सफल भएपछि नायिकालाई प्रणयभावनामा एक विशेष प्रकारको आत्मविश्वास उत्पन्न हुन जान्छ। यस्तोमा सखीहरू अत्यन्त उत्सुक भएर यसको कारण जान्न खोज्छन्। 

सोही प्रसंगलाई यो गीतले दर्शाउँछ। त्यसैगरी कृष्णलाई कामकलाको ज्ञान छैन भन्छे। यहाँ कवि एक प्रबुद्ध कामशास्त्रीको रूपमा प्रस्तुत भएका छन्।

जे किछु कभु नही कला रस जान
नीर खीर दुहु करए समान
तन्ही सों कहाँ पिरित रसाल
बानर कण्ठ कि मोतीय माल
भनही विद्यापति इह रसजाने
बानर मुँह कि सोभय पान।

आजको मान्यतालाई ब्रह्मबैवर्त पुराण आदिमा राधा कृष्णको कामक्रीडालाई जसरी चित्रण गरिएको छ, त्यसमा अश्लीलताको आक्षेप लगाउने ठाउँ छ। तर विद्यापतिकी नायिका राधा त्यो रतिरागलाई अत्यन्त शिष्ट भाषामा पोख्छे।

हँसी हँसी पहु आलिंगन देल
मनमथ अंकुर कुसमित भेल
जब निविबन्ध खसाओल कान
तोहर शपथ हम किछु नहीँ जान।

विद्यापति र नेपाल 
कविकोकिल विद्यापतिको जन्म भारतीय भूमिमा भएपनि उनको साइनो नेपालसँग विभिन्न कोणबाट जोडिन्छ। इतिहासकारहरूका अनुसार मुसलमान शासकहरूले मिथिलाका तत्कालिन राजा शिव सिंंहलाई बन्दी बनाएर दिल्ली पु¥याए। 

विद्यापतिले शिवसिंहकी रानीसहित उनका परिवार एवं सेवकहरूलाई आफ्नो संरक्षणमा राखेर हालको महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ७ स्थित बनौलीमा १२ वर्षभन्दा बढी समय बिताएको मैथिली एवं संस्कृतका विद्वान डा. गोविन्द चौधरी बताउँछन्। 

डा. गोविन्दका अनुसार वनौली प्रवासको समयमा उनले लिखनावली नामक ग्रन्थ लेखेका थिए भने श्रीमदभागवतको मैथिली भाषामा अनुवाद गरेका थिए। 

विद्यापतिको कवित्वको प्रभाव उपत्यकाको धार्मिक र सांस्कृतिक जीवनमा पनि परेको देखिन्छ। उनले रचना गरेका भजनहरू मल्लकालदेखि आजसम्म पनि काठमाडौं उपत्यकाका तीन सहरभित्रका देवमन्दिर र भजनपाटीहरूमा गाइन्छ। 

बुधवा रंगीया भंगीया भोला।।
चन्दन तिलक सोहे माथे हि डोलाय।।
बाजेलागि डमरु रिमिकी दिमिकिया
नाचे लागी बुध्वा उँमकि उँमकिया... 
भनहेँ विद्यापति शिवजीकी लीला
जगत् पतिके लीला...।।

काठमाडौं उपत्यकाका देवमन्दिर र भजनगृहमा नेवार समुदायले गाउने भजनहरूमा विद्यापतिका थुप्रै भजनहरू पाइन्छ। विद्यापतिको काव्यिक व्यक्तित्वमा परस्पर विरोधी विचारधाराको प्रभाव रहेको देखिन्छ। 

उनी सामन्तीय दरबारी कविहरूको परम्परामा रहे पनि लोकजीवनप्रति पूर्ण सचेत थिए। उनले संस्कृतमा काव्य रचना गरेका थिए तर उनको रसबस भने लोकभाषा मैथिली र अबहट्ठमा थियो।

सक्कय बानी बहुजन भवइ पाअऊँ रस को मम्म न पाबइ ।
देसिल बयना सब जन मिठ्ठा, तेँ तैसन जम्पञो अबहट्ठा।। (किर्तिलता)

यस कवितामा उनले आफ्नो भाषालाई नै सबैले प्रिय मान्छन्। तेसैले अबहट्ठ भाषालाई यस ग्रन्थको लागि रोज्न पुगेँ भनी उद्घोष गरे। जनभाषाप्रति उनको यही अभिव्यक्तिले उनलाई जनजनको प्रिय बनायो।

विद्यापतिको व्यक्तित्वमा त्यस युगको विभिन्न प्रकारको देशी विदेशी सांस्कृतिक विचारधारा संघर्षरत थिए भन्ने देखिन्छ। यस अर्थमा उनी संक्रमण कालका प्रतिनिधि कवि हुन्। 

उनी दरबारिया भए पनि जनकवि थिए, शृंगारिक भए पनि भक्तिका कवि थिए। उनी काव्यमा शैव शाक्त वैष्णव भए पनि कुनै एउटा पन्थ वा सम्प्रदायमा बाँधिएका थिएनन्। 

उनका राधा कृष्ण कुनै एक जाति वा देशका होइनन्। न त प्रेम कुनै भौगोलिक सीमाभित्र आबद्ध रहन सक्छ। उनी बृहत् मानवधर्मका पक्षधर थिए।

नेपालको पूर्व मध्यकाल अर्थात् दशौंदेखि चौधौं शताब्दीको इतिहास त्यति स्पष्ट छैन। त्यस कालको मिथिला क्षेत्रको इतिहास पनि सिलसिलाबद्ध पाइँदैन। 

विद्यापति डीह अतिक्रमणको शिकार

मैथिली एवं संस्कृतका विद्वान डा. चौधरीका अनुसार तत्कालिन मिथिलाका राजा शिव सिंहको अवस्था अज्ञात भएपछि उनको रानी लखिमाको संरक्षणका जिम्मा विद्यापतिले नै लिएका थिए। 

रानी लखिमाका संरक्षणका लागि शिव सिंहका मित्र पुरादित्य समक्ष पुगे। उनी वनौलीबाटै तत्कालिन समयमा राज्य गरिरहेका थिए। 
पुरादित्यको राज्यमा पुगेर विद्यापतिले रानी लखिमालाई पति विरहको आभाष नहोस भन्ने उद्देश्यका साथ आफ्ना रचनाहरू सुनाउने गर्थे। विद्यापति जहाँ बसेर रानीका लागि काव्य रचनाहरू गर्थे सो सो ऐतिहासिक स्थल नै अहिले ओझेल अवस्थामा रहेको छ। यति मात्र नभई डीह नै निजी व्यक्तिको नाममा गई सकेको पाइएको छ। 

पिपरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रुपेश झाले स्थानीय सरकारले विद्यापति डीह जस्तो ऐतिहासिक स्थललाई उजागर गर्न गम्भिर रहेको दावी गरे। 

‘स्थानीय सरकारले यो ऐतिहासिक स्थललाई संरक्षण गर्नका लागि पहल गरेको छ’, वडाध्यक्ष झाले भने ‘गाउँपालिकाले २१ लाख बजेट समेत छुट्याएको थियो, तर त्यसका लागि उजागर गर्ने काम अगाडि बढाउँदा मात्रै यो जग्गा निजी भईसकेको थाहा पाएँ।’

अब पुरातत्व विभागसँग समन्वय गरेर विद्यापति डीहको उत्खनन् गरी यसलाई उजागर गर्ने योजना रहेको वडाध्यक्ष झाले सुनाए। 
विद्यापति डीह अहिले ४ कठ्ठामा मात्रै फैलिएको भएपनि त्यसका कयौ विघा जग्गामा अहिले खेतीपाती भई रहेकोछ।  

यता डीहको पूर्वमा रहेको लक्ष्मी सागर पोखरीलाई सौन्दर्र्यकरणको कार्य प्रदेश २ सरकारले अगाडि बढाउन लागेको छ। 

लक्ष्मी सागर पोखरीको जिर्णोद्वारका लागि प्रदेश सरकारले चासो लिए पनि डीहको संरक्षणका लागि काम अगाडि बढाउन सकेको छैन। यसको मुख्य कारण जग्गा नै निजी भईसक्नु रहेको मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक ईन्जिनियर भगवान झाले बताए।  
 

प्रकाशित: Nov 28, 2020| 06:25 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।