काठमाडौं- प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक –२०७८’ प्रमाणीकरण गरी पठाएको पत्र सदनलाई पढेर सुनाएका थिए।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पठाइएको 'विनियोजन विधेयक, २०७८' राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ७ गते प्रमाणीकरण गरेकी थिइन्।
त्यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक-२०७८ र राष्ट्र ऋण उठाउने विधेयक-२०७८ का बारेमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए। सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजीसहित सदनमा अवरोध गरेको थियो।
प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएयता एमालेले लगातार अवरुद्ध गरिरहेको छ। विगतमा एमालेमा रहेर वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेमध्ये १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै उसले संसद् अवरुद्ध गरिरहेको हो। उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।