काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा पाँच हजार प्रतिनिधिले भाग लिने भएका छन्।
आइतबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा पाँच हजार प्रतिनिधिले भाग लिने निर्णय गरेको हो। बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवासका समेत गरी पाँच हजार प्रतिनिधिले भाग लिने जानकारी दिए। विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिनेछन्।
उनका अनुसार विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी सदस्य, प्रत्येक केन्द्रीय विभागबाट ५ जना, प्रत्येक जनसंगठनका पदाधिकारी र वरिष्ठ सदस्यमध्येबाट १० जना सहभागी हुने छन्। केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्च पर्छन्। त्यस्तै केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिने भट्टराईले बताए।
यस्तै जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रबाट अनिवार्य एक जना महिला, प्रत्येक जिल्लाबाट एक जना दलित, प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र एकतामा सामेल भएका व्यक्तिहरु सहभागी हुने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।
यीबाहेक प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले भाग लिने उनले जानकारी दिए।
त्यस्तै बैठकले विधान महाधिवेशनमा पास हुने तीन प्रतिवेदन पारित गरेको छ। राजनीतिक अध्यक्षले, संगठनसम्बन्धी प्रस्ताव महासचिवले र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित पास गरेको छ।
बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले एकतावद्ध र सुदृढ बनाउने निर्णय पनि गरेको नेता भट्टराईले बताए।