काठमाडौं– नेपालमा चिनीको आयात ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा ४८ लाख ३३ हजार ४११ किलो चिनी नेपाल भित्रिएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ८ करोड १८ लाख १ हजार ९५३ किलो आयात भएको छ।
आजकै मूल्यलाई आधार मान्ने हो भने गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यसवर्ष ५ अर्ब ६२ करोड रुपैयाँ बढीको चिनी आयात भएको छ।
किन यसरी बढ्यो त आयात ?
नेपालमा अहिले चिनी उत्पादनको सिजन होइन। यहाँ उद्योगहरुले मंसिरदेखि बढीमा चैत २५ गतेसम्म चिनीको उत्पादन गर्छन्।
नेपाल चिनी उत्पादक संघका अनुसार नेपालमा वार्षिक एक लाख ७० मेट्रिक टन चिनी उत्पादन हुन्छ। तर, चिनीको वार्षिक माग भने २ लाख ५० हजार मेट्रिक टन छ। जसअनुसार आन्तरिक उत्पादनमा ८० हजार मेट्रिक टन अपुग हुन्छ।
तर, भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा नै ८१ हजार ८०० मेट्रिक टन भन्दा बढी चिनी व्यापारीहरुले भित्र्याई सकेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउने भनेको २० हजार मेट्रिकटन चिनी अझै नेपाल आइसकेको छैन । त्यस्तै खाद्य व्यवस्था कम्पनीमार्फत ल्याउन प्रक्रियामा रहेको १० हजार मेट्रिक टन चिनी पनि आउन बाँकी छ।
खाद्य कम्पनीले आह्वान गरेको बोलपत्रमा एउटै आवेदन नपरेपछि पुनः बोलपत्र आव्हानको तयारी भइरहेको छ ।
उता व्यापारीहरुले भारत र पाकिस्तानबाट ठूलो परिमाणमा चिनी आयात गरिरहेका छन् । भारतमा चिनीको मूल्य प्रतिकिलो ३२ देखि ३६ रुपैयाँसम्म छ। होलसेलमा आयात गर्दा अझ सस्तो पर्ने हुँदा व्यापारीहरुले अहिले ठूलो मात्रामा आयात गरेका हुन्।
मंसिरदेखि नेपालमै चिनी उत्पादन हुन थालेपछि सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भन्दै चिनी आयातमा रोक लगाउने सम्भावना हुने हुँदा ब्यापारीले अहिले नै सस्तो मूल्यमा चिनी आयात गरी गोदाममा भण्डार गरेका हुन् ।
भारत र पाकिस्तानले उखु किसानलाई पर्याप्त अनुदान दिने हुँदा चिनीको मुल्य नेपालको भन्दा ५६.७६ प्रतिशत कम छ । हाल नेपालमा प्रति किलो चिनीको मूल्य (साल्ट्र ट्रेडिङ कर्पोरेसन) ७४ रुपैयाँ छ।
नेपालमा सरकारले किसानहरुलाई अनुदान नदिंदा यहाँ उत्पादित चिनी भारतीय चिनीभन्दा महँगो पर्छ। त्यसैले व्यापारीहरुले अहिले नै चिनी खरिद गरी सन्चित गरेका हुन् । अहिले सस्तो मूल्यमा खरिद गरिएको चिनी पछि चर्को मूल्यमा बेच्न पाउँदा ब्यापारीलाई फाइदा पनि हुने भयो।
उद्योग र उखु किसानलाई मर्का
यसरी अहिले नै चिनी भण्डारण गरेर राखेका व्यापारीले पछि नेपाली उद्योगबाट उत्पादित चिनी खरिद गर्दैनन्।
नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार नेपालमा उत्पादित चिनीले बजार नपाएपछि उद्योगहरुले लागत उठाउनै मुश्किल हुन्छ। त्यसको परिणाम उधारोमा उखु बेचेका किसानले पनि उद्योगबाट भुक्तानी पाउँदैनन् र उखु किसानहरु मर्कामा पर्छन् ।
उनका अनुसार व्यापारीले जति पनि चिनी आयात गर्न पाउने व्यवस्थाले गर्दा विदेशी बजारमा मूल्य सस्तो भएका बेला यहाँका ब्यापारीले ठूलो परिमाणमा चिनी आयात गर्छन् र त्यही चिनी पछि महँगो मूल्यमा बिक्री गर्छन्।
२०७५ भदौ ३१ को मन्त्रिपरिषद् बैठकले नेपाली उद्योगको संरक्षणका लागि लागि वार्षिक एक लाख मेट्रिक टनभन्दा बढी चिनी आयातमा रोक लगाएको थियो। त्यसयता चिनीको आयातमा ह्वात्तै कमी आएपनि गत २०७६ साउनदेखि भने परिणामात्मक बन्देजलाई हटाइएपछि चिनीको आयात बढेको हो।
अहिले सस्तोमा खरिद गरिएको चिनी पछि बढी मूल्यमा बेच्न पाइन्छ त? कुनै पनि बस्तुमा २० प्रतिशत भन्दा बढी मुनाफा लिएमा कालोबजारी ऐन अन्तर्गत कारबाहीमा पर्नसक्ने उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन्।
तर, भारत र पाकिस्तानबाट कति रुपैयाँमा चिनी खरिद गरिएको हो, त्यसको लागत मूल्य कति हो भन्ने अनुगमन नहुने र जानकारी पनि नराखिने हुँदा व्यवसायीहरु कारवाहीमा पर्ने सम्भावना निकै कम हुन्छ।
हाल नेपालमा चिनीको मूल्य प्रतिकिलो ८२ रुपैयाँमा होलसेल कारोबार भइरहेको छ। तर साल्ट ट्रेडिङ कर्पोरेसनले भने प्रति किलो ७४ रुपैयाँमा विक्री गरिरहेको छ । साल्ट ट्रेनिङ कर्पोरेसनका सञ्चार संयोजक ब्रजेश झाका अनुसार दस्रैमा कम्पनीले प्रतिकिलो चार रुपैयाा घाटा खाएर ७० रुपैयाँ प्रतिकिलोमा चिनी विक्री गरेको थियो।
उनले कर्पोरेसनले चिनी आयात गर्दा प्रतिकिलो ७३ रुपैयाँ ५० पैसामा नेपाल आइपुग्ने र आफूहरुले ७४ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दै आएको बताए ।
चाडबाडले आयात बडाएको दाबी
चिनी व्यापारीहरु भने नेपालमा चाडबाडका बेला चिनीको माग बढ्ने हुँदा सोही अनुसार आयात पनि बढेको बताउँछन्।
चिनी व्यापारी राजकुमार अग्रवालका अनुसार अन्य समयभन्दा तिहार र छठमा चिनीको माग ह्वात्तै बढ्ने र यसबेला नेपालमा चिनी उत्पादन पनि नहुने भएकोले चिनीको आयातमा बृद्धि भएको हो। तर, चिनी आयातको परिमाण हेर्दा भने यो तिहार र छठ लक्षितमात्र हो भन्ने पत्याउन सकिने आधार छैन।
नेपालमा चिनी औषधी बनाउन, चकलेट विस्कुट लगायतका विभिन्न खाद्य सामग्री बनाउन, विभिन्न पेय पदार्थ बनाउन र औषधि सिरपका लागि समेत प्रयोग हुन्छ। त्यस्तै चिया कफी जस्ता पेय पदार्थको लागि घरघरमा दैनिक उपयोग हुन्छ।