काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी रन्कोे छ। वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन्।
चुनावी प्रचारप्रसारका लागि ढकाल दलबलसहित सुदूरपश्चिम र मध्यमश्चिमको भ्रमणमा छन् भने प्रधान विराटनगरमा।
एनआरएनएदेखि प्याब्सनमात्र होइन, विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा समेत राजनीतिक हस्तक्षेप हुने गरेकोमा देशका उद्योगी–व्यवसायीहरुको छाता संगठनको निर्वाचनका बेला राजनीतिक हस्तक्षेप नहुने वा ननिम्त्याइने भन्ने कुरै भएन।
२०७६ चैत २८ गते हुनुपर्ने महासंघको साधारणसभा कोरोना महामारीका कारण पछि धकेलिएर मंसिर ११ गतेका लागि तोकिएको छ। अहिले कसलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने ध्याउन्नमा छन् वरिष्ठ उपाध्यक्षका प्रत्यासीद्वय ढकाल र प्रधान।
नेकपा निकट महासंघका एक केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघका आफूनिकट केन्द्रीय सदस्यहरुसँग सकेसम्म ढकाललाई निर्विरोध बनाउन वा निर्वाचन गर्नैपर्ने भए पनि जिताउन सन्देश दिएका छन् ।
त्यस्तै अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी लगायतले पनि व्यवसायीहरुलाई ढकालको समर्थनका लागि दबाब दिएको बताइएको छ। एक व्यवसायी भन्छन्, ‘उहाँहरुले प्रत्यक्ष रुपमा ढकाललाई भोट देऊ त भन्नुभएको छैन तर, उद्योगी–व्यापारीका कुरा सिधै माथिल्लो तहसम्म पुर्याउन सक्ने एकमात्र व्यक्ति ढकाल हुन् भन्दै घुमाएर दबाब दिनुभएको छ।’
प्रधानमन्त्रीले एनआरएनए र प्याब्सनमा जस्तै महासंघमा पनि हस्तक्षेप गर्न खोजेको आरोप ती केन्द्रीय सदस्यले लगाएका छन्। गत वर्ष सम्पन्न एनआरएनए र प्याब्सनको निर्वाचनमा पनि राजनीतिक हस्तक्षेप प्रत्यक्ष देखिएको थियो।
चुनावमा बैंकको प्रयोग
पछिल्लो समय चुनावी अभियान तीब्र बनाएका वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी चन्द्र ढकालले आफू अध्यक्ष रहेको आइएमई ग्रुपको सञ्जाल प्रयोग गर्न थालेका छन्।
उनले ग्लोबल आइएमई बैंकबाट व्यापारी–व्यवसायीहरुलाई पुनर्कर्जा दिने भन्दै आफ्नो पक्षमा पारेको आरोप लागेको छ। कोरोनाका कारण उद्योगी तथा व्यापारीहरुलाई समस्या भएकाले नेपाल राष्ट्र बैंकले राहतस्वरुप सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउने नीति ल्याएको छ।
पुनकर्जाको ब्याज बढीमा ५ प्रतिशतसम्म मात्र रहने र ढकालसँग राष्ट्र बैंकका गभर्नरदेखि उच्चपदस्थ कर्मचारीहरुको पनि सम्बन्ध रहेकोले ग्लोबल आइएमई बैंकले धेरै नै पुनर्कर्जा वितरण गर्ने सम्भावना रहेको जानकारहरु बताउँछन्।
१०४ वटा शाखा रहेको ग्लोबल आइएमई बैंकका सीईओदेखि शाखा प्रबन्धकसम्म अहिले ढकालका पक्षमा लबिङ गर्न व्यस्त छन्।
शक्ति र पैसाको खेल
महासंघका सदस्य तथा पदाधिकारीले यसपटक प्रधानलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाउने र अर्को पटक ढकाललाई पालो दिने प्रस्ताव गरेका थिए। प्रधानसँग महासंघमा बसेको लामो अनुभव रहेकोले उनलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने महासंघका अध्यक्ष भवानी राणा र पूर्व उपाध्यक्षहरुको राय थियो। तर ढकालले मानेनन्।
उनले महासंघको चुनावलाई आफ्नो प्रभावमा पार्न करोडौं खर्च गरेको उनी निकट व्यवसायीको भनाइ छ। एक व्यवसायीले भने, ‘चन्द्र दाइले यो अवधिमा करोडौं रुपैयाँ खर्च गरिसक्नु भएको छ। मिडिया, व्यवसायी र प्रशासनसम्ममा रकम खर्च गरिसकेका अब उहाँ पछि हट्ने भन्ने कुरै छैन।’
राष्ट्रिय वाणिज्य बैंकको खरदारबाट आफ्नो करियर अगाडि बढाएका ढकाल ट्राभल एजेन्ट हुँदै अहिले आइएमई ग्रुपका अध्यक्ष छन्।
उनीमाथि हुण्डी कारोबार गरेको, चन्द्रागिरीमा केवलकारको प्रोजेक्ट गर्दा सरकारलाई प्रभावमा पारी न्यूनतम रकममा जग्गा भाडामा लिएको, बन फँडानी गरी वातावरण प्रदूषण गराएको आरोप लाग्ने गरेको छ।
प्रधानलाई अध्यक्षको साथ
वरिष्ठ उपाध्यक्षका अर्का दावेदार किशोर प्रधानलाई महासंघको अध्यक्ष निर्वाचित हुने पक्का भइसकेका शेखर गोल्छाको साथ छ। यसअघि कोही पनि अध्यक्ष खुलेरै उम्मेदवारको पक्षमा लाग्ने गरेका थिएनन्।
गोल्छालाई प्रधानको साथ भए पनि उनलाई जिताउन भने चुनौतीपूर्ण नै छ। महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल भने चन्द्र ढकालकै पक्षमा छन्।
पशुपति मुरारका अध्यक्ष हुँदा चण्डीराज ढकालले भवानी राणालाई स्वतः अध्यक्ष बनाउनका लागि विधान संशोधनका लागि भूमिका निर्वाह गरेका थिए। तर, अहिले गोल्छा स्वतः अध्यक्ष हुने बेला उनले पुनः विधान संशोधन गरेर गोल्छालाई रोक्ने प्रयास गरेपछि गोल्छा र ढकालबीचको सम्बन्ध चिसो भएको छ। यद्यपि, पूर्वअध्यक्ष पशुपति मुरारकाले साथ दिएपछि विधान संशोधन हुन पाएन।
वरिष्ठ उपाध्यक्षको पदका लागि चण्डीराज ढकालले चन्द्र ढकालको साथ दिन थालेपछि गोल्छाले प्रधानको साथ दिएका हुन्।
महासंघमा लामो अनुभव
अघिल्लो चुनावमा वरिष्ठ उपाध्यक्ष पदको लागि किशोर प्रधान र शेखर गोल्छा उम्मेदवार थिए। प्रधान पराजित भए पनि महासंंघमा लामो अनुभव भएका भन्दै महासंघले प्रधानलाई उपाध्यक्षमा मनोनित गरेको थियो।
सप्तरीको राजविराजबाट व्यापारिक यात्रा सुरु गरेका प्रधान विराटनगरका मध्यमस्तरका व्यवसायी–उद्योगी हुन्। देशभरका व्यवसायीबीच राम्रै सम्बन्ध बनाएका उनी निष्ठावान व्यवसायी मानिन्छन्।
नेपाल उद्योग वाणिज्य महासंघलाई दुवैको खाँचो रहेको व्यवसायी अरुणराज सुमार्गी बताउँछन्। उनी भन्छन्, ‘अझै पनि सहमतिको प्रयास भइरहेको छ, तिहारको टीकालगत्तै केही होला भन्ने आशा अझै छ।’