काठमाडौं– निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको टिमलाई भव्य स्वागत गरेको छ।
निर्यात व्यवसायीहरुको नीतिगत आवाज उठाउने संस्थाको रुपमा गठित सो संस्थाले महासंघ वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई भव्य स्वागत गर्दै शुभकामना दिएको छ।
राजधानीमा आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद राम बहादुर गुरुङले आगामी अध्यक्ष शेखर गोल्छाको लागि उपयुक्त र सशक्त टिम चाहिने भन्दै अञ्जन र उनको टिमलाई अत्यधिक बहुमतले जिताउन र भोट दिन सबैसँग अनुरोध गरेका छन्। अध्यक्ष गुरुङले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताए।
त्यसैगरी संस्थाका उपाध्यक्ष शंकर पाण्डेले फिनलाई सहयोगी संस्थाको रुपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताए। उनले नयाँ नेतृत्व प्रोएक्टिभ हुनुपर्ने भन्दै निर्यात व्यवसायलाई जोड दिन आग्रह गरे।
कार्यक्रममा बोल्दै संस्थाका अर्का उपाध्यक्ष चण्डी अर्यालले रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र धान्न नसक्ने भन्दै देशभित्रै निर्यातजन्य उद्योग संचालनको वातावरण बनाउनुपर्ने बताए।
महासंघको निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दिर्घकालिन नीतिका लागि आफूले काम गर्ने बताए।
आगामी दिनमा देशभित्र रोजगार सिर्जना गर्न र उद्योगमैत्री वातावरण बनाउनका लागि नै ससक्त वस्तुगत तर्फको नेतृत्व हुनुपर्ने र त्यो आफुले गर्न सक्ने भन्दै आफूलाई बिजयी गर्न श्रेष्ठले अनुरोध गरे।
कार्यक्रममा वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले केही स्वार्थी व्यवसायीहरुका कारण अन्य व्यवसायीहरुले दुःख पाउँदै आएको भन्दै आफ्नो उम्मेदवारीले त्यस्तो स्वार्थलाई निर्मूल गर्ने बताए।