आङ्कारा-अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै टर्कीले रुसबाट एस-४०० मिसाइल प्रणाली खरिद गर्ने भएको छ। टर्किका राष्ट्रपति रेसेप तय्यप एर्दोआनले रुसबाट दोस्रो मिसाइल प्रणाली खरिद गर्ने बताएका हुन्।
नाटोको सदस्य राष्ट्रसमेत रहेको टर्कीलाई अमेरिकाले उक्त हतियार खरिद नगर्न चेतावनी दिएको थियो। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति एर्दोआनले टर्कीले आफ्नो रक्षा प्रणालीको स्वतन्त्ररुपमा निर्णय गर्नसक्ने बताएका हुन्।
राष्ट्रपति एर्दोआनले टर्कीलाई अमेरिकाले निर्माण गरेको पेट्रोइट मिसाइलको विकल्प नदिएको र १.४ बिलियन डलर रकम भुक्तानी गरिसक्दा पनि अमेरिकाले एफ-३५ स्लिथ जेट उपलब्ध नगराएकोसमेत बताएका छन्।
नाटोको सदस्य राष्ट्र टर्कीले रुसबाट एस-४०० मिसाइल रक्षा प्रणाली खरिद गरेपछि अमेरिकाले एफ-३५ कार्यक्रममा अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको थियो।
अमेरिकाले नाटोमा रुसी रक्षा प्रणाली प्रयोग गर्न नहुने भन्दै कडा आपत्ति जनाइरहेको छ।
यसले अमेरिकी एफ-३५ लाई खतरा उत्पन्न गर्नसक्ने भन्दै रुसी प्रणालीको विरोध गर्दै आएको छ। टर्कीले भने नाटोसँग एकीकृत नगरेरै आफ्नो रक्षा प्रणालीमा एस-४०० प्रयोग गर्न सक्ने र यसले कुनै खतरा उत्पन्न नगर्न जवाफ दिएको थियो।