शुक्रबार, असोज ४, २०८१

अनलाइन कक्षाको पहुँचमा छैनन् सुर्खेतका ७४ हजार विद्यार्थी

शैक्षिक वातावरण नहुँदा सामुदायिक विद्यालयको सिकाइ उपलब्धि पनि न्यून छ। इकानले गरेको अध्ययन अनुसार सुर्खेतका सामुदायिक विद्यालयको सिकाइ उपलब्धि ६७ प्रतिशत मात्रै छ।
 |  सोमबार, मंसिर ८, २०७७
nespernesper

देव राना

देव राना

सोमबार, मंसिर ८, २०७७

सुर्खेत– कोरोना महामारीपछि अधिकांश विद्यालयले अनलाइन कक्षालाई वैकल्पिक सिकाइको रुपमा अपनाएका छन्। तर सुर्खेतका सामुदायिक विद्यालयमा भने अनलाइन कक्षा असम्भव रहेको पाइएको छ।

triton college

शैक्षिक क्षेत्रमा सक्रिय एजुकेट कर्णाली नेपाल (इकान) ले गरेको एक अध्ययन अनुसार सुर्खेतका ७४ हजार ३५६ जना विद्यार्थी अनलाइन कक्षाको पहुँचमा छैनन्। कुल ८२ हजार ६१७ विद्यार्थीमध्ये १० प्रतिशत विद्यार्थी मात्रै अनलाइन कक्षाको पहुँचमा रहेका इकानको अध्ययनले देखाएको छ। विद्यार्थीहरु अनलाइनको पहुँच नहुँदा अनलाइन कक्षा सम्भव नरहेको इकानको अध्ययनले देखाएको छ। अनलाइनको पहुँचमा भएका विद्यार्थी अनलाइनको सदुपयोग गर्नुको सटा फेसवुक र युट्युबमा व्यस्त हुने गरेको पाइएको छ।

उसो त कोरोना महामारीअघि सुर्खेतका शिक्षकले समेत अनलाइन कक्षामा सहभागी हुन नसक्ने अवस्था थियो। शिक्षकहरुलाई अनलाइन कक्षा सञ्चालन गर्नको लागि नेपाल शिक्षक महासंघ सुर्खेतले केही महिनाअघि  अनलाइन कक्षा नै सञ्चालन गरेको थियो। अनलाइन कक्षाको तालिम पश्चात सामुदायिक विद्यालयका ९० प्रतिशत शिक्षकहरु अनलाइन कक्षा सञ्चालन गर्न सक्ने शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्ण थापाले बताए। शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्न सक्ने भए पनि इन्टरनेट, मोबाइल तथा कम्प्युटरको अभावमा सामुदायिक विद्यालयका अनलाइन कक्षा सञ्चालन गर्न चुनौतिपूर्ण रहेको थापाको तर्क छ। 

त्यस्तै सामुदायिक विद्यालयमा पुस्तकालय समेत छैन। इकानको अध्ययन अनुसार सिम्ता गाउँपालिकामा ६२ वटा सामुदायिक विद्यालयमध्ये दुई वटा विद्यालयमा मात्रै पुस्तकालय छ। त्यस्तै पञ्चपुरी नगरपालिकाका ५३ सामुदायिक विद्यालयमध्ये दुई वटा विद्यालयमा मात्रै पुस्तकालय छन्। अन्य स्थानीय तहको तुलनामा सिम्ता र पञ्चपुरी नगरपालिकाका धेरै विद्यालयमा पुस्तकालय छैनन्।

प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा पनि पुस्तकालय छैनन्। वीरेन्द्रनगरका कुल ६४ वटा विद्यालयमध्ये ४८ वटा विद्यालयमा मात्रै पुस्तकालय छ। पुस्तकालय भएका सामुदायिक विद्यालयमा पनि विद्यार्थीमा पढ्ने बानीको विकास नगरेको  इकानको अध्ययनले देखाएको छ। यता कर्णाली प्रदेश शिक्षा निर्देशक दीपा हमालले भने विद्यालयले पुस्तकालयको स्थापना र विद्यार्थीमा बढ्ने बानीको विकास गर्न सकेको खण्डमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण सहयोग मिल्ने बताइन्।

Metro Mart
vianet

सुर्खेत जिल्लाभर ४९२ वटा सामुदायिक विद्यालय छन्। तीमध्ये ३९० आधारभूत तहसम्म र १०२ वटा विद्यालयमा माध्यमिक तहसम्म अध्ययन हुन्छ। नौ वटा स्थानीय तह रहेको सुर्खेतको गुर्भाकोट नगरपालिकामा सबैभन्दा बढी सामुदायिक विद्यालय छन्। तथ्यांक अनुसार गुर्भाकोटमा ६९ वटा सामुदायिक विद्यालयमध्ये ५९ वटा आधारभूत र १० वटा माध्यमिक विद्यालय छन्। त्यस्तै वीरेन्द्रनगरमा ६४ वटा, सिम्तामा ६२ वटा, बराहतालमा ५६, पञ्चपुरीमा ५३, भेरी गंगामा ५१, चौकुनेमा ४९, लेखबेशीमा ४७ र चिंगाड गाउँपालिकामा ४१ वटा सामुदायिक विद्यालय छन्।

त्यस्तै शैक्षिक वातावरण नहुँदा सामुदायिक विद्यालयको सिकाइ उपलब्धि पनि न्यून छ। इकानले गरेको अध्ययन अनुसार सुर्खेतका सामुदायिक विद्यालयको सिकाइ उपलब्धि ६७ प्रतिशत मात्रै छ।

अध्ययन अनुसार मुख्य विषय अर्थात गणित, विज्ञान र अंग्रेजी विषय अध्ययन गराउन दरबन्दी अनुसारका शिक्षकहरु छैनन्। मुख्य विषयहरुमा नै दरवन्दी अनुसारका शिक्षक नहुँदा शैक्षिक गुणस्तर सुधार्न चुनौतिपूर्ण देखिएको इकानले औल्याएको छ। शैक्षिक सुधार हुन नसक्दा गुणस्तर नहुँदा हरेक वर्ष झण्डै दश प्रतिशत विद्यार्थीले कक्षा दोहोर्याउनु परेको छ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न संघ, प्रदेश र स्थानीय सरकारले लगानी बढाउनु पर्ने इकानको सुझाव छ। विद्यालयको भौतिक अवस्था (कक्षा कोठा, झ्यालढोका, डेष्क बेन्चको मर्मत तथा नयाँ थप), शौचालयको स्तरोन्नति र विद्यालयसम्म पुग्ने सहज बाटोको पहुँच पुर्याउने पर्ने इकानका अध्यक्ष मनवीर नेपाली बताउँछन्।  

हरेक वर्ष साढे ६ सय विद्यार्थीले पढाइ छोड्दै

सुर्खेतमा हरेक वर्ष साढे ६ सयभन्दा बढी विद्यार्थीले पढाइ छोड्ने गरेका छन्। अध्ययन अनुसार कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये हरेक वर्ष ६६९ विद्यार्थीले कक्षा छोड्ने गरेका छन्। कक्षा १ मा भर्ना भएका विद्यार्थीको कुल संख्यामध्ये कक्षा १० मा पुग्दा दुई हजार ७१० जना विद्यार्थीले पढाइ छोड्छन्। 

परिवारको गरिवी नै विद्यार्थीहरुले पढाइ छोड्ने मुख्य कारण रहेको इकानले औल्याएको छ। अभिावकले शिक्षाको महत्व बुझ्न नसक्नु, बालबालिका बुझ्ने उमेर भएपछि मजदुरी गर्न थाल्नु र मजदुरी गर्ने बुवाआमासँगै बालबालिका पनि भारततिर जाने हुँदा बीचमै विद्यार्थीले पढाइ छोड्ने गरेका हुन्। ४८ प्रतिशत कुल भर्नादर रहेको सुर्खेतमा २८१ जना कुनै न कुनै हिसावले अपांगता भएका छन्।

प्रकाशित: Nov 23, 2020| 04:20 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्