काठमाडौं– रौतहटको बौधीमाई नगरपालिका ८ सरमुजवास्थित शंकर माध्यमिक विद्यालयका लेखापाल भगवान् साहले लेखापालको कामसहित माध्यमिक तहको नेपाली विषय पनि अध्यापन गराउँदै आएका छन्।
विद्यालयमा लामो समयदेखि पर्याप्त शिक्षक नहुँदा लेखापाल, राहत दरबन्दी र निजी स्रोतका शिक्षकबाट विद्यार्थीको पढाइ सञ्चालन भइरहेको प्राधानाध्यापक सञ्जय जैसवालले बताए। शिक्षक अभाव भए पनि विद्यालयमा एक हजार ३ सय विद्यार्थी अध्ययरत छन्।
सो विद्यालयमा मावि तहमा दुई जना स्थायी शिक्षकको दरबन्दी छ भने तल्ला तहमा स्थायी दरबन्दीका शिक्षक छैनन्। निमावि तहमा चार र प्राविमा एक राहत दरबन्दी तथा प्रारम्भिक बाल विकास (इसिडी) सहजकर्ता एक जना छन्। विद्यालयका प्रधानाध्यापक जैसवालले नियमित माध्यमिक तहको अंग्रेजी विषयको कक्षा लिँदै आएका छन्। उनले प्रशासनिक काममा जिल्ला सदरमुकाम जानुपर्दा भने कक्षामा अध्यापन गर्न नपाउने बताए।
उनी भन्छन्, ‘अंग्रेजी र नेपाली विषयका गरी दुई शिक्षक तथा निमाविमा एक र प्राविमा चार शिक्षक दरबन्दी व्यवस्थाका लागि स्थानीय तह र माथिल्लो सरकारसँग पटक पटक आग्रह गरिएको भए पनि दरबन्दी थप गरिएको छैन। विद्यालयमा विश्व शिक्षा संस्थाले ई–पुस्तकालय स्थापना गरेको भए पनि त्यसलाई सञ्चालनका लागि विद्यालयसँग जनशक्ति छैन।’
सो विद्यालयमा मावि तहमा दुई जना स्थायी शिक्षकको दरबन्दी छ भने तल्ला तहमा स्थायी दरबन्दीका शिक्षक छैनन्।
विद्यालयमा प्रदेश नं. २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत कक्षा ८ भन्दा माथिका ९० छात्रालाई साइकल वितरण गरेपछि छात्राहरुको नियमित उपस्थिति हुने गरेको उनको भनाइ छ। विद्यालयले दोस्रो लहरको कोभिड–१९ का बीचमा पनि नियमित रूपमा कक्षा सञ्चालन गर्दै आएको थियो।
विद्यालयले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी १०७ विद्यार्थीमध्ये शतप्रतिशतलाई माथिल्लो कक्षामा भर्ना हुन योग्य ग्रेडमा उत्तीर्ण गराएको जनाएको छ।
नगरपालिकाका प्रमुख राजीवरञ्जन यादवले वि.सं. २०७२ देखि शिक्षक दरबन्दी मिलान नहुँदा समस्या आएको र पालिकामा ११८ थप शिक्षक दरबन्दीका लागि माग गरिएकाले त्यसका लागि आर्थिक स्रोत जुट्नुपर्ने बताए। पालिकाभित्र १५ सामुदायिक, चार निजी विद्यालय र तीन वटा धार्मिक विद्यालय रहेका छन्।
रौतहट जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामविनय सिंहका अनुसार जिल्लाभित्र सामुदायिक ४ सय र निजी विद्यालय ४८ वटा छन्। करिब एक हजार एक सय शिक्षक दरबन्दी अपुग रहेको छ। उनले भने,‘ कक्षा ११ र १२ का लागि १७६ शिक्षक बराबरको अनुदान रकम निकासा हुन्छ। माध्यमिक तहमा १९० स्थायी र ४८ जना शिक्षक राहत दरबन्दीमा छन्। निमावि तहमा १७४ स्थायी, ८४ प्रावि तहमा र राहत कोटामा एक हजार ५१ स्थायी र ५ सय ४१ राहत दरबन्दीका शिक्षक कार्यरत छन्।’
सरकारले तीन वर्षअघि पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा शिक्षक दरबन्दी व्यवस्थापन कार्यदल गठन गरी सोको सुझाव बमोजिम दरबन्दी मिलानका लागि स्थानीय तहमा पत्राचार गरेको थियो।
रौतहत शैक्षिक दृष्टिकोणमा देशकै सबैभन्दा पछाडि रहेको जिल्ला मानिन्छ। प्रदेशको शिक्षा विकास निर्देशनालयले जिल्लाको साक्षरता ४१.६९ प्रतिशत मात्र रहेको जनाएको छ। त्यसैगरी कक्षा ६ देखि ८ सम्म प्रदेश २ को कुल भर्नादर ६२.८ मात्र रहेको उल्लेख गरेको छ। यो समग्र ८ जिल्लाको औसत हो। जिल्लागत रुपमा हेर्दा यो जिल्लाको भर्नादर ४९ प्रतिशतको हाराहारीमा मात्र छ।