काठमाडौं– देशका विभिन्न स्थानमा बुधबार राति भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार धादिङको धुनिबेसी नगरपालिका–८ खानिखोलाको सडकमा ना.६ ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट स्थानीय रितेश तामाङको मृत्यु भएको छ।
त्यस्तै चितवन, ईच्छाकामना गाउँपालिका–६ चेपाङडाँडाको सडकमा ग.७ प २०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्वत कुस्मा नगरपालिका–१४ बस्ने २६ वर्षीय भेष बहादुर क्षेत्रीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्वत कुस्मा नगरपालिका–१४ बस्ने २५ वर्षीय अनिल बिकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता रोल्पाको सुनिलस्मृति गाउँपालिका–८ तल्लोपानीस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री ४६ वर्षीय कृष्ण राहु मगरको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी हुँदै थप उपचारको क्रममा बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–३ पुरुवाल पेट्रोलपम्प नजिक सडकमा ना.५ ख ८९३२ नम्बरको बसले भे. ९ प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका–२ बलादी बस्ने २१ वर्षीया तुलसी पौडेलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका–११ बस्ने २१ वर्षीय मदन ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१९ भैयापुरस्थित सडकमा रोकी राखेको भे.१ त ९२५३ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा खसेर सोही उपमहानगरपलिका–१९ भैयापुर बस्ने भिम बहादुर लिम्बुको ४ वर्षीय छोरा तेन्जिह्याङ लिम्बुको मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।