काठमाडौं- नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारीले अहिलेको सरकार असक्षम र अदूरदर्शी रहेको दाबी गरेका छन्।काठमाडौंमा आयोजित नेपाल स्काउट विशेष पत्रकार सम्मेलनमा निवर्तमान संयोजक भण्डारीले संस्थामा आफूले पूरा जिम्मेवारी निभाएको तर स्काउटको ऐन, कानुन बनाउने कुरामा सरकार असक्षम र अदूरदर्शी रहेको दाबी गरेका हुन्।
उनले केही मिलेमतोमा चल्ने र स्काउटलाई अघि बढ्नै नसक्नेहरुले आफूलाई बिना कारण निकालेको आरोप लगाए। उनले सरकारको यो निर्णय स्काउटलाई अघि बढ्न नदिने झुन्डहरुलाई खुसी बनाउनका लागि भएको समेत बताएका छन्। भण्डारीले आफ्नो अबको बाटो कानुनी सल्लाह भएको बताउँदै सरकारले आफूले नेपाल स्काउटले मागेको ऐन नदिएको आरोप समेत लगाए।
उनले भने, ‘अहिले पनि सरकार असक्षम छ। किनभने सरकारले अहिले पनि नेपाल स्काउटको ऐन दिन सकेको छैन। वास्तवमा हिजो इतिहास, यसको नेतृत्व गर्नेहरुले मागेको र चाहेको ऐन खोई? मैले मागेको त्यो ऐन क्याबिनेटको विधायन समितिमा गएर अड्किएर बसेको छ, यो केही कार्यकर्तालाई देखाउने, हिजोदेखि स्काउटलाई बढ्नै नदिने केही झुन्डहरुलाई खुसी बनाउन गरिएको निर्णय हो, अहिलेसम्म यत्रो संकट पर्दा फेसबुकमा लेखेर बस्नेहरु छन् तर बाहिर निस्केर सहयोग गरेका छैनन्।'
भण्डारीले प्रधानान्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिम्मेवारी पूरा गर्न नसकेर यस्तो निर्णय लिइएको भन्नु अस्वभाविक र आश्चर्यजनक रहेको बताए। उनले प्रधानमन्त्रीको आँखामा छारो हालेर आफू नेतृत्वको समितिलाई राजनीतिक प्रर्वाग्रहमा हटाउन खोजेको बताए।
उनले देशको प्रधानमन्त्रीले तथ्यहीन आधारमा निर्णय लिनु दुःखद् भएको समेत बताएका छन्। संस्थामा आफूले शतप्रतिशत काम गरेको भन्दै आफू नेतृत्वको समितिले तोकेकै समयमा स्काउटको निर्वाचन गर्न आग्रह गर्दै अर्को तदर्थ समितिको श्रृंखलाबाट मुक्त गरी निर्वाचित नेतृत्व स्थापना गर्न आग्रह गरे।
उनले आफूलाई सामाजिक सञ्जालमा आक्रमण भइरहेको र व्यक्तिगत जीवनको विषयवस्तुलाई जोडेर आफूमाथि प्रहार भइरहेको समेत बताएका छन्।