काठमाडौं– नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेश कुमार शर्माको सम्झनामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।
मंसिर २ गते निधन भएका ८९ वर्षीय शर्मा चार कार्यकाल रेडक्रसको अध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए। सोही अवधिमा शर्माले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुमा अन्तर्राष्ट्रिय महासंघको गर्भनिङ बोर्डमा रहेर सेवा गरेका थिए।
नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष शर्मीला कार्कीले श्रद्धान्जली सभाको अध्यक्षता गर्दै स्व शर्माको निरन्तर सम्झना हुने गरी नेपाल रेडक्रसले कार्य गर्ने बताइन्। कार्कीले भनिन्, ‘उहाँको भावनाअनुसार पारदर्शी र स्वच्छ संस्थाको रुपमा नेपाल रेडक्रस सोसाइटीको पहिचान कायम गरिने छ।’
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले सरल स्वभावका धनी पूर्वअध्यक्ष शर्माको निधनले नेपाल रेडक्रसको मात्र नभएर विश्व रेडक्रसकै एक हस्ती गुमाएको बताए। उनले दुःख व्यक्त गर्दै स्वर्गीय शर्माले देखाएको स्वयंसेवी र निष्ठाको बाटोमा संस्थालाई अगाडि बढाउने बताए।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले स्वर्गीय शर्माले इमान्दार स्वयंसेवी कार्यकर्ताको रुपमा दिएको प्रेरणा सबैका लागि स्मरणीय रहने बताए।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष र महासचिव क्रमशः फ्रान्सेस्को रोक्का तथा जगन चापागाईँ लगायत नेपालका विभिन्न समाजसेवीबाट शोक सन्देश प्राप्त भएको जानकारी सञ्चार निर्देशक दिव्यराज पौडेलले कार्यक्रममा गराए।
श्रद्धाञ्जली सभामा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य द्वय दिपेन्द्र ढकाल र अरुण खनाल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, उपकार्यकारी निर्देशक सुर्दशन अधिकारी, रेडक्रसको अन्तराष्ट्रिय समिति आर्इसीआरसीका नेपाल नियोग प्रमुख जेरोम इम्सटेफ, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आर्इएफआरसीका नेपाल प्रमुख हार्भे गजेउ, नेरेसोका पूर्वउपकार्यकारी निर्देशक इन्द्रबहादुर केसी, मुकेश सिंह लगायतले शर्माको व्यक्तित्वमाथि प्रकाश पारेका थिए।