काठमाडौं- २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ले पाउने भएको छ। त्यस्तै पद्मश्री साधना सम्मान गायक तथा संगीतकार भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ।
खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले मंगलबार ट्विटमार्फत यस्तो जानकारी दिएका हुन्। प्रतिष्ठानले हरेक वर्ष कला, साहित्य र प्राज्ञिक क्षेत्रका एक–एक जना व्यक्तित्वलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ।
दाहालको पुस्तक मोक्षभूमि दासहरूको मुक्तिका विषयमा केन्द्रित छ। खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि दस हजार दासहरूलाई मुक्त गरिएपछि त्यसपछि सिन्जामा आएको उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु भएको पुस्तकले औंल्याएको छ।
पद्मश्री सम्मानका लागि छनोट भएका भक्तराज आचार्य लामो समयदेखि संगीत साधनामा तल्लीन छन्। उनलाई भजन शिरोमणिका रूपमा पनि चिनिन्छ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन–तीन लाख रुपैयाँ छ। २०६३ सालदेखि खेमलाल(हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको एउटलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। त्यस्तै २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घसाधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान गर्दै आएको छ। सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन प्रदान गर्ने गरिएको छ।