काठमाडौं- नेपालको सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सेयर बजारमा अहिलेसम्मकै सर्वाधिक ६ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुरारी पराजुलीका अनुसार यसअघि एकै दिन सर्वाधिक ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
उनका अनुसार नेपालको सेयर बजार उकालो लाग्ने वा घट्ने स्पष्ट कारण एकिन हुन सकेको छैन। बिहीबार पनि रेकर्ड कायम हुने गरी कारोेबार किन बढ्यो भन्ने कुरा प्रस्ट भन्न नसकिने उनले बताए।
सेयर बजार परिसुचक (नेप्से) पनि ३६.३२ अंकले उकालो लागेको छ। नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु पनि उकालो लागेका छन् । बुधबार ओरालो लागेको बैकिङ समूह पनि बिहीबार उकालो लागेको छ।
बिहीबारको कारोबारले लगानीकर्ता थप हौसिने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।
उनका अनुसार बजारमा पर्याप्त तरलता भएका कारण सहजै ऋण उपलव्ध भएको, बजारका कट्टर विरोधीका रुपमा चिनिएका पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिएकोे, अनलाईन कारोबार सहज भएको र रेमिट्यान्सको सेयरबजारमा लगानी भएको आदि कारणले सेयर कारोबार र नेप्से बढेको हो।
कोरोना संक्रमण अघि घटेर ११०० भन्दा तल पुगेको नेप्से बिहीबार १७७८.१२ अंकमा पुगेको छ ।
बिहीबार १९८ कम्पनीको १४ करोड कित्ता सेयर कारोबार भएको छ। यस दिन १० प्रतिशत कमाउनेमा तारागाउँ रिजेन्सी होटल (ह्यात) र युनिलिभर नेपाल लिमिटेड छन् । ९ प्रतिशत भन्दा बढी कमाउने १३ वटा कम्पनी छन्। ३२ वटा कम्पनीको मूल्य भने घटेको छ ।
पुनर्बिमा कम्पनीको मात्र ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। त्यस्तै हिमालयन डिष्टिलरीको २७ करोड रुपैयाँको कारोबार भएको छ।