पोखरा– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य तोकेको छ।
किसानले उत्पादन गर्दा लाग्ने लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको छ।
गत सोमबार परेको राष्ट्रिय कफी दिवसको अवसरमा बोर्डले नयाँ मूल्य कायम गरेको हो। यस वर्षको राष्ट्रिय कफी दिवसको नारा ‘कफी विस्तारमा उन्नति, आर्थिक प्रगति’ राखिएको थियो।
यस वर्ष किसानबाट उत्पादित फ्रेस चेरीको प्रति केजी मूल्य ए ग्रेडको ९० रुपैयाँ कायम गरिएको छ।
प्रांगारिक पद्दतिबाट उत्पादन गरिएको, ठिक्क पाकेको पानीमा राख्दा डुब्ने, केलाएर राखिएको हुनुपर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराका प्रमुख चन्द्र पुरीले बताए।
पोहोरभन्दा यस वर्ष प्रति केजी पाँच रुपैयाँ बढेको हो। त्यस्तै बी ग्रेडको कफीको प्रति केजी मूल्य ८० रुपैयाँ कायम गरिएको पुरीले जानकारी दिए।
चिसो प्रशोधन विधि अन्तर्गत तयार गरिएको ११ प्रतिशत चिस्यान भएको पार्चमेन्ट कफीको ए ग्रेडको मूल्य ४ सय ५० कायम गरिएको छ। यो गत वर्षभन्दा प्रति केजी २५ रुपैयाँ बढी हो।
त्यस्तै बी ग्रेडमा परेका ताजा फलबाट तयार गरिएको बी ग्रेड पार्चमेन्ट कफीको मूल्य ३९७ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै चिसो प्रसोधन विधिबाट १२–२४ घन्टाभित्र प्रशोधन गर्न नसकिएको कफी चेरीलाई घाम वा अन्य माध्यमबाट सुकाएर ११ प्रतिशत चिस्यान भएको ड्राइ चेरी कफीको ए ग्रेडको मूल्य १४८ रुपैयाँ र बी ग्रेड कफीको मूल्य ९५ रुपैयाँ कायम गरिएको छ।
बोर्डले कफीको न्युनतम मूल्य कायम गरे पनि किसनले भने स्थान विशेष अनुसार ताजा फलको प्रति केजी मूल्य एक सय रुपैयाँभन्दा बढी पाउँदै आएका छन्। त्यस्तै पार्चमेन्टको प्रति केजी मूल्य पाँच सयभन्दा बढी पाउँछन्।
विगतका वर्षहरूमा कफीको उत्पादन बढे पनि गत वर्ष जलवायु परिवर्तन, कफीमा गबारो, सिन्दुरे रोग लगायत अन्य कारणबाट विस्थापित भएको कफी बगानको क्षेत्रफल कटौती गरी यस वर्ष तथ्यांक समायोजन गरिने भएकाले कफीको तथ्यांक तथा क्षेत्रफलमा ५० प्रतिशत गिरावट आउनेसक्ने प्रक्षेपण गरिएको छ।