काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरूको ध्यानाकर्षण गराएका छन्। अति आवश्यक विधेयक पारित गर्नुपर्ने भएकाले संसद् बैठक अवरुद्ध पारिरहन नमिल्ने उल्लेख गर्दै उनले सांसदहरूको ध्यानाकर्षण गराएका हुन्।
एमाले संसदीय दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गरिरहेको छ। १४ सांसदलाई कारबाही नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम नगरेको समेत एमालेको आरोप छ।
सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै वेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरुलाई आफूविरुद्ध लगाइएको मुद्दा अदालतमा विचाराधिन रहेको उल्लेख गरेका थिए। ती मुद्दाहरुमा प्रतिकूल हुने गरी संघीय संसदमा छलफल गर्न नमिल्ने उनले स्मरण गराएका थिए।
'अति आवश्यक विधेयकहरु पारित गरेर जानुपर्ने भएकाले पनि संसद बैठक अवरुद्ध पारिरहन नमिल्नेतर्फ ध्यानाकर्षण गराउँछु,' सभामुख सापकोटाले भने, ‘नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुमा न्याय निरुपणमा प्रतिकूल असर पर्ने विषयमाथि संघीय संसदको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु। प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ग, घ का प्रावधानहरु हामीले सबैले पालना गर्नुपर्ने प्रावधानहरु हुन्। उल्लेखित प्रावधानहरु पालनाका लागि पुनः अनुरोध गर्दछु।’
सभामुख सापकोटाले बैठक सुरु गराउन गरेको आग्रहलाई एमालेका सांसदहरुलाई अस्वीकार गर्दै वेलमा नाराबाजी गरिरहे। यसैबीच सभामुख सापकोटाले राष्ट्रपति विद्या भण्डारीले प्रमाणिकरण गरेर संसदमा पठाएको विनियोजन विधेयक २०७८ पढेर सुनाएका थिए।
त्यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे बैठकलाई जानकारी गराए। प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ।