काठमाडौं- पछिल्लो तीन महिनामा गरिएको एक अनुसन्धानले यहुदीविरोधी विचारधारा, नश्लभेद र समलैंगिकताविरुद्ध घृणा फैलाउनका लागि भिडियो गेमको प्रयोग भइरहेको पाइएको छ।
डीलाइभ र ओडीसीजस्ता लाइभ स्ट्रिमिङ सर्भिसमा यसबारेमा च्याट भएको पाइएको हो। यहाँ कल अफ ड्युटी र माइनक्राफ्टजस्ता भिडियो गेमको विषयमा पनि कुराकानी भएको पाइएको छ।
यहाँ कुराकानी भइसकेपछि टेलिग्राममा जोडिएर थप कुराकानी हुने गरेको छ। यस क्षेत्रमा काम गर्ने मानिसहरुका अनुसार दैनिक हुने कुराकानी चरमपन्थसँग जोडिएको र लगातार यस्ता कुराहरु गर्दा मानिसमा उग्रवादप्रतिको झुकाव बढ्नसक्ने बताइएको छ।
अनुसन्धानकर्ताका अनुसार जुन गेम खेल्ने व्यक्तिले आफ्नो भूमिका छनोट गर्नसक्छन् अथवा आफ्नो माहोलको हिसाबमा खेलमा परिवर्तन गर्नसक्छन्, त्यस्ता व्यक्तिहरुलाई बढी प्रयोग गर्ने गरेको पाइएको हो। यस्ता गतिविधिमा रोबलौक्स तथा माइनक्राफ्टजस्ता प्लेटफर्म सामेल भएको बताइएको छ।
रोबलौक्सलाई नश्लवादी व्यक्तिको भूमिकामा गेम खेल्ने व्यक्तिलाई उभ्याइएको हुन्छ। जसमा अल्पसंख्यकलाई आफ्नो गाडीले उडाउनुपर्ने हुन्छ।इन्स्टिच्युट अफ स्ट्राटेजिक डायलगका निर्देशक ज्याकब डेबीले भने, 'धेरै मानिसहरुले यो प्रयोग गर्दैनन्। तर, यसमा अतिवादी विचार राख्नेहरुले भूमिका तयार गरेर आफ्नो उग्रवादी सोचलाई अनलाइनमार्फत जीउन सक्छन्।'
गेमिङ कम्पनी रोबलौक्सले भने आफूसँग दुई हजार मोडरेटर भएको र प्लेटफर्मलाई सुरक्षित राख्न २४सैं घण्टा काम गरिरहेको बताएको छ। कम्पनीले भने, 'हाम्रो प्रयास उक्त प्लेटफर्ममा सभ्य र शालिन कुराकानी होस् भन्ने चाहन्छौं। त्यस्तो किसिमको कुनै शंकास्पद कन्टेन्ट देखिएमा तत्काल कारबाही गर्छौं।'
कम्पनीले आतंकवाद र हिंसासँग सम्बन्धित कुनै कन्टेन्ट भएको अवस्था पूर्ण रोक लगाउन प्रतिबद्ध भएकोसमेत बताएको छ। अनुसन्धानकर्ताहरुले भने सामाजिक सञ्जालमा नियमहरु कडा पारिएपछि चरमपन्थीहरु भिडियो गेमतर्फ मोडिएको दाबी गरेका छन्।