काठमाडौं- सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसदलाई दुई-दुई चोटी विघटन गर्ने एमालेलाई संसद्मा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सोमबार उनले अलिकति पनि नैतिकता भए एमालेका सांसदहरुले संसद् अवरुद्ध पारेर बस्ने नभइ राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिएका हुन्।
अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु शरमको विषय भएको पनि दोहोर्याएका छन्।
उनले भने, ‘जसले संसद्लाई दुई-दुई चोटी विघटन गर्छ। ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने। सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने? अनि संसदीय मर्यादा कायम। जुन संसद्लाई विघटन गरिसक्यो, उसले त्यो संसद्मा आउन त लाज हुनुपर्ने हो। मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिएँ। उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ।’
भट्टराईले एमालले आफैंले विघटन गरेको संसद्मा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए।