तराई मधेसमा छठ पर्वका बेला बाँसका कलात्मक सामग्री नभई हुँदैन। तर तिनै सामग्री बनाउने डोम समुदायले छोएको कोही खाँदैन, न त उनीहरु होटलमा बसेर खान योग्य मानिन्छन्। उनीहरुमाथि कायमै रहेको छुवाछुत प्रथाले आधुनिक समाजलाई गिज्याइरहेको छ।
जनकपुरधाम- मिथिलाञ्चलमा छठ नजिकिँदै छ। डोम समुदाय नाङ्लो, डालो, पनपतिया लगायतका बाँसका सामग्री बनाउन र बजारसम्म पुर्याउन व्यस्त छ।
छठ पर्वमा नाङ्लो, छिटी, डालो, पनपतिया लगायतका भाँडामा अर्घको प्रसाद राखिन्छ। चोयाबाट बुनेका यस्ता भाँडामा फूलप्रसाद राख्दा सुन्दर देखिन्छ।
डोम समुदायको नाङ्लो लगायतका सामग्री बनाउने सीप जति सुन्दर छ, उनीहरुको जीवन त्यति नै कष्टपूर्ण छ। उनीहरु जातीय छुवाछुतको पीडा भोगिरहेका छन्। छोएको कोही खाँदैन भने उनीहरुलाई होटल वा सार्वजनिक स्थानमा अमानवीय व्यवहार गरिन्छ।
‘पैसा तिरेर पनि होटलमा खाना खान पाइँदैन। धेरै अनुरोध गरेपछि पातमा दिन्छन्। नास्ता कागजमा अनि चिया पिउन प्लास्टिकको कप’, जनकपुरधाम उपमहानगरपालिका–१६का अजय मलिकले भने, ‘पैसा तिर्दा पनि होटलमा खान नपाउनु यो कस्तो मानवता?’
उनीहरुले बनाएको सामानमा राखेर भगवान्लाई प्रसाद चढाइन्छ। तर उनीहरुमाथि अछुत व्यवहार गरिन्छ।
उनले भने, ‘हामीले बनाएको नाङ्लो, डालो लगायतमा प्रसाद राखेर भगवानलाई अर्पण गर्न सकिन्छ तर हामी अछुत छौं।’
देशमा धेरै परिवर्तन भए पनि छुवाछुतको प्रथा कायम रहुन ज्यादै दुःखद पक्ष रहेको बताउँछन् रेवता मलिक।
जनकपुर उपमहानगरपालिका १६ का वडा अध्यक्ष रामअशिष पजियारले पुरानो पुस्ताका व्यक्तिहरुले मात्रै छुवाछुत मान्ने गरे पनि नयाँ पुस्तामा छुवाछुतको भावना हराउँदै गएको बताए।
सामाजिक कलंकका रुपमा रहेको जातीय छुवाछुत हटाउन सबै पक्षको सक्रिय भूमिमा आवश्यकता रहेको उनको भनाइ छ।
प्रदेश २ मा डोम समुदायको जनसंख्या एक लाख हाराहारीमा छ। तर उनीहरुका पक्षमा आवाज उठाउने कोही छैन। त्यसैले उनीहरुको जीवनस्तर पनि निकै कमजोर छ।
नीति निर्माण तहमा प्रतिनिधित्व नभएकाले पनि उनीहरुका लागि बोेलिदिने कोही नभएको भोर नामक संस्थाका अध्यक्ष राजकुमार महतो बताउँछन्।
अध्यक्ष महतोले जनचेतना बढेसँगै पहिले जस्तो छुवाछुतको समस्या नरहेको बताए। यद्यपि डोम समुदायको स्थिति सबल बनाउन कुनै योजना आउन नसकेको उनको भनाइ छ।
‘नेपालको संविधानअनुसार छुवाछुत दण्डनीय मानिन्छ तर व्यवहारमा लागू हुन सकेको छैन’, महतोले भने ‘यसलाई अन्त्य गर्न सामाजिक स्तरबाटै पहल हुनु आवश्यक छ।’
बिक्री हुन छाडे बाँसका सामग्री
निर्मला देवी अचेल बाँसको कलात्मक सामग्री बनाउन व्यस्त छिन्। छठ पर्व संघारमै रहेकाले बिहानैदेखि उनी ती सामग्री बनाउन जुट्छिन्। अपराह्न सामग्री बोकेर बजारसम्म पुग्छिन्। तर ती सामग्री बिक्री नहुँदा उनी चिन्तित छन्।
उनले भनिन्, ‘बाँसको सामग्री बनाउनु हाम्रो पेसा हो तर अन्य जातिका व्यक्तिहरुले अन्तबाट किनेर बिक्री गर्न थालेपछि हामी समस्यामा परेका छौं।’
एउटा बाँसको मूल्य दुई सयदेखि २५० रुपैयाँसम्म पर्छ। निर्मलाले भनिन् ‘एउटा बाँस किनेर चार वटासम्म नाङ्लो बनाउँछौं, तर नाङ्लो बिक्री हुन्छ वा हुँदैन भन्ने चिन्ता हुन्छ।’
उनी विगतमा छठका बेला पाँच हजार लगानी गरेर २० हजारसम्म कमाउँथिन्। यसपटक भने दुई हजार आय हुने सम्भावना पनि नरहेको उनको भनाइ छ।
कुसुमी मल्लिक पनि पहिला पहिला छठमा १० वटासम्म बाँसको सामग्री बनाएर बिक्र्री गर्थिन्। अहिले उमेरले पनि साथ दिन छाडेकाले दुई वटा बाँसको मात्र सामग्री बनाएको उनले बताइन्।
‘छठ पर्वमा पहिले हामीले नै बनाएका बाँसका सामग्री प्रयोग गरिन्थ्यो तर अहिले पित्तलको सामग्री प्रयोग हुन थालेपछि हाम्रो आम्दानीको बाटो बन्द भएको छ’, कुसुमीले भनिन्।