काठमाडौं– नेपालसहित २१ मुलुकका लागि चीन ट्रान्जिट भएर तेस्रो मुलुकमा हुने उडान चाइना साउदर्न एयरलाइन्सले बन्द गरेको छ।
१८ कात्तिकबाट लागू हुने गरी चीनको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी चाइना साउदर्नले उडान बन्द गर्ने निर्णय गरेको हो।
चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सका अनुसार विश्वभर बढिरहेको कोरोना भाइरसका कारण उडान बन्द गरिएको हो। यो निर्णयले चीनमा संक्रमित भित्रिन सक्ने जोखिम कम हुने विश्वास लिइएको छ।
ट्रान्जिट उडान बन्द गरिएका मुलुकमा नेपालसहित भारत, बाङ्लादेश छन्। त्यस्तै घाना, इथियोपियासहित १० अफ्रिकी मुलुक छन्।
रुस, ब्राजिल, फिलिपिन्सलगायत देशका लागि चीनमा हुने ट्रान्जिट उडान पनि बन्द गरिएको छ।
चीन प्रवेशको लागि अहिले पीसीआर परीक्षण अनिवार्य गरिएको छ। सोमबार बाहिरबाट आएका ४४ जनामा कोरोना संक्रमण देखिएको थियो।
चीनले आफ्ना नागरिकलाई बाह्य मुलुकको भ्रमण नगर्न सचेत पनि गराएको छ।