काठमाडौं– कोरोना संक्रमणको महामारी अनुमान गरेको भन्दा फरक ढंगले अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्।
नेपाल नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको ७ वटा भेन्टिलेटर ग्रहण गर्दै उनले विश्वले पनि कोरोना महामारीको अवस्था यकिन गर्न नसकेको बताए ।
मन्त्री ढकालले कोरोनाको लडाइँमा प्राप्त सहयोगले लडाइँलाई थप सहज बनाउने भन्दै सहयोग गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका सबै संघसंस्थाहरुलाई धन्यबाद दिए।
कोरोनाको प्रमाणित भ्याक्सिन तयार भइनसकेकाले यसबाट बच्नको लागि जनस्वास्थ्यका मापदण्ड अपनाउनुको विकल्प नभएको मन्त्री ढकालले बताए। ढकालले लकडाउनजस्तो अप्रिय काम गर्दा पनि जनताले सहयोग गरी साथ दिएको बताए ।
विगतमा स्वास्थ्य सुरक्षा सामग्रीमा चिन्तित भएको सरकारले हाल सुरक्षा सामग्रीका साथै अक्सिजन, भ्याक्सिन लगाएतका विषयमा ध्यान दिएको उनले बताए। रेडक्रसले उपलब्ध गराएको ७ वटा भेन्टिलेटर सातै प्रदेशमा वितरण हुनेछ।